दसैँँका लागि घर सजाउँदै

रासस
असाेज १४, २०७९
IMG_1676

दोधारा चाँदनी । यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरु दसैँँका लागि घर सजाउन व्यस्त छन् । अहिले घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका महिला व्यस्त भएका हुन् ।

जिल्लाको भीमदत्त नगरपालिका–१८ की देवी चौधरी घर लिपपोत गर्न व्यस्त हुनुहुन्छ । थारु समुदायमा दसैँमा घर लिपपोत गरेर सजाउनु अनिवार्य जस्तै मानिन्छ । “अहिले घर लिपपोत गर्नेदेखि किनमेल गर्ने चटारो छ”, उहाँले भन्नुभयो, “दसैँ सुरु हुनुभन्दा अगाडि नै हामी सबै तयारी गरिसक्छौँ, दसैँमा सखिया नाच्ने र रमाउने हो ।”

अहिले गाउँमा अधिकांशले घर लिपपोत गरेर सजाइसकेका छन् । थारु समुदायमा दसैँ विशेष चाड भएकाले यसको रौनक एक महिना अघिदेखि नै सुरु हुन्छ । “दसैँमा पूजा गर्दा कुखुराको मासु, माछा, कुभिन्डो, ढिक्री, रक्सी आदि चाहिन्छ”, उहाँले भन्नुभयो, “पूजा सकिएपछि सबैजना सखिया नाच्ने र रमाइलो गर्छन ।” अन्य समुदायको भन्दा यो समुदायमा दसैँ मनाउने चलन पृथक रहेको उहाँको भनाइ छ ।

पछिल्लो समय सामुदायिक वनले जङ्गलबाट माटो ल्याउन निषेध गरेपछि यो समुदायलाई समस्या भएको छ । माटोले लिपपोत गरेर खरले छाएका घर थारु समुदायका पहिचान हुन् । चौधरीले भन्नुभयो, “सामुदायिक वनले माटो ल्याउन निषेध गरेपछि यस्ता घरहरु हराउन थालेका छन् ।”

स्थानीयवासी लक्ष्मीराम चौधरी पनि दसैँका लागि सामान जुटाउन व्यस्त हुनुहुन्छ । उहाँ केही दिनदेखि माछाको जोहोमा लाग्नुभएको छ । “घरमा महिलाहरु घर लिपपोत गर्दैछन्, म माछाको जोहोमा छु”, उहाँले भन्नुभयो, “दसैँमा सुकाएको माछा र रक्सी थारु समुदायको विशेष हो ।” पछिल्लो समय पक्की घरहरु बन्न थालेपछि विगतको जस्तो रौनकता भने नभएको उहाँको भनाइ छ ।

स्थानीय सीता चौधरीका अनुसार दसैँका बेला सखिया नाच रातभरि हुने गर्दछ । यो नाचमा भगवान्को मात्रै महिमा हुन्छ । उहाँले भन्नुभयो, “पछिल्लो समय विभिन्न कारण एक महिना खेलिने यो नाच छोटिँदै गएको छ ।”

टीका लगाइसकेपछि सबै गाउँलेहरु भेला भएर सखिया नाच नाच्ने चलन छ । तर पछिल्लो समय यो नाच लोप हुँदै गएको छ । “पहिलेको जस्तो रातभर नाच्ने गाउने चलन त हराइसक्यो”, उहाँले भन्नुभयो, “अहिले संस्कृति जोगाउन भए पनि कार्यक्रमको आयोजना गरी सखिया नाच्ने गरिन्छ ।” पछिल्लो पुस्ता आधुनिकतामा रमाउन थालेपछि सखिया नाचको मौलिकता हराउँदै गएको थारु समुदायका पाका पुस्ता बताउँछन् ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width