गण्डकी प्रदेशसभाका ५ वर्ष : सांसद र स्वकीय सचिवलाई साढे ३३ करोड

प्रकाश ढकाल
असाेज ११, २०७९
Gandaki

पोखरा । प्रदेशसभा स्थापना भएपछि सांसद र उनीहरूको स्वकीय सचिवले मात्रै साढे ३३ करोड रुपैयाँ तलबभत्ता र सुविधा बुझेका छन् । ५ वर्ष अवधिमा ३३ करोड ४३ लाख रुपैयाँ खर्च भएको संसद् सचिवालयले जनाएको छ ।

प्रदेशसभाका सदस्य र पदाधिकारीको पारिश्रमिकमा सबैभन्दा धेरै १५ करोड ६५ लाख खर्च भएको छ । उनीहरूका स्वकीय सचिव, कार्यालय सहयोगी र सवारी चालकले ७ करोड ४३ लाख बुझेका छन् । २ वर्षसम्म स्वकीय सचिवको व्यवस्था थिएन । पछिल्लो ३ वर्षमा बुझेको खर्च ७ करोड ४३ लाख हो । सदन र समितिहरूको बैठक भत्तामा २ करोड ५३ लाख रुपैयाँ खर्च भएको संसद् सचिवालयले जनाएको छ । सांसदहरूको आवास, फर्निचर, संचार, धारा, बिजुली र निजी सचिवालय बन्दोबस्तका लागि ५ करोड ४० लाख तथा इन्धन र मोबिलका लागि ६१ लाख खर्च भएको छ ।

यस्तै, ५ वर्ष अवधिमा चियापानमा मात्रै करिब १ करोड खर्च भएको छ । प्रदेशसभा बैठक र समितिको चियापानमा करिब ३० लाख र संसदीय दलको चियापानमा करिब ६५ लाख खर्च भएको हो । सांसदहरुबीच शुभकामना आदानप्रदान, अन्तरक्रिया र अन्तरप्रदेश भ्रमणमा ३३ लाख ४१ हजार खर्च भएको छ । पहिलो आर्थिक वर्ष २०७४/०७५ को ४ महिनामा २ करोड ५८ लाख निकासा गएको देखिन्छ भने पछिल्लो वर्ष ५ करोड २० लाख निकासा भएको छ ।

यस्तै, आव २०७६/०७७ मा सबैभन्दा धेरै ८ करोड ४६ लाख, २०७७/०७८ मा ८ करोड २४ लाख, २०७८/०८९ मा ७ करोड ८६ लाख र चालु वर्षको हालसम्म १ करोड ६ लाख खर्च भएको देखिन्छ । त्यसबाहेक मन्त्रीहरूको हिसाब यहाँ जोडिंदैन । उनीहरूको पारिश्रमिक, सुविधादेखि सचिवालय बन्दोबस्तीसम्मका खर्च मुख्यमन्त्री कार्यालयमार्फत हुन्छ । हाल गण्डकीमा १२ जना मन्त्री छन् भने ४६ जना सांसद छन् ।

संसदका पदाधिकारीले गाडी फर्काएनन्

असोज १ देखि सांसदहरुको पद छैन । उनीहरुले १ साताभित्रै सरकारी सुविधा फिर्ता गर्नुपर्छ । तर गण्डकीका सबैजसो पदाधिकारीले सुविधावापतको गाडी र ल्यापटप फिर्ता गरेका छैनन् । प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङदेखि दलका संसदीय नेताहरु, प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरु कसैले पनि गाडी सचिवालयमा फिर्ता गरेका छैनन् ।

सुरुआतदेखि ५ वर्षको अवधिमा चियापानमा मात्रै करिब १ करोड खर्च भएको छ

गाडी सुविधा लिनेमा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, जनमोर्चा संसदीय दलका नेता पियारी थापा, एमाले प्रमुख सचेतक मायानाथ अधिकारी, कांग्रेस प्रमुख सचेतक ओमकला गौतम, माओवादी प्रमुख सचेतक गायत्री गुरुङ र जनता समाजवादी पार्टीका प्रमुख सचेतक धनमाया लामा पोखरेल छन् ।

यस्तै, विधायन समिति सभापति विष्णुप्रसाद लामिछाने, सार्वजनिक लेखा समिति सभापति रोशन गाहा, अर्थ तथा विकास समिति सभापति दीपक कोइराला र प्रदेश मामिला समिति सभापति खिमविक्रम शाहीले गाडी र ल्यापटप सुविधा लिएका थिए ।

गाडी फिर्ता गर्न गए पनि कार्यकाल नसकिएको भन्दै सचिवालयले नै गाडीको चाबी लिन नमानेको विधायन समिति सभापति लामिछाने बताउँछन् । ‘म गाडी फिर्ता गर्नकै लागि असोज १ गते काठमाडौंबाट पोखरा आएको थिएँ । सचिवज्यूले अहिले फिर्ता गर्नु पर्दैन भन्नुभयो । कार्यकालबारे माथिबाट कुनै परिपत्र नआएको र अझै सुविधा प्रयोग गर्न मिल्ने भनेपछि म फर्किएको हुँ,’ उनले भने, ‘त्यो दिनदेखि मैले गाडी प्रयोग गरेको छैन । म काठमाडौं छु । गाडी पोखरामा छ ।’ १४ गते संसद सचिवालयले नै सबैलाई बिदाइ कार्यक्रम आयोजना गरेको र सोही दिन एकै पटक फिर्ता गर्ने तयारी भएको उनले बताए ।

कांग्रेस प्रमुख सचेतक ओमकला चालिसेले भने आफूले गाडी फिर्ता गरिसकेको बताइन् । ‘मैले सचिवालयमा गाडीको चाबी र गाडी छोडेकी छु । सचिवले नै अहिले पर्दैन भन्नुभएको हो,’ उनले भनिन्, ‘चढ्ने मोहले गाडी राखेको होइन । हाम्रो कार्यकाल कहिलेसम्म भन्ने नै अहिलेसम्म टुंगो लागेको छैन ।’ प्रदेशसभा सचिवालयका स्टोर प्रमुख झनक अधिकारीले पनि केही पदाधिकारीले फिर्ता गर्न चाहे पनि फिर्ता नभएको बताए ।

‘सभामुख र सचिवज्यूसँग भेटेर जानु भएको भए मलाई थाहा भएन । फिर्ता गरेको अद्यावधिक मसम्म आइपुगेको छैन’ उनले भने, ‘गाडी फर्काउनु भएको भए त्यसको अभिलेख राख्ने मैले हो ।’ पदाधिकारीहरुले असोज १४ गते नै गाडी र सुविधा फिर्ता गर्ने बताएका छन् । १४ गते संसद सचिवालयले सबै सांसदलाई दसैंको शुभकामनासहित बिदाइ कार्यक्रम आयोजना गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै