टुँडिखेलमा ऐतिहासिक दसैं मेला

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७९
mela

पोखरा । राष्ट्रिय मावि, पोखराको व्यवस्थापनमा पुरानो टुँडिखेलमा ऐतिहासिक दसैं मेला हुने भएको छ । स्थानीयको आवश्यकता र आर्थिक बिनिमय तथा किनमेलको ऐतिहासिक टुँडिखेल मेला यस पटक पनि हुने भएको हो ।

परम्परागत सामग्री, रासन, लत्ताकपडादेखि च्याङ्ग्रासम्म एकै थलोमा किनबेच गर्न पाउने गरी फूलपातिदेखि दसैंको भोलिपल्टसम्म टुँडिखेलमा दसैं मेला हुन लागेको हो ।

विद्यालय प्रअ कृष्णलाल बास्तोला ‘उदासी’ ले पोखरामा दसैंको रौनक भित्राउने ऐतिहासिक टुँडिखेल मेला कहिलेदेखि सुरु भयो, ठ्याक्कै यकिन नभए पनि शताब्दीअघि नै स्वतस्फूर्त रुपमा यो मेला हुँदै आएको बताए ।

‘यो स्कुल २००६ मा खुलेको हो । तर, त्योभन्दा पनि यहाँ मेला लाग्थ्यो । ठ्याक्कै कहिलेदेखि भन्ने अभिलेख भेटिंदैन,’ व्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडी बताउँछन् ।

यो मेला २०७५ सालदेखि विद्यालयले व्यवस्थापन गर्न थालेको हो । त्यसअघि मेलामा हानाथान तथा गुण्डागर्दीसमेत भएर बद्नाम हुन थालेपछि व्यवस्थापनका लागि विद्यालयले नेतृत्व लिन थालेको प्रअ उदासीले बताए ।

मेलामा भेडाच्यांग्रालाई व्यवस्थित गर्न गोठ पनि निर्माण गरिंदैछ । विद्यालय व्यवस्थापन समिति सदस्य तथा मूल आयोजक समितिका संयोजक बलराम अधिकारीका अनुसार अहिले कम्तीमा १० गोठ निर्माण हुनेछ भने १ सय ५० वटासम्म स्टल हुने छ ।

टुँडिखेलबाट दसैंका लागि आएका भेडाच्याङ्ग्रा विस्थापन हुनुको अर्को कारण चरण क्षेत्रको अभाव रहेको पनि अधिकारीको भनाइ छ । ‘वरिपरिका सबै चरण क्षेत्र घडेरीले प्याक भइसके । चरण क्षेत्र नै नभएपछि भेडाच्याङ्ग्रा ल्याउने क्रम पनि विस्तारै टुट्नेक्रम बढेको हो,’ उनले भने । अहिले पोखराकै वडा २५, हेम्जामा भेडाच्यांग्रा राखिने गरिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width