लेकसाइडमा मिनी सडक महोत्सव

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७९
REBAN

पोखरा । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान), पोखराको आयोजनामा असोज ११ मा लेकसाइडमा मिनी सडक महोत्सव–२०७९ आयोजना गरिने भएको छ ।

हरेक वर्ष सेप्टेम्बर २७ मा पर्ने विश्व पर्यटन दिवस अवसरमा १ दिनका लागि यो महोत्सव आयोजना गर्न लागिएको रेवान पोखराका कावा अध्यक्ष विश्वराज पौडेलले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिए । लेकसाइडको फिस्टेल गेटदेखि वाराहीचोकसम्म बेलुका ५ देखि राति १० बजेसम्म यो महोत्सव आयोजना हुनेछ । आपतकालीन सवारीसाधनबाहेक अन्य सवारीसाधन संचालन नहुने गरी महोत्सव संचालन गरिने छ ।

महोत्सवमा स्वदेशी र विदेशी खानाका परिकार, विभिन्न जातजातिका सांस्कृतिक नृत्य, गन्धर्व गायन, नेवारी लाखे नाच, पञ्चे बाजा र पर्यटनसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिने महोत्सवका संयोजक एवं रेवान पोखराका महासचिव विकास भट्टराईले जानकारी दिए । रि–थिङ्किङ टुरिजम अर्थात् पर्यटनलाई पुनर्विचार गर्दै भन्ने शीर्षकमा यो वर्ष पर्यटन दिवस मनाइने छ । सन् १९८० देखि संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनले यो दिवस मनाउने प्रचलनको आरम्भ गरेको हो ।

विश्व पर्यटन दिवसकै अवसर पारेर हवाइमार्ग र स्थल यातायातबाट उक्त दिन पहिलोपटक पोखरा उत्रने पर्यटकलाई सम्मान गर्ने कार्यक्रम रहेको पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए । उक्त दिन निर्माण सम्पन्न हुने चरणमा रहेको पोखरा विमानस्थलबारे छलफल कार्यक्रम समेत आयोजना गरिएको उनले सुनाए । पर्यटन क्षेत्रमा भएको लगानीको संरक्षण र नयाँ लगानीबारे कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा विचार गर्ने हिसाबले पनि अहिलेको पर्यटन दिवसको नारा जोडिएको सिग्देलले बताए ।

नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको महोत्सवलाई गोर्खा व्रुअरी प्रालिले प्रायोजन गरेको छ । कार्यक्रममा रेवान पोखराका निवर्तमान अध्यक्ष लक्ष्मण बरालले पनि भनाइ राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width