रोजगारमूलक शिक्षामा जोड दिनुपर्छ : कुलपति गुरुङ

आदर्श समाज सम्वाददाता
असाेज ९, २०७९
pu~second

लेखनाथ । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले रोजगारमूलक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजको शनिबार सातौं वार्षिक साधारणसभा उद्घाटन गर्दै कुलपति प्राडा गुरुङले सो कुरा बताएका हुन् । उनले शिक्षण संस्था परम्परागतभन्दा नवीनतम् शैक्षिक विधि तथा प्रविधि प्रयोग गरी शैक्षिक क्षेत्रलाई रोजगारमूलक शिक्षामा जोड दिए । साथै शिक्षालाई समाज र बजारसँग जोड्ने अभिप्रायका साथ व्यावहारिक ज्ञान प्रदान गर्नु नै आजको आवश्यकता रहेको उनको भनाइ छ । कुलपति प्राडा गुरुङले सबै कुराको जड शिक्षा भएकाले समग्र देशका शैक्षिक संस्थाहरुले पनि परम्परागत शिक्षाभन्दा नवीनतम् र गुणस्तरीय शिक्षा दिनु नै आजको अवश्यकता रहेको बताए ।

कलेज व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका सदस्य बाबुराम गिरिले निजीस्तरबाट सञ्चालित कलेजले शैक्षिक गुणस्तरमा कुनै कमी हुन नदिने कुरा व्यक्त गरे ।

तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजको शनिबार सातौं वार्षिक साधारणसभा भएको छ

कलेज व्यवस्थापन समिति अध्यक्ष सुमन भट्टराईले कलेजको समग्र शैक्षिक उन्नयन बोर्डको एक मात्र लक्ष्म रहेको बताउँदै सेयर सदस्यको लगानीलाई संरक्षण गर्दै कलेजको बृहत्तर हितको खातिर कार्य गरेको बताए । उनले संस्थालाई साँच्चै नै नमुना कलेज बनाउन बोर्ड सदस्यहरु लागिपरेको दाबी गरे ।

कलेजका प्राचार्य यदुनाथ आचार्यले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै समयसापेक्ष शैक्षिक गुणस्तर र विद्यार्थीलाई कलेजमा आवश्यक पर्ने भौतिक आधार तय गर्दै कास्की जिल्लाकै उत्कृष्ट कलेज बनाउन आफूहरु लागिपरेको बताए ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष राजेन्द्रमणि लामिछाने, पोखरा विश्वविद्यालयका पूर्व डिन इन्द्रप्रसाद तिवारी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, अमरसिद्ध माविका प्रअ विष्णुप्रसाद पौडेल, हिसान कास्की अध्यक्ष प्रेमबहादुर रोक्का, पूर्व विद्यार्थी एसोसिएसन अध्यक्ष रामकृष्ण लामिछाने र विद्यार्थी कल्याणकारी संघ अध्यक्ष सृष्टि तिवारीले शैक्षिक ज्ञानसँग व्यावहारिक ज्ञानलाई अगाडि बढाउनु पर्ने धारणा राखेका थिए ।

कलेज अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेलले गरेका थिए ।

त्रिवेणी इन्टरनेशनल कलेज व्यवस्थापन विषयमा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न सफल रहेको कलेजको दाबी छ । गुणस्तरीय शिक्षाका लागि विदेशसम्म जानुपर्ने बाध्यताको अन्त्य गर्दै स्थानीय प्रतिष्ठित उद्योगी, व्यवसायी, पत्रकार, शैक्षिक क्षेत्रका अग्रणी व्यक्तित्वहरुको प्रयासमा २०६७ मा खुलेको कलेजमा विद्यार्थीको आकर्षण छ । कलेजमा बिबिएस र एमबिएस बिहानीका कक्षाहरु संचालनमा छन् । कलेजमा हाल ५ सय बढी विद्यार्थी अध्ययनरत छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width