ज्येष्ठ नागरिकका समस्याबारे चर्चा

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७९
Jestha Nagarik by rupnarayanss

पोखरा । पोखरा–९, शान्तिवनमा केन्द्रीय कार्यालय रहेको ज्येष्ठ नागरिक सरोकार समाज नेपालले आफ्नो १० औं स्थापना दिवस अवसरमा शुक्रबार १०२ वर्षीय ज्येष्ठ नागरिक पण्डित बाबुरम रेग्मीलाई सम्मान गरेको छ ।

सराङकोटमा जन्मिएर हाल पोखरा–१७ मा बसोबास गर्दै आएका रेग्मीको शिक्षासेवी एवं समाजसेवीरुपमा योगदान छ । उनलाई समाजका अध्यक्ष, सल्लाहकार एवं कार्यक्रमका विशिष्ट अतिथिले खादा, माला, अविर र सम्मानपत्रसहित अभिनन्दन गरेका थिए ।

कार्यक्रममा प्राडा दिलबहादुर क्षत्रीले माता, पिता र गुरु देवतासमान भए पनि वृद्धाश्रममा लगेर छाड्ने र मरेपछि सम्पत्तिका लागि शव दाबी गर्ने विकृति देखिनेक्रम बढेको बताए । सम्मानित पं रेग्मीको जीवनी र अनुभव अभिलेखीकरण गर्न सुझाव राख्दै प्राडा क्षत्रीले रेग्मीजस्ता लामो आयु जिउन सफल व्यक्तित्वको नजिक बस्दा मोक्ष प्राप्त भएको अनुभव आफूले गरेको बताए ।

अर्का प्राडा ज्ञानबहादुर कार्कीले समाजमा ज्येष्ठ नागरिक अपहेलित रहेको स्मरण गराउँदै राज्यले पनि उनीहरुप्रति गर्नुपर्ने दायित्व पूरा नगरेको बताए । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ आए पनि त्यसमा उल्लेख सम्पूर्ण सुविधा ज्येष्ठ नागरिकले सहज ढंगले प्राप्त गर्न नसकेको उनले सुनाए । ज्येष्ठ नागरिकका लागि स्वास्थ्यको कुरा ठूलो भएको भन्दै उनले अस्पतालहरु महँगो भएको र ज्येष्ठ नागरिकले पाउने ४ हजार रुपैयाँ भत्ता अपर्याप्त रहेको बताए ।

सनातन धर्म सेवा समिति अध्यक्ष रवीन्द्र माकाजूले मानिसले आफू बूढो हुनु पर्छ र मर्नुपर्छ भन्ने कुरा ख्याल नगर्नु अहिलेको ठूलो समस्या भएको बताए । मान्छेले एकअर्कालाई मान्छेको व्यवहार नगर्दा देवताको खोजी गर्नुपरेको भनाइ उनको थियो । पछिल्लोक्रममा धर्म र संस्कृतिमाथि चौतर्फी प्रहार भएको बताउँदै उनले यसका लागि ज्येष्ठ नागरिक सरोकार समाज जस्ता संस्थासँग सहकार्य गर्न आफ्नो संस्था तयार रहेको बताए ।

शान्तिघाट विकास समिति अध्यक्ष शिवबहादुर कार्कीले शान्तिघाटमा डेढ वर्ष संचालनमा आएर केहीको विरोधका कारण रोकिएको शवदाह गर्ने मेसिन यही असोज ९ देखि संचालनमा ल्याउन पहल अगाडि बढाइएको जानकारी दिए ।

यसका लागि सबैको सहयोगको अपेक्षा गर्दै उनले कतिपयले माग गरेबमोजिम २० फिट अग्लो चिम्नी बनाएर संचालन ल्याउन लागिए पनि यसको विरोध हुनु दुखद भएको उनले सुनाए । चार गुणा कम दाउरा र समय लाग्ने उक्त मेसिन सुचारु भएपछि शवदाह कार्य सहज हुने उनले बताए ।

सम्मानित व्यक्तित्व रेग्मीका माइला सुपुत्र एवं छोरेपाटन मावि व्यवस्थापन समिति अध्यक्ष झपिन्द्रराज रेग्मीले जीवनमा ठूलो दुख र कठिनाइका साथ आफ्ना पिता शिक्षा सेवामा लागेको स्मरण गर्दै उनी समाजका लागि अनुकरणीय व्यक्तित्व भएको बताए ।

समाजको पुरञ्चौर शाखा अध्यक्ष पद्मा गौतम (राधा) ले ज्येष्ठ नागरिकको नजिक बसेर उनीहरुको हालखबर र स्वास्थ्य अवस्थाबारे सोध्नाले पनि धेरै राहत मिल्ने बताइन् ।

समाजका अध्यक्ष भक्तराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संस्थापक सदस्य खिमप्रसाद ओझालाई पनि सम्मान गरिएको थियो । सो अवसरमा पत्रकार हरि बास्तोला, विशिष्ट अक्षकोषदाता रामप्रसाद बतास, समाजकी सदस्य पार्वता पौडेल, साहित्यकार विष्णु अल्पविराम लगायतले भनाइ राखेका थिए । कार्यक्रम संचालन समाजका महासचिव विष्णुप्रसाद पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width