महानगरमा मेरा ५ वर्ष

शंकर बास्तोला
असाेज ८, २०७९
Shankar

विल्कुल नयाँ संरचनामा स्थानीय तहको पहिलो निर्वाचन हुँदै थियो । २०५९ पछि रिक्त स्थानीय निकाय सरकारका रुपमा २०७४ मा ब्युँतियो । सरकारको संस्थापक हुन पाउँदा उत्साह स्वभाविक हुने नै भयो, उत्तिकै जटिलता पनि थियो । अनेक द्विविधाबीच निर्वाचन भयो । सोही निर्वाचनमा कांग्रेसतर्फबाट एक उम्मेदवार बन्न पाएँ । भौगोलिक हिसाबले सानो वडा भए तापनि व्यापारिक, सांस्कृतिक र पुरातात्विक सम्पदाले अगाडि रहेको वडा ४ विगतका स्थानीय निर्वाचनमा सधैं कांग्रेसले जित्दै आएको थियो । त्यो विरासत मैले कायम गर्न सक्छु भन्ने आत्मविश्वास नभएको होइन तर परिणाममा आशंका थियो ।

कांग्रेसले पोखरामा ३३ वडामध्ये ११ वटा वडामात्र जित्न सक्यो । नगरसभामा समेत कमजोर उपस्थिति भएकाले हामीले चाहेर पनि निर्णयमा हस्तक्षेप गर्न सक्दैनथ्यौं । एमाले दुइतिहाइ बहुमतमा रहेको पोखरामा कांग्रेसले अघि सारेका योजनासमेत खासै समेटिएनन् । जनप्रतिनिधिको रुपमा आएसँगै केही विशेष गर्नुपर्छ भन्ने योजनासहित माथिल्ला निकायसँग समन्वय गरिरहें । यहाँका प्रमुख बजार क्षेत्रको वडा भएकोले अस्तव्यस्त ठाउँ व्यवस्थित गर्नु पहिलो चुनौती थियो । मैले पालिखेचोक (साँघुको मुखचोक) बाट कामको सुरुआत गरें । धेरै लामो समयदेखि चोक चौडा पार्ने योजना समन्वयको अभावमा अड्किएको थियो । सडकमा हिंड्न सहज थिएन, ट्राफिक जामको समस्या थियो । कच्ची र पक्की घर मुआब्जामार्फत हटाएर तत्कालीन योजनाविद् पदमबहादुर क्षत्री र अञ्चलाधीश शंकरराज पाठकले समेत आँटेर गर्न नसकेको काम मेरो संयोजकत्वमा सम्पन्न भयो ।

जनप्रतिनिधि भएकाले पटक–पटक स्थानीयको घरमा गई वार्ता गरें । स्थानीयलाई तोकिएको मुआब्जा लिएर हट्न सहमत गराएँ । साँघुरो पलिखेचोक सफा र फराकिलो भयो ।

यी र यस्ता कार्य मेरो कार्यकालमा धेरै भए । जसमा पालिखेचोकदेखि महेन्द्रपुलसम्मको सडक अल्फास्ट पिच । सिद्धार्थचोक–बिपीचोक–चिप्लेढुंगा–महेन्द्रपुल–साँघुमुखमा नमुना फुटपाथ निर्माण । गणेशटोल गुठीमा थप भौतिक संरचना निर्माण । सर्वेश्वर गोपालमार्ग कालिमाटी, ज्ञानमार्ग लगायतको निर्माण तथा स्तरोन्नति । वडाको एकमात्रै सामुदायिक विद्यालय नवीन माविको संरचना मर्मत, कम्पाउण्ड निर्माण र रङ रोगन । वडाभित्रका सबै क्षेत्रमा सेन्सरसहितको रात्रिकालीन बत्ती जडान । वडा पूर्वपट्टिको विवादित जग्गा वडा मातहत ल्याउन सफल । सिद्धार्थचोकबाट पस्र्याङ जोड्ने फिर्केखोलामाथि पुल निर्माण । बालगोपाल मार्गको बाटो पिच । शताब्दिऔं पुरानो नालाको मुखमा बालधाराको पुनः निर्माण मेरै कार्यकालमा भए ।

पालिखेचोकमा कच्ची र पक्की घर मुआब्जामार्फत हटाएर तत्कालीन योजनाविद् पदमबहादुर क्षत्री र अञ्चलाधीश शंकरराज पाठकले समेत आँटेर गर्न नसकेको काम मेरो संयोजकत्वमा भयो

साथै, विन्धवासिनीमा चिकित्सालयको १ नं भवन निर्माण । जिल्ला अदालत कास्की परिसरमा ३ वटा चौतारी निर्माणमा सहयोग । रामकृष्ण टोल र गणेश टोलमा ऐतिहासिक एवं पुरातात्विक घर संरक्षणको पहल र गुरुयोजना निर्माण । गणेश टोलमा ढुंगा बिछ्याउने कामको सुरुआत । सिद्धार्थचोकदेखि बिपीचोकसम्म हरियाली संरक्षण अभियानअन्तर्गत चौतारी निर्माणको थालनी । सडक विभागसँगको समन्वमा गैह्रापाटन बाटो रिसोलिङ । गैह्रापाटन क्षेत्रमा अस्फाल्ट प्रक्रिया अगाडि बढाइएको र फुटपाथ निर्माण सुरु । लामो समयदेखि अव्यवस्थित वडा कार्यालय भवन पुनःनिर्माण र स्तरोन्नति लगायत कार्य हुन सके ।

पोखरा उपत्यका नगर विकासमा मेरो भूमिका

स्थानीय निर्वाचनपश्चात नगर विकास ऐन संशोधन भएसँगै सम्बन्धित स्थानीय तहको प्रमुख अध्यक्ष हुने र कार्यपालिकाका सदस्यमध्येबाट नगर विकास समितिको सदस्य मनोनीत हुने व्यवस्थाअनुसार कांग्रेसतर्फबाट म सदस्य नियुक्त भएँ ।

समितिमा पनि कांग्रेसको उपस्थितिबाहेक निर्णय पहुँच थिएन । तर गलत गर्न लाग्दा असहमति जनाउने र सकेसम्म राम्रो निर्णयका लागि दबाब दिइरहें । नगर विकास समिति पोखराको सबैभन्दा धनी तर आफूसँग नै सम्पत्ति नभएको संस्थाका रुपमा थियो । ७५५ रोपनी जमिन पोखराका विभिन्न ठाउँमा समितिसँग थिए । त्यसलाई परिचालन गर्नु र सित्तैमा वितरण गरिएका जमिनलाई समिति मातहत फिर्ता लिन मैले पहल गरिहेको थिएँ र छु ।

यत्तिकैमा मेरो संयोजकत्वमा बागलुङ बसपार्क अध्ययन बन्यो । कार्यदलले प्रतिवेदन बनाएर बसपार्क व्यवस्थित बनाउन सुझाव दियो । तर उक्त प्रतिवेदन कार्यान्वयनमा गएन । मेयर मानबहादुर जिसीको स्वास्थ्य अवस्थाका कारण पनि धेरै योजना अधुरा भए भन्ने लागेको छ । कार्यालय नेतृत्वविहीन हुँदा मौका छोपेर कार्यालयमा सरकारी सम्पत्तिको दुरुपयोग, हिनामिनासमेत भएको देखियो । नीतिगत भ्रष्टाचार, सवारी दुरुपयोग जस्ता गलत काममा सधैं खबरदारी गर्न छोडिनँ । निरन्तरको सक्रियताका कारण मलाई मेरो वडाका अधिकांशले पुनः एकपटक अध्यक्ष हुनुपर्ने दबाब नदिएका पनि होइनन् । चौतर्फी दबाबले मैले २०७८ चैत १२ मै उपत्यका नगर विकास समिति सदस्यबाट राजीनामा दिइसकेको थिएँ । सोही अवस्थालाई छोपेर नगर विकास समितिका कर्मचारीलाई हातमा लिएर मेयर जिसीको नामबाट ६५ रोपनीभन्दा बढी बहुमूल्य जग्गा निजी क्षेत्रलाई लामो समयमा भाडामा दिने निर्णय भएको सुन्दा अचम्मित भएँ । तथापि वर्तमान नेतृत्वले उक्त निर्णय खारेज गरेको छ, जसलाई सकारात्मक कदम ठानेको छु । त्यतिमात्रै थिएन, कर्मचारीले मनपरी आफ्ना मान्छेलाई कर्मचारीका रुपमा भर्ना गर्ने, सवारीसाधनको दुरुपयोग गर्नेदेखि बजेट जथाभावी खर्च गरेको विषयमा मैले पटक पटक ध्यानाकर्षण गराएको छु । मेरो कार्यकालभरि सरकारी, सार्वजनिक सम्पत्ति संरक्षणमा मैले कुनै कसर बाँकी राखिनँ र सधैं पहरेदाररुपमा उभ्याइरहें ।
(बास्तोला पोखरा ४ का पूर्व अध्यक्ष हुन्)

Related News

सम्बन्धित समाचार

hero news full width