पहिलोपल्ट पम्प सिस्टममा बिजुली

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७९
benas and rupa

पोखरा । नेपालमै पहिलो पटक पम्पिङ प्रणालीबाट विद्युत उत्पादन पोखरामा गरिने भएको छ । पम्पबाट पानी तानेर इन्टेकमा स्टोर गर्ने र सोही पानीले बिजुली निकाल्ने गरी पोखराको वेगनास र रुपातालमा अध्ययन भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्न सरोकारवालासँग छलफल चलाएको हो । बेगनास तालबाट पानी तानेर रुपातालमा झार्ने र सोही पानीबाट बिजुली निकालेर फेरि बेगनासतालमा पठाउने गरी डिजाइन बनाइएको हो । पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी रुपातालमा जाने र पुनः बिजुलीकै सहायताले बेगनास तालमा लगिने प्राधिकरणले जनाएको छ ।

लेखनाथको सुन्दरडाँडास्थित इन्टेक बनाएर बेगनासको पानी स्टोर हुनेछ । सुन्दरीडाँडामा इन्टेक बनाउने र हेडरेस सुरुङबाट सिमलडाँडामा खसाल्ने योजना भइरहेको छ ।

बेगनासबाट पानी तानेर रुपातालमा झारेर १५० मेगावाट बिजुली निकाल्ने तयारी

२०७४ सालमै अध्ययनको अनुमति पाएको थियो । उक्त आयोजनाबाट १ सय ५० मेगावाट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । त्यसका लागि रुपातालमा बाँध प्रस्ताव गरेको छ । तर रुपाताल परियोजनाले नै ड्याम निर्माण गरिसकेको छ भने त्यसबाट डुवानमा पर्ने जग्गाको मुआब्जा वितरण समेत अन्तिम चरणमा पुगेको छ । बिजुली निकाल्न बेगनासतालमा थप १ मिटर अग्लो बाँध बाँधेर पानी संकलन गर्ने योजना छ । यही पानीलाई विद्युत उत्पादनमा प्रयोग गर्ने प्राधिकरणले जनाएको छ । दैनिक अधिकतम ४ घण्टा (साँझ ५ देखि ९ बजेसम्म) विद्युत उत्पादनमा पानी प्रयोग गरिने छ । त्यसपछि राति १२ बजेदेखि बिहान ४ बजेसम्म रुपातालबाट सोही पानी वेगनासतालमा पम्प गरेर जम्मा पारिने छ । तर रुपाको पानी वेगनासमा मोटरबाट फर्काउनुपर्ने भएकोले पम्प चलाउन १ सय २५ मेगावाट बिजुली प्रयोग गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

विद्युत अत्यधिक माग हुने साँझको समयमा विद्युत उत्पादनको अध्ययन गरिएको प्राधिकरणका विज्ञ प्रकाश गौडेलले जानकारी दिए । नेपालका लागि पम्प स्टोरेज जलविद्युत् आयोजना विल्कुलै नयाँ प्रविधि हो । यो आयोजना सम्पन्न गर्न करिब २० अर्ब लगानी लाग्ने अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने बिजुली ४ किलोमिटर दुरीको लेखनाथ सव स्टेसनमा जोडिने छ ।

वेगनासतालमा हाल २ सय ५७ वटा डुंगा संचालनमा छ । दुवै तालमा माछापालन भइरहेको छ । वेगनास तालको पानी प्रयोग गरेर हाल ५ सय ८० हेक्टर जमिनमा सिंचाइ भइरहेको छ । दुवै ताल रामसार सुचीमा सूचिकृत भएकोले विद्युत उत्पादनबारे अन्योल कायम छ । विद्युत उत्पादनमा पानी उपयोग हुने भएपछि माछापालनदेखि डुंगा व्यवसाय समेत प्रभावित हुन सक्ने अनुमान छ । बिजुली खपतको तुलनामा उत्पादन खासै धेरै नभए पनि बाहिरबाट निर्यात गर्नुपर्ने समयमा उत्पादन गर्न सकिने भएकोले आयोजना प्रभावकारी हुने गौडेलको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width