नेपाल–भारत सम्बन्ध उच्चस्तरको : मुख्यमन्त्री पोखरेल

आदर्श समाज सम्वाददाता
असाेज २, २०७९
nepal india

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाल–भारत सम्बन्ध राजनीतिक सम्बन्धभन्दा उच्चस्तरको रहेको बताएका छन् ।

नेपाल–भारत मैत्री संघको आठौं केन्द्रीय मैत्री सभाको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सामाजिक र सांस्कृतिक हिसाबले समेत दुई देशबीचको सम्बन्ध प्रगाढ रहेको उल्लेख गरे । नेपालका लागि सबैभन्दा धेरै सहयोग गर्ने देश भारत नै भएको भन्दै उनले भारतलाई जति गाली ग¥यो उति राष्ट्रवादी भइन्छ भन्ने सोच गलत भएको बताए । पछिल्लोपटक ल्याउन लागिएको नागरिकता विधेयक पास भए भारतीयका कारण नेपाल फिजी बन्छ भन्ने भनाइमा पनि सत्यता नभएको उनले बताए ।

उनले भारतले पनि नेपाललाई पुरानो जमानाको नेपालजस्तो गरी व्यवहार नगर्न सचेत गराए । ‘नेपाललाई भारतीय संस्थापन पक्षले २००७ साल वा २००८ सालतिरको जस्तो नेपाल नसोचोस्,’ उनले भने । नेपालकोे मुक्तिनाथ र भारतको केदारनाथजस्ता धाम र अन्य थुप्रै कारणले समेत भारत र नेपालबीच धार्मिक सम्बन्ध पनि उत्तिकै प्रगाढ रहेको बताउँदै उनले यो अटुट सम्बन्धलाई कुनै पनि अतिवादबाट जोगाउन जरुरी भएको बताए ।

गण्डकी प्रदेश सरकारले मेडिकल कलेज स्थापनाको काम अगाडि बढाइसकेको बताउँदै उनले भारतबाट यस प्रदेशमा कुनै मेगा प्रोजेक्टका लागि सहयोग गरे नेपाल भारत सम्बन्धमा थप प्रगाढता आउने भनाइ राखे । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले नेपाल र भारतबीचको सम्बन्ध विशिष्ट खालको भएको स्मरण गराउँदै भारतका हरेक राज्यबाट मुक्तिनाथको दर्शन गर्न भारतीय तीर्थालु आउने गरेको बताए । पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्ने अभियानमा प्रदेश सरकार रहेको पनि उनले जानकारी गराए ।

कार्यक्रममा विभिन्न २५ जनालाई सम्मान

प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीले नेपाल र भारतबीचको सम्बन्ध जनस्तरको सम्बन्ध भएको बताए । मैत्री संघका अध्यक्षसमेत रहका उनले भारतले नेपालका लागि नाकाबन्दी गर्दा र अन्य समस्याका समयमा समेत समन्वयकारी भूमिका खेलेको स्मरण गराए । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले चुरेको क्षयीकरण अहिलेको समस्या भएको बताए । मधेश प्रदेशलाई जोड्ने गरी नेपाल–भारत मैत्री पुल निर्माणका लागि समेत उनले सुझाव राखे ।
भारतीय राजदूतावासका प्रथम राजनीतिक सचिव नवीनकुमारले नेपाल र भारत दुई देश एक समाज भएको भनाइ राखे । यो सम्बन्ध थप प्रगाढ हुँदै जाओस् भनी उनले कामना गरे । भारतीय जनता पार्टी दिल्लीका प्रवक्ता शिव वर्धनले नेपाल भारतबीचको सम्बन्ध युगौंयुग पुरानो रहेको बताउँदै यो सम्बन्धलाई पर्यटन प्रवद्र्धनका लागि समेत सदुपयोग गर्न सकिने भनाइ राखे ।

मैत्री संघका कार्यवाहक अध्यक्ष इन्जिनियर शैलेन्द्रमोहन झाको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष तुलबहादुर साउद, अर्का उपाध्यक्ष एवं गण्डकी प्रदेश मैत्री संघका अध्यक्ष ऋषिराम सापकोटा र सल्लाहकार हरिराम पौडेल लगायतले भनाइ राखेका थिए । संस्थाका महासचिव बोधकृष्ण सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए । सो अवसरमा महासचिव सुवेदी र कोषाध्यक्ष राजकुमार अग्रवालका प्रतिवेदन पनि प्रस्तुत गरिएका थिए । स्थानीय निर्वाचनमा निर्वाचित र सरकारका विभिन्न ओहोदामा रही मैत्री संघसँग आबद्ध विभिन्न २५ व्यक्तित्वलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • ‘महिला हिंसा अन्त्य गर्न कडा कानुन’

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले महिला हिंसा अन्त्यका कडा कानुन बनाउनुपर्ने…
  • पोखरा महोत्सव सफल पार्न ३७ उपसमिति र संयोजक चयन

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । एघारौं संस्करणको पोखरा महोत्सव २०७९ सफल बनाउन विभिन्न ३७ उपसमितिहरु गठन गरी संयोजक तोकिएको छ । महोत्सव सफल…
  • स्टेप बाइ स्टेप माविमा खेलकुद

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । स्टेप बाइ स्टेप मावि पोखरामा ३४ औं वार्षिक खेलकुद प्रतियोगिता आइतबार सुरु भएको छ । विद्यालयका संस्थापक निर्देशक…
  • हिंसाको प्रतिकार गर्नुपर्नेमा जोड

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । हिंसा सहेर बस्न नहुने, हिंसाको प्रतिकार गर्नुपर्ने शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । सञ्चारिका…
  • शिवशक्ति क्याम्पसका प्रमुखमा चन्द्रकान्त नियुक्त

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । पोखरा–११, फूलबारीस्थित शिवशक्ति क्याम्पसको प्रमुखमा सहप्राध्यापक चन्द्रकान्त रेग्मी नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष टुवराज बास्तोला…

hero news full width