सहर छिर्नेलाई गाउँको सेवा

आदर्श समाज सम्वाददाता
असाेज १, २०७९
Ghumti Sewa Sikles

पोखरा । पोखरा–१२ माटेपानीस्थित चिउली पाचे तमु समाजघरमा सिक्लेसीको आउजाउ बढी नै हुन्छ । सिक्लेसबाट झरेर पोखरा बसेकाहरुको समाजघर भएकाले पनि उनीहरु यहाँ गइरहन्छन् । विवाह, चेलीबेटी भेटघाट, ढोगभेटलगायतमा उनीहरुको बरोबर भेट हुन्छ ।

गएको भदौ २६ देखि २९ सम्म उत्तिकै भीड दोहोरियो । तर, त्यहाँ कुनै भोज थिएन । न त भेटघाट । ३ दिनसम्म कागज बोकेर धाउनेहरु भेटिए । उनीहरु तिरो तिर्न, जन्मदर्ता, नाता प्रमाणितलगायत वडा कार्यालयबाट मिल्ने सेवा लिन समाजघर पुगेका हुन् ।

समाजघरमा पुग्नेहरु सबैको अनुहारमा कान्ति थियो । त्यही हुलमा भेटिएका शेरबहादुर गुरुङ पनि । पुरानो घर सिक्लेस बताउने उनी लामो समयदेखि पोखराको संगम टोल बस्दै आएका छन् । तर, उनको बसाइँसराइ छैन । त्यसैले सिक्लेस नै उक्लिरहन्छन् । उनले गाउँको घरको राजस्व नतिरेको लामो समय भएको थियो । पोखराबाट सिक्लेस पुग्नै ४ घण्टा बढी लाग्छ । जीप वा बसमा गए भाडामात्र १ हजार ४ सय तिर्नुपर्छ ।

सोही कारण पनि उनले लामो समयदेखि राजस्व बाँकी राखेका थिए । बुधबार समाजघर प्रांगण भेटिएका उनले राजस्व तिर्न पाए । उनले पोखरामै बसेर राजस्व तिर्न पाएकोमा खुसी लागेको प्रतिक्रिया दिए । ‘पोखराबाट जानै १४ सय लाग्छ बाटोमा खाजा खाना खानुप¥यो पैसा त कति हो कति खर्च,’ उनले भने, ‘अहिले त पोखराबाटै तिर्न पाईयो समय पनि बच्यो, पैसा पनि ।’

मादी गाउँपालिका वडा १, सिक्लेसमा रहेको वडा कार्यालयले सञ्चालन गरेको घुम्ती सेवा कार्यक्रममार्फत शेरबहादुर जस्तै धेरै सिक्लेसीहरुले सुविधा पाएका छन् । आधा सिक्लेसीहरु पोखरा बस्ने भएकाले वडाबाट निर्णय गरेरै घुम्ती सेवा कार्यक्रम गरिएको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । आफ्नो चुनावी नारामा समेटिएको घुम्ती सेवालाई पदभार ग्रहण गरेकै दिन निर्णय गरेर सुरु गरेको उनको भनाइ थियो । हरेक २ महिना अन्तरालमा घुम्ती सेवा दिने निर्णय भएको हो । सोहीअनुसार पहिलो चरणमा असार ३० र ३१ गते सेवा सञ्चालन गरे । त्यो बेला सेवाग्राहीको चाप बढेपछि साउन १ र २ मा सेवा थप गरियो ।

दोस्रो चरणअन्तर्गत भदौ २६ देखि २८ सम्म निर्धारण गरिएकोमा १ दिन लम्बियो । सिक्लेस भौगोलिक हिसाबले मादी गाउँपालिकाकै ठूलो अनि विकट गाउँ भएकाले पनि आफूहरुले घुम्ती सेवा सुरु गरेको वडाध्यक्ष गुरुङले जानकारी दिए । यस कार्यक्रमबाट दैनिक ३० देखि ४० जनाले सेवा लिने गरेका छन् । आगामी दिनमा पनि यसलाई अझै प्रभावकारी रुपमा अघि बढाउने योजना रहेको उनले सुनाए ।

सिक्लेसजस्तै ताङतिङ गाउँ पनि विकट अनि भौगोलिक रुपमा टाढा छ । पोखरादेखि २० किमी परको ताङतिङका पनि आधा जति जनता पोखरा बस्छन् । विभिन्न कारणले सहर बसेकाहरु वडाको काम परे २ घण्टाको यात्रा ३ सय भाडा तिरेर गाउँ उक्लनुपर्ने बाध्यतामा छन् । मादी २ ले पनि पोखरा बस्ने जनताको सुविधाका लागि पोखरा १२ स्थित दुधपोखरी तमु समाजघरमा घुम्ती सेवा कार्यक्रम गरेको थियो ।

ताङतिङ र आसपासका गाउँका स्थानीयलाई समेट्ने गरी सञ्चालन गरिएको मादी २ को घुम्ती कार्यक्रम ३ दिनसम्म चलेको थियो । मादी २, वडा कार्यालयले हरेक महिना २ देखि ३ दिन पोखरामा घुम्ती सेवा दिने भएको छ ।

घुम्ती सेवाबाट दैनिक ५० जना सेवाग्राहीलाई सेवा दिएको वडासचिव वसन्त थापा मगरले बताए । जहाँबाट सेवा दिए पनि प्रशासनिक काममा कुनै भिन्नता नरहे बताउँदै उनले पोखरा आएर सेवा दिंदा सेवाग्राही निकै खुसी हुने गरेको जनाए ।

वडाका सम्पूर्ण सेवा पोखराको घुम्ती सेवामा दिने गरिएको उनको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width