डेंगुविरुद्ध पोखरा महानगरको सचेतना अभियान

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७९
Dengu News

पोखरा, ३१ भदौ । पोखरा महानगरपालिकाले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगविरुद्ध सचेतना अभियान शुभारम्भ गरिएको छ । महानगरको स्वास्थ्य महाशाखाको नेतृत्वमा डेंगु रोग रोकथामका लागि लामखुट्टेको वासस्थान खोजी तथा नष्ट गर्ने अभियान शुक्रबारदेखि सुरु गरेको हो ।

अभियानको शुभारम्भ गर्दै महानगर प्रमुख धनराज आचार्यले यसको रोकथामका लागि नागरिक सचेतना आवश्यक रहेको बताए ।
‘यसको थप उपचार भन्दा पनि यसलाई फैलन नदिनका लागि प्रमुख उपाय भनेको जनजागरण नै हो,’ उनले भने, ‘लामखुट्टेको टोकाइबाट सर्ने भएकाले त्यसको वासस्थान खोज्ने र नष्ट गर्ने नै हो ।’ लामखुट्टेको सम्भावित वासस्थानको पहिचान गरी नष्ट गर्ने अभियानमा साथ दिन उनले सरोकारवालालाई आह्वान समेत गरे ।
ग्यारेज तथा कवाडी संकलन केन्द्रहरूमा रहेका पुराना टायर लामखुट्टेको सुरक्षित वासस्थानका रूपमा पाइएकाले त्यस प्रकृतिका व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई थप सचेतना अपनाउन उनले आग्रह गरे ।

कवाडी संकलन केन्द्रहरूलाई डेंगु लगायतका सरुवा रोगहरूको कारकका रूपमा विभिन्न अध्ययनले देखाएको उल्लेख गर्दै उनले ती व्यवसायलाई आवास क्षेत्रको ५ सय मिटर टाढा स्थानान्तरण गर्नका लागि ३५ दिने सूचना समेत जारी गरिएको जानकारी दिए ।

स्वास्थ्य महाशाखाका प्रमुख कृष्णप्रसाद अर्यालले यसको प्रकोप रोक्नका लागि सरोकारवालाहरूको एकीकृत प्रयासमा जोड दिए । उनले भने, ‘डेंगु रोग पोखरा महानगरपालिकामा मात्र नभई राष्ट्रिय समस्याका रूपमा देखिएकाले यसको नियन्त्रणका लागि एकीकृत प्रयास आवश्यक छ ।’

डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ ।

Related News

सम्बन्धित समाचार

hero news full width