फुटबल खेलाउँदै एकेडेमी चलाउँदै सहारा

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७९
sahara

गण्डकी ।  सहारा क्लब पोखरा नाममात्रै होइन यो असहाय विपन्न वर्गका बालकहरूको दरिलो सहारा पनि हो । स्थापनाको २४ औँ वार्षिकोत्सव मनाइरहेको क्लबले यसबीचमा विभिन्न अप्ठेरोमा परेका असहाय बालकलाई आश्रय दिँदै आएको छ । विद्यालयको पढाइ सम्पन्न गराउँदै ११, १२ को कक्षा पनि पूरा गराउन योगदान गरेको छ ।

खेलको माध्यमबाट समाजका युवालाई कुलतबाट जोगाउन विसं २०५८ मा स्थापित क्लबले फुटबल खेलाएरै सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ । ‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा विकास गरौँ’ भन्ने नारासहित प्रत्येक वर्ष आहा रारा गोल्डकप फुटबल प्रतियोगिता क्लबले सञ्चालन गर्दै आएको छ । सो प्रतियोगितामा दर्शकले काटेको टिकटबाट बचेको रकम एकेडेमी सञ्चालनमा उपयोग गर्दै आएको क्लबका अध्यक्ष हरिराम गुरुङले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका–१७ दोभिल्लास्थित एकेडेमीमा १६ जिल्लाबाट २८ बालकहरू राखेर एकेडेमी सुरु गरिएको थियो । यस आर्थिक वर्षमा १२ कक्षा पूरा गरेका आठ जनाको बिदाइ गरी बाँकी १० जिल्लाका १३ बालक आवासीयरूपमा अध्ययन गर्दै आएको उहाँले बताउनुभयो । उनीहरूको गाँस, बास, कपासका साथै उचित शिक्षाको प्रबन्ध र फुटबल प्रशिक्षणको कार्य निःशुल्करूपमा एकेडेमीले गर्दै आएको छ ।

आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दा खेलप्रेमी दर्शक र प्रायोजकले दिएको उत्साहबाटै एकेडेमी सञ्चालन भइरहेको अवस्थामा कोरोना कहरले भने प्रभावित बनाएको उहाँको भनाइ छ । फुटवल प्रतियोगितामात्र नभई सामाजिक सेवाका विभिन्न क्षेत्रमा पनि काम गर्दै आएको क्लब राष्ट्रियरूपमा मात्र नभई अन्तर्राष्ट्रियरूपमा पनि चर्चामा छ ।

एकेडेमीमा आश्रित बालक पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित शिशु कल्याण माध्यमिक विद्यालयमा अध्ययनरत छन् । विसं २०५९ मा पहिलो क्याराभान गोल्ड कप एवं २०६० देखि आहा गोल्डकप सञ्चालनसँगै आवासीयरूपमा एकेडेमी चलाउनु पर्दछ भन्ने सोचका साथ अघि बढिएको क्लबका संस्थापक अध्यक्ष वसन्त थकालीले बताउनुभयो ।

एकेडेमी स्थापनासँगै क्लबबाट राष्ट्रियस्तरका खेलाडी उत्पादन भएपछि सहाराको महत्व र गरिमा अझै चुलिएको हो । एकेडेमीकै उत्पादन राष्ट्रिय खेलाडी अनिल गुरुङ, प्रशिक्षक विष्णु गुरुङ आदिका कारण पनि एकेडेमीको सार्थकतालाई पुष्टि गरेको छ । एकेडेमीकै अवसर पाएका सुशील लामा, अजित भण्डारी, नवीन श्रेष्ठजस्ता खेलाडीका कारण पनि क्लबको उचाइ अझै बढेको छ ।

एकेडेमी सञ्चालनकै लागि विसं २०६३ मा पोखरा–१७ दोविल्लामा लगभग रु २८ लाख ५० हजार लागतमा २६ रोपनी जग्गा खरिद गरेसँगै उक्त परिसरमा तीनतले भवन, मिनी प्यारापिटसहितको फुटबल मैदानलगायतका विभिन्न संरचना तयार गरिसकिएको छ । फुटबल खेलको अन्तर्राष्ट्रिय संस्था फिफाले यसका गतिविधिलाई समेटेर तयार पारेको ‘हिमालको देशमा फुटबलभित्र लुकेको कथा’ विषयको वृत्तचित्रले यसको भूमिकालाई अझै स्पष्ट पारेको क्लबका सल्लाहकार एवं मानार्थ सदस्य नारायण कार्कीले बताउनुभयो ।

“क्लबको स्थापनाकालदेखि नै यसका सदस्यले देखाउने गरेको सेवाभाव र आर्थिक पारदर्शितासँगै क्रियाशीलताका कारण स्वदेश एवं विदेशमा यसले खेलप्रेमीको विश्वास जित्न सफल भएको छ”, कार्कीले भन्नुभयो, “क्लबको आफ्नै एकेडेमी तथा रङ्गशाला हुनु पनि यसको विशिष्टता हो ।”

एकेडेमीको दीर्घकालीन सुसञ्चालनका लागि सूर्यबहादुर केसीको परिवारले वार्षिक रु १५ लाख उपलब्ध गराउने भएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो । दश वर्षसम्म केसीको पुण्यतिथिका अवसरमो परिवारले क्लबलाई वार्षिक रु १५ लाख प्रदान गर्ने सम्झौता गरी यसै वर्षदेखि एकेडेमीको नामकरण ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ गरिएको उहाँले बताउनुभयो । एकेडेमीकै व्यवस्थित एवं दीर्घकालीन सञ्चालनका लागि संस्थाले स्थापना गरेको सहारा फुटबल एकेडेमी अक्षयकोषमा हालसम्म रु दुई करोड ५६ लाख ८४ हजार सङ्कलन भइसकेको महासचिव अधिकारीले जानकारी दिनुभयो । – वासुदेव पौडेल \ धनबहादुर गुरुङ/ रासस

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width