खेल सामग्री किन्न चन्दा

धनबहादुर गुरुङ
भाद्र २९, २०७९
Fancing Photo

पोखरा । ‘मैले कसैलाई दोष दिन र आरोप लगाउन होइन, मसँग उपाय भएन, मैले साथीभाइहरुसँग खेल सामग्री खरिद गर्न हात फैलाएकोमात्र हुँ ।’

सामाजिक संजालमा पोस्ट भएको यो स्टाटस हो, कास्की जिल्ला फेन्सिङ एसोसिएसन अध्यक्ष विजय शाहीको ।

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि फेन्सिङ खेलबाट १२ पुरुष र १२ महिला गरी २४ खेलाडी छनोट भएका छन् । छनोट त भए तर खेल सामग्री अभावमा नियमित प्रशिक्षणबाट वञ्चित छन् । बन्दोबस्त सामान किन्दा एउटा खेलाडीका लागि करिब १ लाख खर्च हुन्छ । त्यो पनि नेपालमा पाइँदैन । छिमेकी मुलक भारत वा तेस्रो मुलुकबाट ल्याउनुपर्छ । त्यसैकारण पनि तयारीमा कमी हुने भन्दै अत्तालिएका थिए, अध्यक्ष शाही । उनले पटक पटक आग्रह गर्दा पनि समयमा बजेट आउने छाँटकाँट नदेखेपछि आफैं कस्सिएका हुन् ।

उनले अगाडि लेखेका छन्, ‘..गण्डकी प्रदेशका खेलाडीहरुको हितको लागि जिल्ला अध्यक्षको नाताले मैले कतै भनसुन गरेर हुन्छ भने किन नगर्ने भन्ने सोचेर यो कदम चालें । खेलप्रेमी व्यक्ति वा संस्था जो कसैले कास्की जिल्ला फेन्फिङ संघको खातामा सहयोग गर्न सक्नु हुनेछ, हिसाब पारदर्शी हुने वाचा गर्दछु । गण्डकी प्रदेशकै इज्जतको सवाल छ त्यसैले सबैमा विनम्र अनुरोध गरें ।’

केही दिन अघिसम्म खेलकुद मन्त्रालय र खेलकुद परिषद्बाट रकम आउने आशा गरेका थिए । समय समयमा ताकेता गर्दा पनि बजेट बिनियोजन गर्न ढिलाइ हुने देखेपछि चन्दा संकलन गरेरै अघि बढ्ने निर्णयमा पुगेको उनले बताए । एक जना खेलाडीका लागि १ लाख बराबरको खेल सामाग्री पर्ने भएपनि अति आवश्यक सामाग्रीका लागि प्रतिखेलाडी ३० हजारका दरले ७ लाख २० हजार माग गरेको उनले बताए । ‘हामीसँग खेल सामाग्री छैन भनेर धेरै अनुनय विनय गरेको थिएँ । फेन्सिङको सामग्री नेपालमा पाइँदैन भनेको थिएँ,’ उनले भने, ‘हाम्रो खेल सामग्री र कपडा किन्दा प्रतिखेलाडी ७० हजार देखि १ लाखसम्म पर्छ तर मैले आधारभूत आवश्यकतामात्र राखेर मागेको थिएँ ।’

माग रकमभन्दा निकै कम ६० हजार छुट्याएको उनले बताए । त्यही रकम लिन पनि कोटेसन लगायत काम गरिहेको उनको भनाइ थियो । कोटेसन हालेर भारतबाट खरिद गर्दा नवौं खेल सकिएपछि सामान आउने देखेपछि आफैं कस्सिएको उनी बताउँछन् ।

‘आउनुपर्ने ठाउँबाट ढिला हुने भयो । सम्भावना कम देखें । मसँग प्रशिक्षणका लागि समय कम छ,’ उनले भने, ‘सामान मगाउँदा ५ दिन समय लाग्छ । त्यहीमाथि ठाउँको अभावका कारण फेन्सिङ खेल उद्घाटनभन्दा अघि खेलाउने कुरा चलेको छ । दसंैमा केही दिन प्रशिक्षण हुँदैन । यही कारण प्रशिक्षणमा ढिलाइ हुने देखेपछि यस्तो गरेको हुँ । यसबाट कसैलाई केही पर्न जान्छ भने त्यो संयोगमात्र हो ।’

यता, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङले विदेशबाट सामाग्री ल्याउन प्रक्रियामा जान आग्रह गरेको बताए । प्रक्रिया हुँदाहुँदै सामाजिक संजालमार्फत सहयोगको अपील गर्दा गलत सन्देश जाने उनी बताउँछन् । आफू कामविशेषले काठमाडौं रहेकोले फर्केपछि थप जानकारी दिने उनले बताए । राष्ट्रिय खेलकुद राष्ट्रकै गौरवका विषय भएकाले रकम विनियोजनमा कुनै कन्ज्युस्याइँ नगर्नेमा उनी विश्वस्त छन् । प्रदेश खेलकुद परिषद्सँग पनि अबको प्रशिक्षणका लागि रकम अभाव रहेकाले केन्द्रमा जानकारी गराइसकिएको उनले जानकारी दिए ।

गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले भदौ १५ मा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संघले नवौंका लागि आवश्यक बजेट नपठाएको गुनासो गरेका थिए । सोही समयमा नै ७ करोड रुपैयाँ माग गरेकोमा ३ करोड रुपैयाँमात्रै आएको उनले जानकारी गराएका थिए ।

नवौं राष्ट्रियका लागि फेन्सिङका लागि पुरुषतर्फ खुसिमान गुरुङ, सुजन गुरुङ, शुक्रराज सुनार, दिनेश बहादुर पाण्डे, विजय अधिकारी, नवराज कार्की, सुनिल थापा, प्रशान्त गुरुङ, दिपेस गुरुङ, नवीन गुरुङ, पवन तामाङ र पुर्ण बहादुर नेपाली छनोट भएका छन् । महिलातर्फ दीपिसा गुरुङ, अस्मिता मगर, सुविना मगर, मीरा पुन, प्रतीक्षा राना, कृपा गुरुङ, वीनिता पुन, सुनमाया मगर, धनमाया गुरुङ, अक्सा गुरुङ, शर्मिला मगर र निश्चल पुनमगर छनोट भए ।
नवौं राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ सम्म हुँदैछ ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…

hero news full width