पोखरामा अन्तर्राष्ट्रिय विशुद्ध साकाहारी महोत्सव हुँदै

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७९
Vegan (2)

पोखरा। आगामी असोज २, ३ र ४ गते पोखरामा हिमालयन भीगन महोत्सव २०७९ आयोजना हुने भएको छ । वल्र्ड भीगन अर्गनाइजेसन नेपालको आयोजना तथा नेपाल भेजिटेरियन सोसाइटी पोखराको सहआयोजनामा महोत्सव हुन लागेको हो । नेपालीमा यसलाई प्रथम वृहत तथा विशुद्ध शाकाहारी अन्तर्राष्ट्रिय महोत्सव नाम दिइएको छ ।

पोखरा ग्रान्डमा हुने महोत्सवमा एक सय भन्दा बढी अन्तर्राष्ट्रिय ख्याती प्राप्त वक्ताहरुले ज्ञान र अनुभव बाँड्ने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । खासमा यो महोत्सव भदौ २८ र २९ गते लुम्बिनी तथा काठमाडौंमा भदौ ३०, ३१ र असोज १ गते आयोजना हुने जनाइएको छ ।

आयोजक संस्थाका कार्यकारी अध्यक्ष विष्णुप्रसाद न्यौपानेका अनुसार महोत्सवमा ७५ भन्दा बढी सूचनामूलक प्रदर्शनी, कलाकारहरुको सहभागिता, भीगन खानाका विक्री कक्ष, भीगन प्रतिस्पर्धा, पाक शिक्षा प्रदर्शनी, चलचित्र प्रदर्शन, अन्तरक्रिया, फिटनेस पार्क, पाँच किलोमिटर म्याराथन दौड र बाल क्रियाकलाप समावेश हुने छन् । पत्रकार सम्मेलनमा बोल्दै न्यौपानेले विश्वमा उत्पन्न महामारीहरुको प्रमुख कारक माशुजन्य पदार्थ भएको दाबी गरे । जंगल विनास र पृथ्वी तात्ने समस्याको जड पनि माछामाशु र पशुजन्य उत्पादन नै कारक भएको दाबी उनले सुनाए । ‘अब हामीले हाम्रो डाइट लिने तरिकामा परिवर्तन गर्नुपर्छ,’ उनले भने, माशुजन्य पदार्थ हानिकारक भनेर बैज्ञानिकहरुले पनि पुष्टि गरिसकेका छन् ।

सो अवसरमा बोल्दै नेपाल भेजिटेरियन सोसाइटी पोखराका अध्यक्ष ऋषिराम सापकोटाले शाकाहारवाद, प्रकृतिवाद र अहिंसावादको मार्ग आफ्नो संस्थाले अंगिकार गर्दै आएको बताउँदै आफूहरु एक हिसावले समाज परिवर्तनका खातिर एन्टिकरेन्ट जस्तो भएर अघि बढेको बताए । मानिसको भोजन शैलीमा विरोधाभास रहेको बताउँदै उनले घाँस खाने हात्ती मानिस भन्दा धेरै बाँच्ने बताए । माछामाशुले महामारी निम्त्याउने गरेको दाबी गर्दै सापकोटाले आफूहरु प्रकृतितर्फ फर्क अभियान लिएर अघि बढेको स्मरण गराए ।

गण्डकी बोर्डिङ स्कूलका शिक्षक लक्ष्मीनारायण ढकालले माशु र दुग्धजन्य पदार्थ सेवनका कारण रक्तनलीमा नचाहिने पदार्थ जम्ने र विभिन्न रोगको कारण बन्ने धाराणा राखे । भीगन भन्नाले माछामाशु र दुग्धजन्य पदार्थ सेवन नगर्ने तथा जनावरजन्य पदार्थबाट बनेका पोशाक र सामग्री उपयोग नगर्ने भन्ने अर्थ पनि कार्यक्रममा सुनाइएको थियो । ताओ एशोसिएशन अफ नेपालले महोत्सवलाई सघाउने बताइएको छ । कार्यक्रमको संचालन महेश पराजुलीले गरेका थिए । यसअघि आनन्द दाहालले परिचयात्मक कार्यक्रम अगाडि बढाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width