पाठकको हातबाट ‘इजोरिया’को लोकार्पण

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७९
ijora

काठमाडौं । लोकप्रिय लेखक सुबिन भट्टराईको नयाँ उपन्यास ‘इजोरिया’ लोकार्पण गरिएको छ । किताब जात्राका अवसरमा काठमाडौंको प्रज्ञा–प्रतिष्ठान, डबलीमा शुक्रबार आयोजित विशेष कार्यक्रममा पाठकका हातबाट ‘इजोरिया’ लोकार्पण गरियो ।

कार्यक्रममा सहभागी दर्शकलाई आआफूले लिएका पुस्तक प्रदर्शन गर्न लगाएर पुस्तक सार्वजनिक गरिएको हो । फरक किसिमले पुस्तक लोकार्पण गर्न यस्तो शैली अपनाइएको प्रकाशक फाइनप्रिन्टले जनाएको छ । कार्यक्रममा लेखक भट्टराईसँग कवियित्री अस्मिता गौतमले अन्तर्संवादसमेत गरिन् । साथै उक्त अवसरमा गायिका समृद्धि राईले साङ्गीतिक प्रस्तुतिसमेत दिएकी थिइन् ।

उपन्यास ‘समर लभ’ र ‘साया’बाट चर्चित लेखक भट्टराईले पछिल्लो समय आफ्नो लेखनमा थप विविधता ल्याइरहेको प्रकाशक फाइनप्रिन्टका अजित बरालले बताए । ‘सुबिनजीका प्रत्येक नयाँ पुस्तक मलाई अघिल्ला पुस्तकभन्दा पृथक् लाग्छन् । ‘इजोरिया’सम्म आइपुग्दा त उनी पूर्ण अर्कै लेखक भएर देखापरेका छन्,’ बरालले भने, ‘यौन हिंसाका घटना बढिरहेको योे समयमा उनको नयाँ उपन्यास एकदम सामयिक लाग्छ । यसले यौन हिंसाबारे बोल्न मानिसलाई उत्प्रेरित पनि गर्छ ।’

सुबिन भट्टराई नेपालका सर्वाधिक बिक्री हुने लेखक हुन् । प्रायः बेस्टसेलिङ पुस्तकका लेखकलाई झैं उनका पुस्तकलाई पनि सस्तो मनोरञ्जन भनेर आलोचना गरिन्छ । तर आफूलाई उनको लेखाइ ‘साहित्यिक लेख्ने’ भनेर चिनिएका लेखकहरूको लेखनभन्दा पनि राम्रो लाग्ने बरालको दाबी छ ।

कार्यक्रममा लेखक भट्टराईले आफ्नो उपन्यास ‘इजोरिया’ बहुआयामिक कथा रहेको बताए । पारिवारका सदस्यबीच देखिएको प्रेम, घृणा र द्वन्द्वलाई आफूले विषयका रूपमा लिएको उनको भनाइ छ । ‘मैले उपन्यासमा मित्रताको सुगन्धलाई समेटेको छु । यहाँ महिलाका पीडा छन् । तिनका सङ्घर्ष पनि छन् । प्रेम र वियोगका झिना रेखा पनि छन्,’ उनले भने ।

भट्टराईले यसअघिका सबै पुस्तक लगभग काठमाडौं केन्द्रित भएर लेखे । उनका पात्र पनि सहरकेन्द्रित नै भए । यस पटक भने उनी कथा टिप्न मधेस पुगेका छन् । ‘यस पटक केही फरक गरौँ, केही फरक भूगोलको कथा रचौँ भन्ने लाग्यो । केही चुनौती आफैँलाई दिएँ । र झरेँ, मधेसतिर, केही फरक विषयको फुर्को समातेर,’ लेखक भट्टराईले भने, ‘फरक गर्ने प्रयत्न गर्दागर्दै पनि मैले मान्छे–मान्छेबीचका सम्बन्धका विभिन्न पक्ष केलाउने कामलाई यहाँ आएर छाडेको छैन । झन् गहिराइमा पसेर गरें भन्ने लागेको छ ।’

कथा जुन भूगोलको भए पनि, जहाँको लेखिए पनि ‘इजोरिया’को कथामा उल्लिखित समस्या एउटै भूगोलको मात्र होइन, यो विश्वभरकै समस्या हो । हामीलाई उपन्यास पढ्दा यहाँका पात्र केवल प्रतिनिधि मात्र हुन् झैं लाग्छ । कथामा भएका पात्रका भावको त कुनै भूगोल र सिमाना नहुँदो रहेछ भन्ने पनि अनुभूति हुन्छ ।

‘त्यसैले आफूले कहिल्यै प्रवेश नगरेको, नबुझेको मिथिलाको परिवेशमाथि लेख्नु चुनौती त थियो नै,’ लेखक भट्टराईले आफ्नो लेखन अनुभव सुनाए, ‘तर त्यहाँ बस्दै जाँदा, विभिन्न साथीभाइ, अग्रज सबैसित सङ्गत हुँदै जाँदा त्यो चुनौती प्रिय र रुचिकर बन्दै गयो । जनकपुर मेरो दोस्रो घर झैँ लाग्न थाल्यो । जनकपुरले पनि मलाई बिछट्टै स्नेह दियो । बारम्बार गइरहन मन लाग्ने बनायो । पुस्तक लेखिइसकियो तर अब पनि वर्षमा एकदुई पटक जान्छु भन्ने प्रतिबद्धता आफैँमा गरेको छु ।’

सुबिन भट्टराईका पाठकलाई थाहै छ— उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । ‘कथाकी पात्र’, ‘समर लभ’, ‘प्रिय सुफी’ हुँदै ‘इजोरिया’सम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध–साहित्य सदाबहार छँदै छ । सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै ‘कम्फर्ट जोन’मा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ ‘जोन’ चुमेर चमत्कृत हुनेछन् ।
इजोरिया मित्रताको कथा हो । इजोरिया महिलाको कथा हो । इजोरिया मधेसको कथा हो । इजोरिया मुक्तिको कथा हो । इजोरिया माया र ममताको कथा हो । इजोरिया मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो ।

Related News

सम्बन्धित समाचार

  • सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । कवि सञ्जीव पौडेलको कवितासंग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । शनिबार पोखरामा आयोजित दौंतरी कार्यक्रममा उक्त कृति…
  • ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा आयोजनामा शनिबार…
  • फेवाताल किनारमा चित्ताकर्षक ओडिसी नृत्य

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०८०
    पोखरा । नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा मनाउन पोखरामा शनिबार साँझ भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य प्रस्तुत गर्दै…
  • कर्मचारी युनियन कास्कीको क्यालेन्डर

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले विसं २०८१ को क्यालेन्डर निकालेको छ । शुक्रबार पोखरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा…
  • जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । पोखराकी जसु गुरुङ १ लाख राशिको रोटरी भोकेसनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् । महिलालाई सामाजिक सेवामा प्रोत्साहित…

hero news full width