पाेखरा विमानस्थल छिटाे सञ्चालन गर्न माग

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७९
HAPN 2

पोखरा।  निर्माण अन्तिम चरणमा पुगेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा संचालनका लागि आवश्यक तयारी तीव्र पार्न सरोकारवालाले जोड दिएका छन् । होटल संघ पोखरा नेपालको ४१ औं वार्षिक साधारणसभा अवसरमा वक्ताले विमानस्थल संचालनमा ल्याउनेक्रममा पहिलो उडान अन्तर्राष्ट्रिय प्रकृतिको नै हुनुपर्ने माग गरे ।

संघ अध्यक्ष लक्ष्मण सुवेदीले विमानस्थलको निर्माण कार्य अनसन नै बसेर सुरुआत गराउनुपरेको स्मरण गर्दै नयाँ विमानस्थललाई घरेलु विमानस्थलका रुपमा अगाडि बढाउने चलखेल हुन सक्ने भन्दै त्यसविरुद्ध प्रदेशवासी एक हुनुपर्ने बताए ।

पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले विमानस्थल संचालनमा ल्याउनुपूर्व गर्नुपर्ने रिठ्ठेपानी डाँडाको कटान र ल्यान्डफिल साइट स्थानान्तरण समयमै हुनुपर्नेमा जोड दिए । उनले डाँडो कटान सक्न ६ महिना लाग्ने कुरासमेत उठेको भन्दै यसले विमानस्थलको संचालनपछि धकेल्न सक्नेतर्फ ध्यानाकर्षण गराए ।

यसअघि पोखरा महानगर प्रमुख धनराज आचार्यले कार्यक्रम उद्घाटन गर्दै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सवालदेखि विमानस्थल संचालनसम्मका कामप्रति आफू सचेत रहेको बताए ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन ः पोखरा र गण्डकी प्रदेशको पर्यटन’ उद्घोषसहित संघले आयोजना गरेको साधारणसभामा हान केन्द्रीय अध्यक्ष सिर्जना राणाले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सवालमा केन्द्रीय हानको पूणर् सहयोग रहने भनाइ राखिन् । अब सरकारको मात्र मुख ताकेर बस्ने अवस्था नभएको भन्दै उनले प्रवद्र्धन लगायतका काममा व्यवसायी आफैं अगाडि बढ्नुपर्ने बेला आएको बताइन् । पर्यटक आगमन दरको अवस्था हेर्दा अहिले पनि नेपालको पर्यटन जटिल अवस्थामा रहेको पुष्टी हुने उनले सुनाइन् । जसअनुसार अहिले डिजिटल र आधुनिक मार्केटिङमा जोड दिनुपर्ने अवस्था आएको बताउँदै उनले कुन प्रकारका पर्यटक हामीले भित्र्याउन खोजेको हो त्यसमा प्रष्ट हुनुपर्ने भनाइ राखिन् । सरकारले पर्यटन क्षेत्रलाई पनि उद्योगको मान्यता दिनुपर्ने माग राख्दै उनले चालू बजेटमा पर्यटनका लागि विगतमा जस्तो राहतका कार्यक्रम नसमेटिनु आश्चर्यलाग्दो भएको बताइन् ।

हानका केन्द्रीय सदस्य एवं होटल संघ पोखरा नेपालका सल्लाहकार भरतराज पराजुलीले पृथ्वी राजमार्गको मुग्लिन पोखरा खण्ड र महेन्द्र राजमार्गको बुटवल नारायणगढ खण्डमा सडकको स्तरोन्नति अति सुस्त गतिमा हुँदा पर्यटनलाई असर परेको बताए ।

होटल संघ नेपाल गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले कोभिडपछि पनि सरकारले चर्को कर असुल्न नछाडेको भन्दै पर्यटन क्षेत्रमा मजदूरका लागि व्यवस्था गरिएको १० प्रतिशत सेवा शुल्क २/३ वर्ष स्थगित गर्न सके कोभिडले थला परेको पर्यटन क्षेत्र अघि बढ्न सहज हुने भनाई राखे । उनले घण्टा प्रणालीको आधारमा मजदुरलाई काम लगाउने व्यवस्था पनि सुरु गर्नुपर्ने वेला आएको बताए । सो अवसरमा संघका महासचिव राजेन्द्र ढकालले संघले १ वर्षमा गरेका र आगामी कार्यक्रमबारे अवगत गराएका थिए ।

वक्ताले कोभिडपछि पर्यटन क्षेत्र विस्तारै लयमा फर्के पनि सरकारले गत वर्षजस्तो राहातका कार्यक्रम नल्याएको गुनासो गरेका थिए । कोभिडका बाबजुद होटल क्षेत्र हतोत्साही नभएको होटल संघ पोखरा नेपालका अध्यक्ष सुवेदीले भनाई राखेका थिए । कोभिडका कारण धेरै मजदूर र व्यवसायी पलायन भएको स्मरण गराउँदै उनले व्यवसायीका समस्या बुझ्ने र सोही अनुसारको कानुन बनाउने सरकार जरुरी भएको भनाइ राखे । नेपाल पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी र होटल संघ पोखरा नेपालका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले पनि कार्यक्रममा भनाइ राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width