पोखरा पर्यटन परिषद् अध्यक्षमा पोमनारायण

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७९
ptc pom

पोखरा । पोखरा पर्यटन परिषद् अध्यक्षमा पोमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको बिहीबार २२ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनमा अध्यक्षका प्रत्यासी रामचन्द्र शर्मालाई दोब्बर मतअन्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । चुनावमा निर्वाचित श्रेष्ठले २८ र शर्माले १४ मत पाएका हुन् । १ मत बदर भयो ।

यसअघि उपाध्यक्ष उनी पोखराका पर्यटन सम्बद्ध संघसंस्थाको छाता संस्था परिषद्को नेतृत्वदायी भूमिकामा पुगेका हुन् । उनी ट्राभल एवं अल्ट्रालाइट व्यवसायी हुन् ।

संस्थामा निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराई, सदस्यमा तारानाथ पहारी, नीमबहादुर मगर, कृष्ण भण्डारी, जीवनराज सापकोटा, कृष्ण काफ्ले, बोबरजंग गुरुङ छन् । संस्थाको शुक्रबार बस्ने पहिलो बैठकले सदस्यमध्येबाट पदाधिकारी चयन गर्ने सदस्यमा निर्वाचित कृष्ण काफ्लेले जानकारी दिए । ३ सदस्य अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ ।

यसअघि, साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीको मुख्य पर्यटकीय हवरुपमा पोखरालाई विकास गरिनुपर्ने बताएका थिए । यही हिसाबले पोखरालाई पर्यटनको राजधानी घोषणाका लागि संघीय सरकारसमक्ष अनुरोध गरिएको विषय पनि उनले स्मरण गराए । ‘मनमनमा पोखरा पर्यटकीय राजधानीका रुपमा स्थापित भएपनि यसलाई कानूनी रुप दिन सरकारीस्तरबाट घोषणाको जरुरी छ,’ उनले भने । जग्गा दर्ताक्रममा रजिष्ट्रेशन शुल्क महँगो भयो भन्ने विषयमा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकार जनचाहनाअनुसार नै अगाडि बढ्ने भन्दै त्यस्तो शुल्क पुनरावलोकनको संकेत गरे ।

प्रदेश सदस्य राजीव पहारीले पोखरामा नयाँ विमानस्थल संचालन पूर्व आबश्यक पूर्वाधारको विकास गरिनुपर्ने भनाइ राखे । उनले पोखरा अब अन्तर्राष्ट्रिय सहरको रुपमा विकास हुन लागेको भन्दै यसलाई यथाशीघ्र पर्यटनको राजधानी घोषणा गरिनुपर्ने बताए । कोभिडका कारण सबैभन्दा प्रताडित पर्यटन क्षेत्र भएको बताउँदै उनले व्यवसायीलाई राहतका कार्यक्रम सरकारले ल्याउनुपर्ने माग पनि गरे । गण्डकी सरकारले ल्याएको पर्यटन ऐन पर्यटनमैत्री हुनुपर्ने भनाइ पनि उनले सो अवसरमा राखे । गण्डकी प्रदेशले हालै लागु गरेको जग्गा रजिष्ट्रेसन शुल्क महँगो भएको भन्दै यसको खारेजीको माग पहारीको थियो ।

परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखेले कोभिडबाट थलिएका व्यवसायीलाई सरकारले विभिन्न नाममा करमाथि कर थोपरेको भन्दै यस्तो कार्यको अन्त्य हुनुपर्ने माग गरे ।

परिषद् उपाध्यक्ष पोमनारायण श्रेष्ठले विभिन्न ९ बुँदे माग प्रस्तुत गर्दै पोखरामा बन्दै गरेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालन र ल्याण्डफिलसाइटको व्यवस्थापनका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । पोखरा पर्यटन बसपार्कलाई पर्यटन व्यवसायीको पक्षमा व्यवस्थापनको जिम्मेवारी दिनुपर्ने, गण्डकी प्रदेशले यसअघि संचालनमा ल्याएको व्यावसायिक जीवनरक्षा कर्जा र कोभिड १९ को संक्रमणपछि व्यवसायीको पक्षमा भएका राहत कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र सम्पूर्ण व्यवसायीले उक्त सुविधा प्राप्त गर्ने वातावरण हुनुपर्ने माग पनि श्रेष्ठले सो अवसरमा राखे ।

यसैगरी कृषिमा जस्तै पर्यटनमा पनि कम्तीमा ५ प्रतिशत गाइडेड लोनको सुनिश्चितता गरी हाल बजारमा देखिएको चर्को ब्याजदरलाई तुरुन्त नियन्त्रण गरी एक डिजिटमा ब्याजलाई झारिनुपर्ने माग पनि उनले राखे । त्यस्तै पर्यटकीय गन्तव्यको संरक्षण र प्रवद्र्धन गरिनुका साथै यस क्षेत्रका परिचित पदमार्गको सम्बद्र्धन, हिमाल आरोहणको बजारीकरण, जलयात्राको सुनिश्चिता लगायत ३ हजारभन्दा माथिका मिडिल हिल रेञ्जको व्यावसायिकीकरण जस्ता विषयमा सरकारको ध्यानाकर्षण पनि श्रेष्ठले गराए ।

पर्यटनलाई उद्योगसरहको मान्यता दिइनुपर्ने भन्दै उनले प्रदेश सरकारले जारी गरेको पर्यटन ऐन व्यवसायीको पक्षमा नभएको बताए । श्रेष्ठले व्यवसायीले दिएका सुझाव ऐनमा समेटिनुपर्ने माग पनि गरे । यसैगरी रात्रिकालीन व्यवसायका लागि सुरक्षाको अनुभूति गराई व्यवसाय संचालन गर्ने वातावरण बनाइनुपर्ने, प्याराग्लाइडिङ तथा अल्ट्रालाइटलाई विस्थापन नभई व्यवस्थापन गरिनुपर्ने माग पनि कार्यक्रममा राखिएको थियो । संस्थाका महासचिव रामचन्द्र शर्माले सो अवसरमा प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालमा भएका काम र चालु आर्थिक वर्षमा सम्पन्न गरिने कामबारे जानकारी गराएका थिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्मालाई पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो । ढोरपाटन राष्ट्रिय दैनिकका समाचार प्रमुख एवं रिपोर्टर्स क्लब कास्कीका अध्यक्ष वासुदेव मिश्रलाई पनि कार्यक्रममा सम्मान प्रदान गरिएको थियो । पत्रकार दीपेन्द्र पहारीद्वारा लिखित एवं परिषद्द्वारा प्रकाशित अंग्रेजी भाषाको पुस्तक ‘हिप्पी टुरिजम’ विमोचन गरियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला, सम्मानित पत्रकार शर्मा लगायतले भनाइ राखेका थिए । परिषद्का अध्यक्ष एवं कार्यक्रमका सभापति गोपीबहादुर भट्टराईले आफ्नो कार्यकाल सफल बनाउन सघाउने सबैप्रति हार्दिक आभार प्रकट गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width