जय गौडेललाई गजल प्रतिभा पुरस्कार

आदर्श समाज सम्वाददाता
भाद्र ६, २०७९
gajal puraskar

पोखरा, ६ भदौ । युवा गजलकार जय गौडेललाई यस वर्षको गजल प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । समाजसेवी लालबहादुर गुरुङद्वारा स्थापित तथा गजल सन्ध्या, पोखराद्वारा सञ्चालित पुरस्कारको राशि १५ हजार ५ सय ५५ सहित सम्मानपत्र छ ।

सन्ध्याका पूर्व अध्यक्ष दीपक समीपको संयोजकत्वमा पूर्व अध्यक्षद्वय रुपिन्द्र प्रभावी र कपिल शर्मा सदस्य तथा अध्यक्ष वसन्त विनोद र सचिव त्रुपक पदेनसदस्य रहेको प्रतिभा छनोट समितिले पुरस्कारको सिफारिस गरेको हो । मोती जयन्ती अवसरमा सन्ध्याले प्रत्येक २ वर्षमा गजल प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ । साथै गजल प्रतिभा सम्मानसमेत प्रत्येक २ वर्षमा प्रदान गर्दछ ।

स्याङ्जाको अर्जुनचौपारीका गजलकार गौडेलको ‘आशाका बयलीहरू’ गजलसङ्ग्रह २०६४ मा प्रकाशित छ । अनाममण्डलीका पूर्व महासचिव गौडेल रचना वाचन युट्युब च्यानलका संयोजक पनि हुन् । शिक्षणसँगै साहित्यिक क्षेत्रमा क्रियाशील उनी गजलकार, गीतकार र कविका रूपमा चर्चित छन् । उनको तरन्नुम शैलीको गजल प्रस्तुतिले पाठक/स्रोता मन्त्रमुग्ध हुने गरेका छन् ।

यसअघि सो पुरस्कारबाट रुपक वनबासी, इन्द्रकुमार विकल्प, गोविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आरके अदिप्त गिरी, कपिल शर्मा, जनार्दन दाहाल, जीवनपानी, बाबु त्रिपाठी र नीरज भट्टराई पुरस्कृत भइसकेका छन् । पुरस्कार अर्पण कार्यक्रमसँगै नेपाली गजलमा मोतीरामको योगदानको चर्चासमेत गरिने सन्ध्याका उपाध्यक्ष सुरज उपाध्यायले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width