इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७९
indra final

हेमजा । इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय, लामाचौरले ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधवार मनाएको छ ।

समारोह उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले स्वरोजगारका लागि सीपमूलक शिक्षाको आवश्यकता औंल्याउँदै नेपालमा संघीय प्रणाली अनुकुलको शिक्षा नीति बनाउनुपर्नेमा जोड दिए । उनले नेपालमा रहेको २ प्रकार (सामुदायिक र संस्थागत) को शिक्षानीति अन्त्य गर्नुपर्ने भन्दै इमानदारीपूर्वक सेवामा लाग्न शिक्षकलाई सुझाव दिए ।

सरकारी नूनपानी खाएका अधिकांश शिक्षक तथा कर्मचारीले छोराछोरी संस्थागत विद्यालयमा पढाएको तर्फ संकेत गर्दै उनले आफैले पढाएको विद्यालय र त्यहाँको शिक्षामा विश्वास गर्न आग्रह गरे। उक्त विद्यालयमा भवन तथा सभाहल निर्माणमा रकम अभाव नहुने आश्वासन दिएका मन्त्री बरालले शैक्षिक प्रर्दशनीको खुलेर प्रशंसा पनि गरे ।

नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्यले १५ प्रतिशत विद्यार्थीमात्रै सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेको तथ्य पेश गर्दै प्राविधिक शिक्षामा जोड दिए । उनले विद्यार्थीले नैतिक पक्ष, सदाचार, योग, साधना, भ्रष्टाचार लगायतबारे विद्यालय तहबाटै ज्ञान हासिल गर्नुपर्ने औंल्याउँदै पठनपाठनको शिलशिलामा पुस्तकालयको महत्वमाथि प्रकाश समेत पारे ।

पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले धोकन्ते शिक्षालाई निरुत्साहित गर्नुपर्ने भन्दै विद्यालयमा संचालित शैक्षिक प्रदर्शनी निरन्तरता दिनुपर्ने बताए । पोखरा १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले विद्यालय भौतिक पूर्वाधार सम्पन्न भएजस्तै अब शैक्षिक गुणस्तरलाई पनि निरन्तर कायम गर्नुपर्ने औंल्याए ।

विद्यार्थीले बनाएका स्मार्ट सिटी, रोवर्ट, भेषभूषा, विद्यालय भवनका विभिन्न नमुना सामग्री प्रदर्शन

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद अधिकारीले बस खरिदसँगै विद्यार्थी संख्यामा बृद्धि भएको उल्लेख गर्दै अब ध्वनि प्रदूषण र सटर व्यवस्थापनमा थप ध्यान दिनुपर्ने बताए ।

प्रधानाध्यापक केशवप्रसाद अम्गाईले सबैको सद्भावबाट विद्यालय संचालन भइरहेको भन्दै करिब एक हजार हाराहारीमा विद्यार्थी पुग्नु उपलब्धि भएको सुनाए । उनले विगतमा सुरु भई बिचमा टुटेको न्यूनतम प्राप्तांक कटौती घोषणा, त्रैमासिक उपलब्धि समीक्षा लगायतका कार्यक्रमलाई निरन्तरता दिने जनाए ।

त्यस अवसरमा शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, नवआदर्श सामुदायिक विकास संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारी, लेखापाल शंकर केसी लगायतले पनि धारणा राखे ।

कार्यक्रमबीच २०७८ तर्फका शैक्षिक पुरस्कार, विभिन्न छात्रवृत्ति वितरण गर्नुका साथै उत्कृष्ट अभिभावक एवं शिक्षक तथा कर्मचारीलाई सम्मान पनि गरियो । त्यस्तै २ दिनसम्म शैक्षिक प्रदर्शनी गर्नुका साथै विद्यार्थी तथा शिक्षकले विभिन्न प्रस्तुति समेत राखे ।

प्रदर्शनीमा कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीले निर्माण गरेका स्मार्ट सिटी, रोवर्ट, भेषभूषा, विद्यालय भवनका विभिन्न नमुना लगायत सामग्री प्रदर्शन गरियो ।

प्रदर्शनीका सहभागी अभिभावक, छिमेकी सामुदायिक तथा संस्थागत विद्यालयका प्रमुख, शिक्षक तथा विद्यार्थी समेतले अवलोकन गरी सकारात्मक पृष्ठपोषण प्रदान गर्दै आगामी दिनमा पनि निरन्तरताको शुभकामना दिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष डिलबहादुर थापाले स्वागत, सहायक प्रअ पूर्णभद्र अधिकारीले धन्यवाद ज्ञापन र शिक्षक सीता पौडेल तिमिल्सिनाले कार्यक्रम संचालन गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width