‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७९
Dabbu

पोखरा । सधैं मुस्काइरहने अग्ला कदका डब्बु क्षत्रीको गीतसंगीतमा उचाइ पनि चुलिंदो छ । आफ्नो थुप्रै विधागत परिचय भए पनि गीत लेखनमा उनको फराकिलो आयाम छ । यतिबेलाको मौसम साउनेझरी हो । झरीका प्रिय हुन्–डब्बु । बहुमुखी प्रतिभाका धनी उनै डब्बुको यहाँ गीतबारे मात्र चर्चा गरिन्छ ।

जतिबेला उनी सिन्धुलीको कमला माध्यमिक विद्यालय भलुवाहीमा पढ्थे । त्यो किशोरवयमा जसरी गीतसंगीतमा आकर्षित भए, अहिले पनि त्यो मोह टुटेको छैन । सिर्जनामा साधना अनवरत् छ । त्यसैले त २ सय बढी गीत लेखिसकेका डब्बुका हालसम्म ७० बढी गीत रेकर्ड छन् । तीमध्ये डेढ दर्जन नेपाली चलचित्रमा उनले रचेका गीतमा नेपालका चर्चित अभिनेत्री अभिनेत्रीको अभिनय एवं नृत्य देख्न सकिन्छ ।

चलचित्रका गीत लेखनबाटै स्थापित डब्बुलाई चिनाउने गीतिसंग्रह झरी, गुलाबी स्वरहरु, पहिलो भेटमै हुन् । प्रिय झरी सिम्बोल बनाएर गीत कोर्नमा पारंगत छन् । सोही कारण पनि उनी नेपाली संगीतवृत्तमा झरी गीतकारका रुपमा लोकप्रिय छन् ।

‘उजाड र निराशलाग्दो वातावरणबीच झरीकै कारण झन्कार उत्पन्न हुन्छ । बोटबिरुवामा प्रजनन्मा सहजता, नयाँ पालुवा पलाउने, खेतीकिसानीलाई हर्ष झरीकै मद्दतले हुन्छ । झरी हरेक प्राणीका लागि प्रजनन् प्रिय मौसम हो । त्यसैले म झरी प्रिय हुँ,’ गीतकार डब्बु भन्छन् ।

खासगरी रातको समयमा गीत लेख्न रुचाउने डब्बुका गीतमा ‘सिमिली’, ‘मेटाफर’ लगायत भेटिन्छ । गायिका निशा देसारको माधुर्य स्वरमा गीतिसंग्रह गुलावी स्वरमा समेटिएको झरीसम्बन्धी गजल ‘दोषी त नजर नै’ का यी हरफ हेरौं :

‘धित मारेरै रुझ्यौ तिमी म पनि रुझिदिएँ
दोषी त झरी नै थियो साह्रै रुचाउनमा
दोष के थियो र मुटुको माया लाउनुमा
दोषी त नजर नै थियो मन पराउनुमा’

हुन त उनी चलचित्र, आधुनिक, पप, गजल, लोक, लोक दोहोरी, राष्ट्रिय भाव जस्ता विविध जनराका गीत सिर्जना गर्छन् । उनका गीतमा मायाप्रेमले भरिएका रोमान्टिकमात्र नभई केही सन्देशमूलक र राष्ट्रिय भावनाले ओतप्रोत हुन्छन् । जुन कुरा यो गीतले पनि प्रस्ट्याउँछ :

‘जस्तै आपत पर्दा पनि अघि बढ्छौं हामी
संकटबाट मिली जुली माथि उठ्छौं हामी
हिमाल पहाड तराई मेची महाकाली
एउटाको भर अर्कालाई हुन्छौं सारा नेपाली
हामी नेपाली, हामी नेपाली, हामी नेपाली…’

२०७२ सालको विनासकारी भूकम्प जाँदा त्यसबेलाको परिस्थिति जोडेर रचना गरिएको यो गीत चर्चित बन्यो । पारस नेपाल र केन्जुमा सुब्बाले गाएको गीतमा १६ जनजातिको मौलिक भेषभूषा र संस्कृति समेटिएको छ ।

कक्षा ९ पढ्दा पहिलो पल्ट लेखेको ‘कोदालो र कोदाली..’ गीत युवामञ्चमा प्रकाशित भएको मीठो सम्झना छ, डब्बुसँग । विद्यालयमा आयोजित विविध प्रतियोगितामा भाग लिने उनमा अनायासै गीतसंगीतको चेत पस्यो । त्यसबेला अहिलेजस्तो सहजै गीत सुन्ने प्रविधि थिएन । मात्र रेडियो नेपालको भरपर्नु पथ्र्यो । एसएलसीपछि उच्च शिक्षाका लागि उनी राजधानी काठमाडौं छिरे । पढाइ, पत्रकारितासँगसँगै मोह गीतमै थियो । कतिसम्म भने स्कुले जीवनमा गीतकार डा. कृष्णहरि बरालको घरमा बस्दा उनी रेडियो नेपालबाट कृष्णहरिकै गीत सुन्न ‘फर्माइस’ पठाउँथे । रेडियोबाट बज्ने सबैजसो गीत कापीमा उतार्थे । कण्ठस्थ गर्थे ।

एकपछि अर्को गर्दै डब्बुले पनि उत्कृष्ट गीत दिन थाले । फिल्म एवं गीतसंगीतमा संगत झाँगिदै गयो । उनका गीत एकैपटक फिल्मका पर्दामा बज्न थाले । थप हौसला मिल्यो । प्रेमयुद्ध, चट्टान, पापीमान्छे, गुण्डाराज, हामी साथीभाइ, सम्झना, अहंकार, जंगली मान्छे, दागबत्ती, हलचल, लभ इन चाइना बोर्डर, लेखान्त, राहदानी, रिफ्युजीलगायत डेढ दर्जन फिल्ममा उनका गीतमा नेपालका स्टार कलाकारले नृत्य तथा अभिनय पस्किसकेका छन् ।

अहिलेसम्म उनलाई प्रज्ञा जोशीले चलचित्र सम्झनामा र निर्देशक उदय सुब्बाले चलचित्र रिफ्युजीका लागि सर्वाधिक पारिश्रमिक दिए । किनकि यी दुबै गीतबाट चलचित्रको पूरा कथा प्रस्तुत गर्न सफल देखिएको थियो ।

क्षत्रीलाई सुरुका दिनमा गीत लेखनमा स्थापित हुन केही संघर्ष गर्नु पर्‍यो । आफ्ना केही गीत सुरुमा अर्काको नाममा रेकर्ड भएपछि उनी दुःखी भए । ‘तिनको नाउँ नलिऔं,’ उनी भन्छन्, ‘आफ्नै चिनेजानेले थाहै नदिई गीत चोरेर रेकर्ड गराउन भ्याएछन् । तर पछि मेरा गीतहरु फिल्ममा हिट नम्बर बनेर आयो ।’

डब्बुले विभिन्न ऋतुका बारेमा पनि त्यत्तिकै गीत लेख्छन् । यसपालिको दसैंतिहारसम्म उनका ५ गीत बजार आउँदैछन् । तीमध्ये केहीको म्युजिक भिडियो छायांकन भइसकेको छ । बाँकी भदौभित्रै टुंगाउने तयारीमा छन् । बालगीत संग्रह ‘स्यालको बिहे’ पाठकसामु ल्याएका छन् । जसमा डेढ दर्जन गीत छन् ।

गीतसंगीत क्षेत्रमा उनको योगदानको कदर गर्दै हालसम्म दर्जनौं संघसंस्थाबाट उनी पुरस्कृत एवं सम्मानित भइसकेका छन् । उनले हालसम्म म्युजिक खबर म्युजिक अवार्ड, सुन्दरादेवी सन्देश म्युजिक अवार्ड, नेपाल म्युजिक एन्ड फेसन अवार्ड, क्वालिटी इन्टरटेनमेन्ट अवार्ड, स्पर्श म्युजिक अवार्ड, विन्ध्यवासिनी म्युजिक अवार्ड, नेपाल समावेसी म्युजिक (निम) अवार्डलगायत थुप्रै अवार्ड पुरस्कार प्राप्त गरेका छन् । उनले धेरैजसो अवार्ड गजल र लोक भाकाका गीतबाट जितेका छन् ।

डब्बुका गीतमा नेपालका चर्चित गायकगायिकाले स्वरको झन्कार छ । दिवंगत गायक प्रेमध्वज प्रधान, कुमार कान्छादेखि बलिउडमा स्थापित उदितनारायण झा, दीपनारायण झा, नेपालका चर्चित गायक गायिका यम बराल, राजेशपायल राई, अन्जु पन्त, प्रमोद खरेल, दीपक लिम्बु, निशा देसार, अन्जना गुरुङ, बिन्दु परियार, सरिता भारतीहुँदै पछिल्लो पुस्ताकी बेनिशा पौडेलसम्मले गायन पस्केका छन् ।

यस्तै, शम्भुजित बास्कोटा, वसन्त सापकोटा, चेतन सापकोटा, जुगल डंगोल, सुरेश अधिकारी, महेश खड्का, दीपक शर्मादेखि राजेन्द्र बजगाईसम्मले संगीत भरेका छन् । गायनको क्रममा १० वर्षसम्म ब्रेक बसेका प्रेमध्वजले डब्बुकोे ‘ती आँखामा…’ गीत गाएर कमब्याक गरेका थिए । त्यसपछि प्रेमध्वजले ४ वर्षमा एक दर्जनभन्दा बढी गीत गाए र गत वर्ष धर्ती छोडे ।

क्षत्रीका झरी, गुलावी स्वरहरु, पहिलो भेटमै गीति संग्रह हुन् । डब्बुका सिंगल ट्रयाकका गीत दर्जन छन् । फुटकर रेकर्ड भएका गीत पनि त्यत्तिकै छन् । गीतबाट एउटा उचाई बनाइसकेका उनी यो पेसाबाट नेपाली संगीत क्षेत्रमा स्थापित छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width