शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७९
bidhya

पोखरा, ३१ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा लगानी अनुरुप प्रतिफल हासिल गर्न नसकिरहेको अवस्थामा विन्ध्यवासिनी स्कुलले सफलता हात पारेकोमा खुसी व्यक्त गरेकी छन् ।
मंगलबार पोखरा–१६, बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोह समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् ।

उनले भनिन्, ‘सार्वजनिक शिक्षाको क्षेत्रमा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन नसकेको गुनासो भए पनि विन्ध्यवासिनी लगायत केही विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोमा खुसी व्यक्त गर्दछु ।’

उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न अभिभावक, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थी सबैको सामूहिक प्रयासको खाँचो समेत औंल्याइन् । अझ विद्यालय व्यवस्थापन समिति, अभिभावक र प्रधानाध्यापक चनाखो भएर क्रियाशील हुन सकेमात्र गुणस्तर वृद्धि गर्न सकिने उनको सुझाव थियो ।

उनले राष्ट्रको समृद्धि र विकासका लागि अवश्यक श्रोत साधन पहिचान गर्दै त्यसको उपयोग गर्न आवश्यक व्यवस्थापकीय क्षमता विकास गर्नु नै शिक्षाको मुल उद्देश्य हो भनिन् । उनले प्राकृतिक श्रोत र सांस्कृतिक सम्पदामा आधारित उद्यमशीलता प्रवद्र्धनका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा शैक्षिक गतिविधि उन्मुख हुनुपर्ने बताइन् । राष्ट्रपति भण्डारीले २१ औं शताब्दीको आवश्यकता अनुरुप विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा प्राविधिक शिक्षाको महत्वलाई आत्मसाथ गर्नुपर्नेमा समेत जोड दिइन् ।

अत्यन्तै कडा सुरक्षा व्यवस्थाबीच बिहान साढे ११ बजे समारोहस्थल आएकी राष्ट्रपति भण्डारी करिब साढे २ घण्टा बसेकी थिइन् । उनले नागरिकता विधेयक फिर्ता सम्बन्धमा कुनै अभिव्यक्ति दिइनन् । यसैबीच, उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा विद्यालयको नवनिर्मित ३२ कोठे भवनको उद्घाटन समेत गरेकी छन् ।

समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले विद्यालयको प्रगतिबारे बोलेका थिए ।

आजभन्दा ७५ वर्षपहिले स्थापना भएको विन्ध्यवासिनी विद्यालयमा हाल १ हजार २ सय ८८ जना विद्यार्थी अध्ययनरत् छन् । विद्यालयमा शिक्षक कर्मचारी गरेर ८२ जना कार्यरत रहेको प्रअ कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

विन्ध्यवासिनी विद्यालय कार्यसम्पादन मूल्यांकनमा नेपालमै उत्कृष्ट ५ भित्र पर्न सफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको देशका ६२ जिल्लाका विद्यालयको मूल्यांकनमा विन्ध्यवासिनी नेपालमै उत्कृष्ट ५ अर्थात् गण्डकी प्रदेशमै एकमात्र उत्कृष्ट विद्यालय हो । देशभरका ६२ जिल्लाका सामुदायिक मावि तहका ५ हजार १ सय ४३ विद्यालयलाई मूल्यांकनमा समावेश गरिएको केन्द्रका महानिर्देशक शिवकुमार देवकोटाले बताए । विद्यालयमा कक्षा १ देखि १२ सम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । साथै ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय छन् ।

यसैबीच, राष्ट्रपति भण्डारी तमु धिं नेपालले आयोजना गरेको तमुहरुको पर्व ट्होटेंमा सरिक भएकी छन् । सोमबार पोखरा आएकी राष्ट्रपति भण्डारीले सोही दिन अन्नपूर्ण केवलकार चढ्नुका साथै मंगलबार बिहान विन्ध्यवासिनी मन्दिरको दर्शन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width