सगरमाथामा विद्यार्थी स्वागत एवं सम्मान

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७९
Sagarmatha~main

पोखरा । सगरमाथा सेकेण्डरी स्कुल, नयाँबजारमा नवआगन्तुक विद्यार्थीको स्वागतमा २३ औं वार्षिक स्वागत कार्यक्रम आयोजना गरिएको छ ।

एसइई उत्तीर्ण भई उक्त विद्यालयको कक्षा ११ मा भर्ना हुने भएका विद्यार्थीका लागि कक्षा १२ का विद्यार्थीले सो स्वागत कार्यक्रम आयोजना गरेका हुन् । नेपालका १० उत्कृष्ट विद्यालयभित्र पर्ने सगरमाथामा सन् २००० देखि विज्ञान र सन् २००२ देखि व्यवस्थापन संकायअन्तर्गत पठनपाठन हुँदै आएको छ ।

कार्यक्रममा नाचगान, सम्मान र शुभकामनाका कार्यक्रमहरु समावेश थिए । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले समारोह उद्घाटन गर्दै समयको सदुपयोग गर्दै कडा मेहनतसाथ पढाइ अगाडि बढाउन विद्यार्थीलाई सुझाव दिए । बाबुआमा र गुरुहरुको सम्मान गर्दै अनुशासित भएर जीवन अगाडि बढाउन पनि सो अवसरमा कुलपति गुरुङले विद्यार्थीसँग आग्रह गरे ।

इन्जिनियरिङतर्फको प्रवेश परीक्षामा गण्डकीमा प्रथम र नेपालभरमा २० औं स्थान हासिल गर्न सफल शिशिर भण्डारी र एमबिबिएस प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने भुवन बास्तोलालाई कार्यक्रममा सम्मान गरिएको थियो । यसैगरी विभिन्न शैक्षिक सत्रमा विभिन्न संकायतर्पm उत्कृष्ट अंक प्राप्त गरी सो विद्यालयबाट दश जोड दुई उत्तीर्ण एवं अन्य विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

रोशन तिवारी, अनिशा पौडेल, शिशिर भण्डारी, दीपेन आलेमगर, कृष्ण पाण्डे र क्षितिज कार्की सम्मानित भएका हुन् ।

पोखरा विश्वविद्यालयका कुलपति प्राडा गुरुङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद त्रिपाठी, प्राचार्य धनबहादुर थापा लगायतले विद्यार्थीलाई सम्मान गर्दै सफलताको कामना गरेका थिए ।

सगरमाथा निकेतन स्कुलका प्राचार्य एवं जीव विज्ञान शिक्षक दिलीप शर्मा र कक्षा १२ का तर्फबाट आयुशा दाहालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सम्मानित व्यक्तित्व भण्डारी र बास्तोला, व्यवस्थापनतर्फ प्रवेश परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने आयुष्मा अधिकारी, कक्षा १२ विज्ञानतर्फका विनम्र कोइराला, कक्षा १२ कै तर्फबाट स्पन्दन गिरी र मदिना पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width