ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७९
tonte safai

पोखरा । पोखराका गुरुङ समुदायले यसपालिको सांस्कृतिक ट्होटें पर्व राष्ट्रपति विद्यादेवी भण्डारीको साथमा मनाउने भएको छ । यो पर्व तमुहरुको ऐतिहासिक एवं परम्परागत सांस्कृतिक पर्व हो ।

हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार उनीहरुले विभिन्न कार्यक्रम गरी पर्व मनाउँदै आएका छन् ।

तमुहरुको छाता संस्था तमु धिं नेपालद्वारा साउनको तेस्रो मंगलबार चिप्लेढुंगा मानवअधिकारचोकमा तमु समाज एवं विभिन्न संघ संस्थाहरु मौलिक भेषभुषा, बाजागाजा, झाँकी, सांस्कृतिक प्रस्तुतिसहित ट्होटें र्‍याली सुरु हुने भएको छ ।

र्‍याली चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार हुँदै तमु धिं नेपाल परिसर नयाँबजारमा पुगेर विशेष समारोहमा परिणत हुने संस्थाका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए । यसपालि तमु धिं नेपालमा राष्ट्र प्रमुख राष्ट्रपतिको आगमन हुने महत्वपूर्ण कार्यक्रमका लागि तमु धिं विशेष तयारीमा जुटेको उनले बताए ।

कार्यक्रममा तमु समुदायका मौलिक सांस्कृतिक प्रस्तुति, जननिर्वाचित जनप्रतिनिधिको सम्मानका साथै ट्होटे र्‍यालीमा उत्कृष्टलाई पुरस्कृत गरिने छ । जसमा प्रथमलाई ३० हजार, दोस्रोलाई २० हजार, तेस्रोलाई १५ हजारसहित ट्रफी प्रदान गरिनेछ । सान्त्वनालाई १० हजार साथमा ट्रफी र एवं ४ वटा समाज समूहलाई ५/५ हजारसहित पुरस्कृत गरिने भएको छ ।

यसैबीच, चारभञ्ज्याङ तमु समाज पोखराले तमु धिं नेपालको परिसरमा सरसफाइ गरेको तमु धिं नेपालका प्रचार विभाग प्रमुख सुरेन्द्र गुरुङले बताए । चारभञ्ज्याङ तमु समाज पोखराका अध्यक्ष गणेशबहादुर गुरुङको नेतृत्वमा सो कार्यक्रम भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width