पर्यटकीय घान्द्रुक वृत्तचित्रमा

आदर्श समाज सम्वाददाता
श्रावण २९, २०७९
Documentry

पोखरा । लामा अमृत फाउण्डेसन घान्द्रुकले निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र पोखरामा प्रदर्शन भएको छ ।

ब्रेजमेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र शनिबार भमरकोट पार्टी प्यालेसमा विशेष प्रदर्शन गरिएको हो ।

प्रदर्शन उद्घाटन गर्दै गण्डकी प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विश्वका पर्यटकको पहिलो रोजाइमा घान्द्रुक पर्ने बताउँदै पछिल्लो समय घान्द्रुकको परिचय फराकिलो भएको बताए । ‘यस गाउँको पर्यटकीय महत्व र साँस्कृतिक महत्व लगायत विभिन्न महत्वहरु जुन छ हामीले वर्णन गरिरहन पर्दैन, उनले भने, ‘त्यो सबै यो वृत्तचित्रमा समेतिएको छ । त्यसैले पनि घान्दु्रक साँच्चिकैको पर्यटकीय गुरुङ गाउँको रुपमा लोकप्रिय बनेको छ ।’ उनले घान्द्रुकको लोकप्रियतालाई अझ उक्त वृत्तचित्रले थप प्रष्ट्याएको उल्लेख गरे ।

उनले आफू पहिलोपटक २०३६ सालमा घान्द्रुक पुगको स्मरण गर्दै अहिलेसम्मको विकासको बारेमा बुझ्न वृत्तचित्र हेर्न आएको बताए ।

वृत्तचित्र निर्माता लामा अमृत फाउण्डेसन घान्द्रुकका संस्थापक अमृत गुरुङले वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत रहेको बताए ।

वृत्तचित्रमा पर्यटकीय क्षेत्र घान्द्रुक गाउँ तथा आसपासको प्राकृतिक सौन्दर्यता, तमु समुदायसँग सम्बन्धित संस्कृति, भाषा, कला, धर्म तथा संस्कृतिलाई चित्रण गरिएको छ । साथै सो क्षेत्रका बासिन्दाको दैनिकीको बारेमा समेत समावेश गरिएको छ ।

घान्द्रुक गाउँमै पहिलो पटक प्रदर्शन गरी औपचारिक सुरुवात गरेको वृत्तचित्रलाई पोखरासँगै देशका अन्य मुख्य सहर काठमाडौं तथा चितवन लगायतका स्थानमा प्रर्दशन गर्ने तयारी रहेको फाउण्डेसनका संस्थापक लामा गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width