निर्वाचनका लागि ४० दल दर्ता

आदर्श समाज सम्वाददाता
श्रावण २९, २०७९
election comission

पोखरा । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हालसम्म ४० राजनीतिक दलले दल दर्ता गराएका छन् ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिनका लागि यही साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको छ ।

राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ । सार्वजनिक बिदाका दिन पनि आयोगको कार्यालय खुला रहने र निर्वाचनसँग सम्बन्धित काम नियमितरुपमा सम्पादन हुने जनाइएको छ । साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन आयोगमा दल दर्ता गर्नुपर्छ । सार्वजनिक बिदाको दिन शनिबार पनि दल दर्ता गर्ने क्रम चलेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मंसिर ४ मा देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुने भएपछि दलहरुलाई चुनावी सरगर्मीले छोएको छ ।

यसैबीच, मंसिर ३ सम्म १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने भएका छन् । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्ने बताए । आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएका मतदातालाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गरेको थियो । त्यसअघिका निर्वाचनमा निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिंदै आएको थियो । आसन्न निर्वाचनमा करिब एक लाख त्यस्ता मतदाताले मतदान गर्न पाउने आयोगको अनुमान छ । निर्वाचनको मिति घोषणा भएको दिनदेखि मतदानको दिनसम्म १८ वर्ष पूरा हुने व्यक्तिले मतदान गर्न नपाउने व्यवस्था थियो ।

गत वैशाख २९ सम्म ८७ लाख ४१ हजार ५ सय ३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १ सय ८३ अन्य गरी १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता १८ वर्ष पूरा भएका आयोगले जनाएको छ । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएपछि आयोगले गत असार १ देखि मतदाता नामावली संकलन सुरु गरेको थियो ।

सरकारले साउन १९ गते आगामी मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको थियो । निर्वाचनको मिति घोषणा भएसँगै आयोगले साउन २० गतेदेखि मतदाता नामावली संकलन काम स्थगन गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width