कोरोनापछि गाईजात्रा रौनक

रासस
श्रावण २८, २०७९
gaijatra 2

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विगत २ वर्ष औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व शुक्रबार भव्यरूपमा मनाइएको छ ।

भक्तपुरमा परालबाट बनेको ताहमचा र त्यससँगै भैरव नाचसमेत प्रदर्शन गरेसँगै गाईजात्रा समापन भएको हो । भक्तपुरको तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको ताहमचा, यसपछि सोही टोलभित्रभरिबाट निकालिएको अन्य ताहमचा र सबैभन्दा पछि नकिङजु अजिमाको तमाचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरबार स्क्वायर चोकमा तीनपटक परिक्रमा गरेपछि जात्रा समापन गरिएको हो ।

धार्मिक एवं ऐतिहासिक महत्व बोकेको गाईजात्राको प्रमुख आकर्षण एवं भक्तपुरमा मात्र नाचिने घिन्ताङघिसी नाच प्रदर्शनले गाईजात्राको रौनक थपिएको हो । घिन्ताङघिसी नाच जोडीजोडी बनेर लाठी जुधाएर नाच्ने गरिन्छ । आकर्षक नाचका रूपमा लिइने धार्मिक एवं ऐतिहासिक महत्व बोकेको घिन्ताङघिसी नाच गाईजात्राको दिन टोलटोलबाट निकालिएको हो । उपत्यकामा मनाइने गाईजात्रामध्ये भक्तपुरको जात्रा पृथक मनोरञ्जनात्मक एवं व्यंग्यात्मक हुने हुँदा यो जात्रा हेर्न टाढाटाढाबाट लाखौें संख्यामा मानिसहरु आएका थिए ।

भक्तपुर नेवार समुदायमा मृत्यु भएकाहरूको मृतात्माहरूको प्रतीक ताहामचा बनाई भक्तपुर नगर परिक्रममा गर्ने गरिन्छ । गाईजात्राका दिन वर्ष दिनभित्र मरेकामध्ये मृत्युसंस्कार गर्न नपर्ने अथवा उमेर नपुगेका बालबालिकाको साँचा बनाई देश परिक्रमा गर्ने संस्कृतकर्मी रामशेखर श्रेष्ठले बताए । उमेर पुगेका ठूला व्यक्तिहरूको मृत्युमा १५ हात लामो बाँसको ताहमचा बनाई नगर परिक्रमा गर्ने परम्परा छ । १ वर्षभित्र मरेका आफन्तको दिवंगत आत्माले मोक्ष प्राप्त गरून् भनी प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाका दिनदेखि कृष्ण जन्माष्टमीसम्म सात दिन मनाइने गाईजात्राको पहिलो दिन समापन भए पनि ७ दिनसम्म साँझ भक्तपुरमा मनाउने गरिन्छ ।

पञ्चायती व्यवस्थाप्रति व्यंग्य गरेको भन्दै ०१७ पुस १ गतेको शाही ‘कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । संस्कृतिविद् सत्यमोहन जोशी विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यंग्यसहित गाईजात्रा फेरि मनाउन थालेको सुनाउँछन् ।

हास्यव्यंग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उनको भनाइ छ । जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धान, चामलको नमूना र काठमाडौंको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगति उजागर गरिन्छ ।

गाईजात्राको दोस्रो दिन भने राजधानीका विभिन्न स्थानमा रोपाइँजात्रा मनाइन्छ । यस वर्ष तिथिको घटबढका कारण रक्षाबन्धन र गाईजात्रा पर्व एकैदिन परेको हो । यस्तै, श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व शुक्रबार स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width