एमालेको विरोध प्रदर्शन

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७९
cpn uml

पोखरा । महँगी, भ्रष्टाचार र राष्ट्रघातको विरुद्ध नेकपा (एमाले) गलकोटले विरोध प्रदर्शन गरेको छ ।

एमाले संयुक्त जनसंगठन समन्वय समिति आयोजनामा ‘अति बढ्यो महँगी र भ्रष्टाचार, जनताको होइन माफियाको सरकार’ मूलनाराका साथ गलकोट नगरपालिकाको केन्द्र हटिया बजारमा विरोध प्रदर्शन गरेको हो ।

विरोधमा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य बाबुराम नेपालीले पाँचदलीय गठबन्धनले आफ्नो शक्ति र सत्ता जोगाइरहन नेपाली जनताको रगत र पसिनामा खेलिरहेको आरोप लगाए । अहिलेको गठबन्धन भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद र यूरोपियन युनियनको टपरी चाटेर देश बेच्ने कुचेष्टामा लागेको र देशको सार्वभौम र स्वाभिमान माथि आँच पुर्‍याइरहेको उल्लेख गरे । नेता नेपालीले देशलाई टुक्रा–टुक्रा पारी छिन्नभिन्न पारेर नेपाली जनतामाथि आहाल खेलिरहेको भन्दै दलाललाई अब खबरदारी गरिरहने र देश जोगाउनको लागि राष्ट्रभक्ति र देशभक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

एमाले गण्डकी प्रदेश समिति सदस्य मञ्जु शर्मा चालिसेले सत्तामा बसेर बाँडीचुँडी खान र नातापातालाई पोस्न सेटिङ मार्फत सत्ता गठबन्धन बनेको बताइन् । सपना नदेखी र सपना नदेखाई देश नबन्ने भन्दै महँगी, भ्रष्टाचार र बेथिति र राष्ट्रघातका विरुद्ध नेकपा एमाले सडकमा उत्रेको उल्लेख गरिन् । गलकोट नगरको स्थानीय न्यायपालिका, न्यायिक समितिमा पुरुषवाद हावी रहेको महिलालाई पाखा लगाउने काममा गठबन्धन सरकार तल्लीन रहेको आरोप लगाइन् ।
एमाले गण्डकी प्रदेश सदस्य तिलक उप्रेतीले दक्षिणपन्थी र वामपन्थी शक्ति छुट्टाउनुपर्ने बेला आएको बताएका छन् । उनले राजनीतिक बाटो प्रष्ट हुनुपर्ने बताउँदै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी गठबन्धन नाममा कांग्रेसको लहैलहैमा लागेर अध्याँरो सुरुङ भित्र हाम फालिरहेको बताए ।

एमालेले महँगी, भ्रष्टाचार र राष्ट्रघातको विरुद्ध नारा र जुलुससहित हटिया बजार परिक्रमा गरी जिपपार्कमा आएर कोणसभा गरेको हो । कार्यक्रम एमाले जिल्ला सहसचिव डम्मरबहादुर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width