रत्न मन्दिर र हिमागृह खोल्न माग

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७९
hima griha

पोखरा । फेवाताल किनारको आकर्षण केन्द्र रत्न मन्दिर र हिमागृह पोखराका गहना हुन् । विगतमा पूर्व राजपरिवारका नाउँमा रहेका यी दुवै दरबार हाल नेपाल ट्रष्टको नाममा छन् । गणतन्त्र भित्रिएको झण्डै २ दशक भइसक्दासमेत सर्वसाधारणको पहुँचबाहिर भएकाले यी आकर्षणका केन्द्र कस्तो होला ? कहिले हेर्न पाइएला ? भन्ने खुल्दुली सबैमा छ ।

बेलाबेलामा पोखरा भ्रमण गर्ने दलका शीर्षनेता एवं पर्यटनसम्बद्ध उच्च तहका अधिकारीले पोखराको पर्यटन विकासमा समेत टेवा पुग्ने भएकोले प्रवेश अनुमति दिनुपर्ने आश्वासन दिएर फर्किने गरे पनि खुलेका हैनन् ।

यसैक्रममा पर्यटन व्यवसायी संगठन नेपालले संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई भेटेर रत्न मन्दिर र हिमागृह खुलाउन माग गरेको छ । पोखरा भ्रमणमा आएका बखत पर्यटन मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै संगठनका गण्डकी प्रदेश अध्यक्ष गणेशराज पहारीले यी दुई दरबार सर्वसाधारणका लागि खुला गरी उद्यान एवं संग्रहालयका रुपमा रुपान्तरण गर्नुपर्नेमा माग गरे ।

पोखरालाई तत्काल पर्यटनको राजधानी घोषणा गर्नुपर्ने तथा पर्यटनलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग घोषणा गरिनुपर्ने माग संगठनको छ । स्तरोन्नति भइरहेका पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको निर्माण छिटो सक्नुपर्ने, चाउथेस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म बाइपास रोड बनाउनुपर्ने, साहसिक हवाई खेल प्याराग्लाइडिङ र अल्ट्रालाइट व्यवसायको दिगो व्यवस्थापन एवं भविष्य सुनिश्चितको माग समेत गरिएको छ ।

प्रदेश सांसद राजीव पहारीले हरेक भाषणमा जसो रत्नमन्दिर र हिमागृह खुलाउनुपर्ने माग गर्छन् । उनी रत्नमन्दिर आडको खुलाचौरमा कुनै कार्यक्रम गर्दा ट्रष्टसँग स्वीकृति लिनुपर्ने कस्तो संघीयता हो ? भन्छन् ।

प्यागोडा शैलीमा निर्मित हिमागह दरबारको भित्री संरचना ढुंगामा कुँदिएका आकर्षक कलाले सज्जित छ । पूर्व राजा महेन्द्रले तालपारीको रानीवनको संरक्षण समेतको लक्ष्य राखी २०१३ सालमा जग्गा किनेर ३ वर्षपछि रानी रत्नराज्यलक्ष्मीको नाममा दरबार निर्माण गरेका थिए ।

त्यस्तै, रत्नमन्दिरसँग जोडिएको हिमागृह २०३२ सालमा निर्माण गरिएको हो । करिब १० रोपनी क्षेत्रफलमा फैलिएको हिमागृहमा ऐतिहासिक बस्तुहरु रहेका छन् । राजपरिवार विगतमा वर्षमा १ महिनासम्म यही आएर बस्ने गर्दथे ।

ती दुवै नेपाल ट्रष्ट ऐन बमोजिम, नेपाल ट्रष्टको कार्यालयको नाममा सोही कार्यालयले रेखदेख तथा व्यवस्थापन गरिरहेको छ । हाल ट्रष्टको कार्यालयमा १३ जनाको दरबन्दी छ । नेपाल ट्रष्टको नाममा पोखरा क्षेत्रमा हाल १ सय ७४ रोपनी जग्गा छ । रत्न मन्दिरले भने १ सय ११ रोपनी क्षेत्रफल ओगटेको छ । यसभित्र नेपाली सेनाको भगवती दल गण रहेको छ । नेपाल ट्रष्ट अध्यक्ष हाल संघीय सरकारका रक्षामन्त्री रहने व्यवस्था छ ।

Related News

सम्बन्धित समाचार

hero news full width