विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७९
tousim minister

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री जीवनराम श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा संचालन हुने दाबी गरेका छन् । विमानस्थल आगामी अंग्रेजी नयाँ वर्षकै दिन संचालन गर्ने तयारीमा संशय कायम रहँदा मन्त्री श्रेष्ठले पोखरामा बुधबार पत्रकार भेटघाटमा सो दाबी गरेका हुन् ।

नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ९८ प्रतिशत निर्माण पूरा भइसकेको विमानस्थलको आगामी सन् २०१३ जनवरी १ देखि संचालनमा ल्याउने केही दिनअघि निर्णय गरेको थियो । साथै विमानस्थल चीन सरकारका विदेश मन्त्री वाङ यीले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चाबी दिएर केही महिनाअघि सांकेतिकरुपमा विमानस्थल हस्तान्तरण गरिसकेका छन् । तर विमानस्थल संचालन पूर्व रिठ्ठेपानी डाँडा कटान र ल्यान्डफिल साइट स्थानान्तरण गर्नु अनिवार्य हुन्छ ।

समाजवादी प्रेस संगठनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पर्यटन मन्त्री श्रेष्ठले रिठ्ठेपानी डाँडा कटानलाई तत्काल अघि बढाउने निर्णय भएको र ल्यान्डफिल साइट व्यवस्थापनमा पोखरा महानगरले प्रतिवद्धता जनाएको बताए । उनले भने, ‘डाँडा कटानका लागि यथाशीघ्र प्रक्रिया अगाडि बढाउने निर्णय भइसकेको छ । रुख कटानको काम पनि भइरहेको छ । पोखरा महानगर प्रमुखले एयरपोर्ट सञ्चालनको लागि समयमा नै फोहोरमैला व्यवस्थापनको कामलाई अगाडि बढाउँछु भन्नुभएको छ ।’

चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा करिब निर्माण पूरा भएको यो विमानस्थलमा क्यालिब्रेसन फ्लाइट आगामी असोज–कात्तिकमा हुने तयारी छ । मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय उडानका लागि एयर रुट मिलाउने, अन्तर्राष्ट्रिय एयरलायन्स कम्पनीसँग समन्वय गर्ने कुरा सँगसँगै अघि बढ्ने जानकारी दिए ।

यसैबीच, पोखराको ब्रान्डरुपमा परिचित यहाँको साहसिक प्याराग्लाइडिङ विमानस्थल संचालनपछि पनि सकेसम्म जोगाउन प्रयत्न गरिने मन्त्री श्रेष्ठले आश्वासन दिए । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हालको प्याराग्लाइडिङ विस्थापित हुनुपर्ने चिन्ताले यहाँका पर्यटन व्यवसायी चिन्तित छन् । मन्त्री श्रेष्ठले भने, ‘विमानको सुरक्षामा कुनै सम्झौता गर्नु हुँदैन । सुरक्षामा असर नपर्ने गरी प्याराग्लाइडिङ व्यवसाय कुनै उपाय हुँदासम्म कायम गर्नुपर्दछ भनेर लागिपरेका छौं ।’ नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि हालको विमानस्थलबारे के गर्ने भन्ने कुनै निर्णय नभएको उनले स्पष्ट पारे । तर सञ्चालनमा नभएका एयरपोर्टलाई वैकल्पिक व्यवस्थापन गर्ने, पर्यटनमा आधारित साहसिक खेलको रुपमा र पर्यटनमा आधारित रहेर विकास गर्ने नीतिगत निर्णय भने गरेको उनको भनाइ छ ।

यसैबीच, सातै प्रदेशमा १ वर्षभित्र नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज स्थापना गर्ने सरकारको योजना रहेको मन्त्री श्रेष्ठले बताए । सुरुआतमा गण्डकी, लुम्बिनी र मधेश प्रदेशमा सो कलेज स्थापनाको योजना रहेको उनले सुनाए ।

विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले विमानस्थलको ९८ प्रतिशतका काम पूरा भएको जानकारी दिए । अब यहाँ रिठ्ठेपानी डाँडा कटान, ल्यान्डफिल साइट स्थानान्तरणसागै आर्मी ब्यारेक, आयल निगम डिपो निर्माण पनि हुन बाँकी छ । आयोजना प्रमुख मुनंकर्मीले पुस १७ अगावै विमानस्थलभित्रका आवश्यक सम्पूर्ण भौतिक संरचनाको काम पूरा हुने बताउँछन् । तर पोखरा महानगर पटक–पटक ल्यान्डफिल स्थानान्तरणमा तयारीमा रहे पनि ठोस निर्णय गर्न सकेको छैन । विमानस्थलभन्दा करिब २ किलोमिटर नजिकको ल्यान्डफिल साइटमा पोखराको दैनिक २ सय टन फोहोर पुग्ने गरेको छ । ल्यान्डफिलका कारण चराको बढी आवातजावतमा विमान चरासँग ठोक्किई सम्भावित दुर्घटना हुने भएकोले यो बाधक बन्न पुगेको हो । सन् २०१७ मा निर्माण सुरु भएको विमानस्थल कोरोनाका कारण समयसीमा पछि धकेलिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width