किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७९
Ram Bahadur Mochi

रामबहादुर मोची, अध्यक्ष, एन प्याब्सन, गण्डकी

रामबहादुर मोची राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) गण्डकीका अध्यक्ष हुन् । यसअघि उनी दुई कार्यकाल उक्त संगठनको कास्की जिल्ला अध्यक्ष भएर काम गरे । मोची पोखरा १४ मा अवस्थित कास्की मोडनाइज्ड एकेडेमीका प्राचार्य एवं सञ्चालक पनि हुन् । विपी मार्ग, चाउथेको २० रोपनी परिसरमा पाँच तारे होटल जस्तो देखिने विशाल संरचना बनाएर सबैलाई चकित पारेका उनी गुणस्तरको हिसाबले समेत आफ्नो विद्यालय उत्तिकै अब्बल रहेको बताउँछन् । २०५५ सालमा पोखराको शिवचोकमा स्थापित विद्यालय २०७० सालमा चाउथे स्थानान्तरण भएको हो । नर्सरीदेखि १२ कक्षासम्म पढाइ हुने विद्यालयमा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकाय सञ्चालन गरिएको छ । अहिले यहाँ दुई हजार विद्यार्थी, १ सय २० शिक्षक र कर्मचारी तथा ४५ ननटिचिङ स्टाफ छन् । अमरसिंह माविका २०४२ सालका एसएलसी टपर पनि हुन्, मोची । घर, परिवार, शिक्षक र नातागोता उनलाई डाक्टर बनाउन चाहन्थे तर उनको बाटो शैक्षिक क्षेत्रतिर मोडियो । भन्छन्, ‘म अलि विद्रोहीजस्तो भएँ, मलाई शिक्षामा नै बढी रुचि लाग्यो ।’ अंग्रेजी साहित्यमा स्नातकोत्तर पूरा गरेका उनले पाँच वर्ष पिएन क्याम्पसमा प्राध्यापन पनि गरे । उनताका पोखरामा एसएलसी होस्टेल खोलेर उनले गरेको नौलो प्रयोग निकै सफल भयो । टिमवर्कमा विश्वास गर्ने मोची आफ्नो विद्यालयको सफलतालाई टिमकै देन हो भन्छन् । संस्थागत विद्यालय सञ्चालनको क्षेत्रमा उनले मारेको फड्को र शैक्षिक क्षेत्रका बारेमा मोचीसँग आदर्श समाज राष्ट्रिय दैनिकका रुपनारायण ढकालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

कास्की मोडनाइज्ड एकेडेमीले सञ्चालन गर्दै आएका गतिविधिबारे बताइदिनुस् न ।

एउटा विद्यालयले साँचो अर्थमा शैक्षिक र अन्य के के गतिविधि सञ्चालन गर्नुपर्ने हुन्छ, ती सम्पूर्ण क्रियाकलाप नछुटाई कास्की मोडनाइज्डले गर्र्दै आएको छ । एउटा स्कुल हुनका लागि खेलकुद, क्रियाकलाप र पढाइको सन्दर्भबाट के कति कम्तीमा हुनुपर्छ भन्ने एउटा राष्ट्रिय अन्तर्राष्ट्रिय मापदण्ड हुन्छ, त्योभन्दा कम होइन बढी नै गतिविधि हामीले बढाइरहेका छौं । खासमा सोच र ध्यान केमा हो भने एउटा बच्चा हाम्रो पालामा जसरी पढियो वा पढाइयता पनि एउटा विद्यार्थी जन्मँदा कम्तीमा एउटा क्षमता लिएर जन्मेको हुन्छ । कुनै बच्चामा धेरै क्षमता होलान् तर कम्तीमा एउटा क्षमता त लिएर जन्मिएकै हुन्छ । उसले जुन ट्यालेन्ट लिएर जन्मिएको हुन्छ, त्यसलाई थाहा पाउन सक्यो भने त्यो राष्ट्रका लागि एउटा होनाहार व्यक्ति बनेर निस्कन्छ । तर त्यो विद्यार्थीले म मा यो क्षमता थियो भनेर थाहा पाउन सकेन भने जिन्दगीभरि पढाइका नाममा उकालो चढेजस्तो स्याँस्याँ र सुँसुँ गर्छ तर उसले गन्तव्य कहीं पनि पाउँदैन । त्यसैले त हामीले बेलाबेलामा देखेका छौं, म्यानेजमेन्ट पढेको विद्यार्थीले हेलिकोप्टर बनायो रे, साइन्स पढेर मास्टर डिग्री गरेको विद्यार्थी साहित्यकार बन्यो रे । के भइरहेछ भने, के का लागि जन्मिएको भन्ने थाह नपाउँदा उल्टो बाटो हिँड्ने काम भएको छ । तिम्रो बाटो त यो हो नि, तिमी त यसका लागि जन्मिएका हौ नि त भनेर भनिदिने मान्छे, पत्ता लगाइदिने ल्याब्रोटरी, टेस्ट गरिदिने ठाउँ नभएर यस्तो भएको हो । यही कुरा जोजोले र जुन देशले पत्ता लगाउन सके उनीहरुले राम्रो गरे । जस्तो चीनमा कुन बच्चा के का लागि जन्मिएको छ भन्ने उनीहरुले पत्ता लगाउँछन् । त्यही बाटोमा उसलाई हिँडाउँछन् । बच्चा एउटा विषयको लागि जन्मिएको हो तर उसलाई अर्को बाटो हिँडाइयो भने त्यो बच्चाको समय खेर जान्छ, उमेर जान्छ, राष्ट्रको सम्पत्ति सिद्धिन्छ ।

अन्य विद्यालयभन्दा कास्की मोडनाइज्ड के मानेमा फरक छ ? कि उस्तै–उस्तै हो ?

शिक्षा भनेपछि गतिविधि त साझा नै हुने भए । विशेष कुरा के भने जुन बच्चा जेका लागि जन्मेको हो त्यसलाई आइडेन्टिफाइ गर्ने, क्लिक आउट गर्ने र त्यो विद्यार्थीलाई त्यही विषयमा प्रवेश गराउनका लागि हामी के गर्न सक्छौं भन्ने कुरामा हाम्रो ध्यान गएको छ । आफू यसका लागि जन्मेको हो भन्ने पत्ता लगाउन स्वयं बच्चाले त सक्दैन नि । अभिभावकले पनि सक्ने कुरा भएन । त्यो पत्ता लगाउने जिम्मेवारी त विद्यालयलाई छ नि त । त्यसैले हामीले के गर्यौं विद्यालयमा भने एउटा बच्चालाई अलिकति मौका संगीतमा दिएका छौं, नृत्यमा दिएका छौं, यतिसम्म कि आरजे, भिजे र एमसीसम्मका कक्षा चलाइरहका छौं, हामीले । नाटक, आर्टस्, खेलकुद, कुनै पनि गतिविधि जुन एउटा बच्चाले गर्न सक्छ ती गतिविधि सञ्चालन गर्छौं । ती सबैलाई बच्चाले अज्माएर हेर्छ । हस्तकलाको लागि समेत हामीले मौका दिइरहेका छौं । हाम्रो मुख्य ध्याउन्न भनेको १० कक्षासम्म शिक्षामा बच्चा परिपक्व होस् । १० कक्षासम्म पढ्दा बच्चाले सिक्नुपर्ने र हासिल हुनुपर्ने सीप– त्यो त हामी ध्यान दिन्छांै दिन्छौं र तिमी यसका लागि जन्मिएका हौं है भनेर पत्ता लगाइदिने काम पनि हामीले गरेका छौं । सायद यसरी अरु विद्यालयले अध्ययन अध्यापन गराएका छैनन् ।

विद्यालयसँग भविष्यका थप योजनाहरु के–के छन् ?

पहिलो कुरा त सीपमूलक र व्यावसायिक किसिमका विषयहरु हामीले थप्दै छौं, ११ र १२ कक्षामा । यो वर्ष हामीले होटल व्यवस्थापन थप्यौं । योबाहेक भविष्यका लागि मैले के कुरामा ध्यान दिइरहेको छु भने लाइफस्किल ल्याबहरु बनाउन खोजिरहेको छु । एउटा बच्चा पढेर निस्किँदा घरमा फर्कंदा सामान्य एउटा बल्ब जल्यो भने फेर्न नसक्ने, एउटा स्विच भाँचियो भने पनि फेर्न नसक्ने, सटको बटन हाल्न नसक्ने यो टाइपको जुन अवस्था छ, यसलाई सल्टाउने विषयलाई लाइफ स्किल भन्छन् । कतिपय देशमा एउटा कार्पेन्टर बोलाउँदा सामानको मूल्यभन्दा बढी मर्मत खर्च आउँछ । त्यही भएर म लाइफस्किल ल्याबबारे स्टडी गर्दै छु । विज्ञहरु ल्याएर कम्तीमा हप्तामा एउटा सीपमूलक कक्षा दिन सकियो भने उपयोगी हुनेछ । किताब पढ्नु, नोट बनाउनु र त्यसलाई जाँचमा लेख्नु, नम्बर दिएर मार्कसिट लिएर हिँड्नु मात्र शिक्षा होइन रहेछ ।

अत्यन्त न्यून शुल्कमा हामीले पढाइरहेका छौं, साँच्चै भन्ने हो भने हाम्रो शिक्षा महँगो छैन

हाम्रो शिक्षा नीतिमा समस्या छ भन्न खोज्नुभएको हो ?

शिक्षा नीतिमा केही कमजोरी छ । कमजोरी किन छ भने वास्तवमा शिक्षा नीति नेपालको धेरै पुरानो हो नि त । २०२८ सालमा बनेको शिक्षा ऐनको आधारमा बनेको नियमावलीले काम गरिरहेको छ अहिले सम्म । अझै पनि नीति बनाउन परे विद्वानहरुले बसेर सोचेर के राम्रो बनाउन सकिन्छ भनेर बनाउँदैनन् । विभिन्न ४/५ वटा देशका नीति जम्मा गर्छन् । दुई वटा ल्याएर एसेम्बल गर्छन् । नीति हाइब्रिडजस्तो बन्छ । यस्तो खालको यहाँको हाम्रो प्रचलन छ । नीतिभन्दा पनि बढी कमजोरी पाठ्यक्रममा छ । त्यो भन्दा पनि ठूलो भूल शिक्षण पद्धति र विधिमा छ । शिक्षण विधि त विद्यालयले पनि त परिवर्तन गर्न सक्छ नि भनेर कसैले मलाई सोध्छ भने शिक्षण विधि मूल्यांकनमा निर्देशित र केन्द्रित हुन्छ । प्रश्नले कारण लेख भन्छ तर उसले अनुभव गर भन्दैन । लेख्ने कामका लागि मात्र त घोक्ने काम हुने भयो । त्यसैले शिक्षण र मूल्यांकन पद्धति गलत छ । यसले गर्दा बच्चाले पढ्छन् तर सिक्दैनन् । पुस्तक पढ्छन् तर जीवन पढ्दैनन् । पुस्तक पढेर जाँचमा लेख्न तयार हुन्छन् तर जीवनमा कुनै पनि सीप हासिल गर्दैनन् । यसैलाई अलि व्यावहारिक ढंगले लैजान एउटा विद्यालयको प्रिन्सिपल भएको नाताले मेरो मातहतमा भएका विद्यार्थीलाई कसरी परिवर्तन गराउन सक्छु भन्ने मेरो संघर्ष छ । म त्यसमा अनवरत रुपमा लागिरहेको छु ।

संस्थागत विद्यालयले प्रदान गर्ने शिक्षा महँगो भयो भन्ने गुनासोप्रति के भन्नुहुन्छ ?

अहिले नेपालमा भइरहेको शिक्षा छ नि, यो शिक्षा महँगो हो कि सस्तो हो भन्ने अध्ययन र रिसर्च गर्ने काम त नेपाल सरकारको हो नि त । अहिले हामीले पढिरहेको शिक्षा पढेर प्लस टु सकेर ब्याचलर पढ्न जति पैसा खर्च गरेर विदेश गएका छन् नि विद्यार्थी त्योसँग तुलना गरेर यो महँगो होला कि सस्तो होला ? त्यसैले मलाई लाग्छ नेपाल सरकारले सामुदायिक विद्यालयभित्र शिक्षा दिँदा एउटा बच्चालाई खर्च गरेको पैसाभन्दा धेरै कममा संस्थागत विद्यालयले पढाइरहेका छन् भन्ने कुराको रिसर्च गरेर निष्कर्ष निकाल्ने मानिस यो देशमा को होला म छक्क परिरहेको छु । अत्यन्त न्यून शुल्कमा हामीले पढाइरहेका छौं, साँच्चै भन्ने हो भने हाम्रो शिक्षा महँगो छैन । महँगो हुन सक्छ अझै किन भने महंगो भनेको क्वालिटी हो । क्वालिटीलाई कस्ट पे गर्नुपर्छ । त्यसैले इन्जिनियरिङ र मेडिकल शिक्षा अलि महँगोजस्तो ठान्छु म, त्यो भन्दा अरु कुनै शिक्षा महंगो छैन । स्तरीय बनाउन शिक्षा अझै महँगो हुनसक्छ । नेपालमा संस्थागत विद्यालयहरुले २५ हजार, ३० हजार, १ लाख रुपैयाँसम्म फि किन लिन्छन् ? के कारणले लिन्छन्, के कारणले लिन दिन्छन् नेपाल सरकारका मान्छेले, त्यसमा मलाई ज्ञान छैन तर अहिले नेपालमा एउटा १० कक्षाको विद्यार्थीलाई ५ हजार, ७ हजार, ८ हजार रुपैयाँ फि लिएर जुन विद्यालयले पढाएका छन् नि त्यही फि नेपाल सरकारले ८ दुना १६ हजार खर्च गरेर दिन सकेको छैन । सरकारको लागत हेरौं त जग्गा, जमिन, भौतिक सुविधा, तालिम, स्यालरी, भत्ता यसो गर्दा ८ होइन १६ हजारले पनि पुग्दैन । यो कुरा सरकार र ब्युरोक्रयाटमा बस्ने मानिस आफैंले बुझेका छन् ।

संस्थागत र सामुदायिक विद्यालयका कारण नेपालमा दुई खालको शिक्षा भयो भन्ने पनि सुनिन्छ, कसरी हेर्नुभएको छ ?

वास्तवमा भन्ने हो भने तालिम प्राप्त शिक्षक सामुदायिक विद्यालयमा छन् । तर त्यहाँ काम गर्ने वातावरण अलि राम्रो छैन । त्यहाँ वातावरण बन्दो हो त पक्कै उहाँहरुले पनि काम गर्नुहुँदो हो । त्यो अधिकार हेडमास्टरलाई पनि दिइएको छैन । अनि त्यहाँ भएका शिक्षक कर्मचारी राजनीतिमा आबद्ध हुनुहुन्छ । कसैले उहाँलाई पढा भनेर दबाव दिने बित्तिकै राजनीतिको शक्ति प्रयोग हुन्छ । शिक्षामा यो दुर्भाग्य हो । यो हटाउनुपर्छ । नेपालमा शिक्षाको विकासका लागि सामुदायिक र संस्थागत विद्यालय बराबर रुपमा कस्सिनुपर्छ । सामुदायिकले संस्थागतलाई हेप्ने, खसाल्ने वा भाइबन्दी गर्ने, संस्थागतले फेरि सामुदायिकलाई सधैं नराम्रै होस् भन्ने सोच्नुहुन्न । देशको समग्र शिक्षा विकासका लागि दुवै कस्सिनुपर्छ । यसका लागि नेपाल सरकारले सामुदायिक र संस्थागत विद्यालय दुवै हातेमालो गरेर अगाडि बढ्ने, एक अर्कामा सहयोग गर्ने, शिक्षकहरु र विद्यार्थी पनि एक्स्चेन्ज गर्ने वातावरण तयार गर्नुपर्छ । परेको बेलामा एउटै ठाउँमा बसेर सेमिनार, गोष्ठी र तालिम गर्ने वातावरण बनाइदिनुपर्छ । सामुदायिकबाट तैंले पास गरेर आएको रैछस्, तैंले छात्रवृत्ति पाइस्, तँ संस्थागतबाट आएको रहेछस्, तैंले जति नम्बर ल्याए पनि मतलब छैन भन्न हुँदैन । नेपाल सरकारले सरकारी नोकरी खाए पनि उसलाई वृद्ध भत्ता दिएको छ । त्यस्तो नोकरी नखाएकोलाई पनि वृद्ध भत्ता दिएको छ । नोकरी खाए पनि नखाए पनि ऊ नेपाली जनता हो नि त । कसैले ५० प्रतिशत पाए पनि छात्रवृत्तिका लागि निवेदन दिन पाउने कसैले ८० प्रतिशत ल्याउँदा पनि सामुदायिकबाट होइन रहेछस्, तैंले निवेदन दिन पाउन्नस् भन्ने खालको भाइबन्दी र छोटो विचार राम्रो होइन । यसले दुईबीच विवाद र विभेद हुन्छ, शिक्षाको विकास हुँदैन ।

नेसनल प्याब्सनसँग पनि जोडिनुभएको छ, गतिविधिहरु के–कसरी अघि बढ्दै छन् ?

एनप्याब्सन कास्कीमा हुँदा भवन निर्माणको काम मैले पूरा गरें । संस्थाका गतिविधिलाई परिपक्व बनाएँ । मैले केही भिन्न र नयाँ कार्यक्रमहरु पनि सुरुआत गराएँ । इंग्लिस ल्याङ्ग्वेज कन्टेस्ट सुरुआत मैले गराएको हुँ । भाषामा हिज्जेमात्र हुन्न, धेरै पक्ष छन् । व्याकरण र साहित्यका पक्ष पनि छन् । भाषाका चारैवटा पाटा अध्ययन परीक्षण गर्ने प्रतियोगिता हो त्यो । नेपालीमा पनि नेपाली भाषा ज्ञान प्रतियोगिता सञ्चालन गरेका छौं । यतिबेला संस्थामा मलाई गण्डकी प्रदेशको जिम्मेवारी दिइएको छ । अब म यसको कार्यालय स्थापना गर्नेछु । प्रदेशले शिक्षकको तालिम र विद्यार्थीको शैक्षिक उन्नतिका लागि के गर्न सकिन्छ भन्ने विषयमा योजना पनि बनाउँदै छु ।

Related News

सम्बन्धित समाचार

hero news full width