प्रदेश खेलकुद परिषद्को प्रशासनिक भवन उद्घाटन

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७९
parisad 1

पोखरा, २३ साउन । प्रदेश खेलकुद परिषद् गण्डकीको नवनिर्वाचित प्रशासनिक भवन सोमबार उद्घाटन गरिएको छ ।

प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले पोखरा रंगशालामा निर्मित भवनको शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन् । प्रदेश सरकारले करिब ९६ लाख रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न गरेको हो ।

सो अवसरमा मन्त्री गुरुङले भवन निर्माण्मा सहयोग गर्ने उपभोक्ता समितिका अध्यक्ष हरिबहादुर बरुवाल, भरत आले, बालकुमारी गुरुङ, ओम गुरुङ, विश्व तण्डुुकारलाई खादा लगाएर सम्मान गरेका थिए ।

उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेका खेलाडीहरुलाई पौष्टिक आहार समेत वितरण गरेका थिए । नवौंको तयारीका लागि खेलाडीहरुको हौसला बढाउन पौष्टिक आहार वितरण गरिएको र नवौंमा छनोट हुने खेलाडीहरुलाई हाइ अल्टिच्युड तालिमको लागि व्यवस्था गर्ने जनाए ।

यस्तै, मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्मालाई ५ लाख पुरस्कारसहित सम्मान गरेका थिए । गण्डकी प्रदेशबाट युवामैत्री स्थानीय तह प्रोत्साहन कार्यक्रम–२०७८ बाट प्रदेशका ८५ गाउँपालिकामध्ये मोदी उत्कृष्ट हुन सफल भएको हो ।

समारोहमा मोदी गाउँपालिकाका अध्यक्ष शर्मा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, प्रदेश खेलकुदका उपाध्यक्ष धोजकुमार गुरुङ, मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेल लगायतले खेलाडीलाई पौष्टिक आहार वितरण गरेका थिए ।

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङले भवन निर्माणमा सहयोग गर्ने उपभोक्ता समितिलगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रशासनिक भवनबाट आफ्ना दैनिक कार्यक्रम सुचारु गर्न सहज हुने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width