बजार क्षेत्र पहिरोको उच्च जोखिममा

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७९
pahirko jokhimma

म्याग्दी । म्याग्दी सदरमुकाम बेनी बजारस्थित क्याम्पसचोक क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ । बजारमाथि रहेको खरेनी र खोरियाको पाखोमा पहिरो चल्न थालेपछि बेनी नगरपालिका ८ स्थित क्याम्पसचोक, गणेशटोल, पीपलचोक र कालीपुल जोखिममा परेको हो । पहिरोको फेदीमा रहेको बजार क्षेत्रमा बाढी आउने जोखिम रहेको खोरियाका नारायण शर्माले बताए । उनकाअनुसार बेनी नगरपालिका वडा नम्बर ६ र ८ को सिमानमा पर्ने उक्त क्षेत्रमा करिब २ वर्षदेखि सुरु भएको पहिरो खस्न अझै रोकिएको छैन ।

करिब ३ सय घर पहिरो र बाढीको जोखिममा रहेका छन् । क्याम्पसचोकदेखि करिब ८ सय मिटरमाथिको पाखोमा २ वटा पहिरो क्षेत्र छन् । सो क्षेत्र करिब ५ सय मिटर लम्बाइ र ५ सय मिटर चौडाइ क्षेत्रफलमा फैलिएको छ । ‘यो क्षेत्रमा करिब २ वर्षदेखि पहिरो खस्न थालेको हो । गत वर्ष साउनमा पहिलेको भन्दा ठूलो पहिरो खस्दा पाखो क्षेत्रको ठूलो भूभाग झनै चिरा–चिरा परेको छ,’ उनले भने ‘यो पहिरोले ४ वटा टोल र म्याग्दी बहुमुखी क्याम्पससमेत जोखिममा परेको छ ।’

पहिरोले साबिकको ठाउँभन्दा करिब ४ मिटर तल जमिन लच्किएको छ । बलौटे माटो भएको पाखोमा जमनि धाँजा फाटेर करिब २ सयभन्दा बढी सल्लाका रुख ढलेका छन् । बेनी नगरपालिका ६ मा पर्ने आँपको रुख क्षेत्र जोड्ने सडकका कारण पहिरो सिर्जना भएको खोरियाकी निशा सुवेदीले बताइन् । उनकाअनुसार अनुसार सडक खन्दा डोजरले पाखोमा फालेको माटो बगेर सिर्जना भएको पहिरोले ठूलो रुप लिन थालेको हो ।

क्याम्पसचोक क्षेत्रमा बाढीको निकासका लागि बेनी नगरपालिकाले घर खरिद गरेर नाली बनाएको भए पनि सो नालीको क्षमताभन्दा ठूलो बाढी आउने गरी नयाँ पहिरो सिर्जना भएपछि बजारबासी चिन्तित भएका छन् । सल्लाको जंगलबीचमा खनिएको सडकको तल र माथि दुवैतर्फ पहिरोले जमिन भासिएको छ ।

पहिरोका कारण सामान्य वर्षात् हुँदा समेत क्याम्पसचोक र कालीपुल क्षेत्रमा बाढी आउन थालेको छ । करिब १२ बर्षदेखि क्याम्पसचोकमा बर्खा याममा पाखोबाट आउने बाढी पसेर डुबान हुने समस्या छ । वडा नम्बर ८ का वडा सदस्य हीराबहादुर पुनकाअनुसार गतवर्ष पहिरोको फेदीदेखि क्याम्पसचोक हुँदै कालीपुलको मोटरेबल पुलसम्म नहर बनाएर खोल्साको पानी र बाढी व्यवस्थापन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width