पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७९
Arjun Pokhrel Photo

पोखरा । पोखरा उद्योग वाणिज्य संघका वर्तमान उपाध्यक्ष अर्जुन पोखरेलले आगामी महाधिवेशनमा संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै संघको आगामी भदौ २४ र २५ गते हुने महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनी अहिले संघको वाणिज्य उपाध्यक्ष हुन् । पोखरेल कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव हुँदै वाणिज्य उपाध्यक्ष बनेका हुन् । पोखराको निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा अध्यक्ष पदमा उम्मेदवारी पछि अग्रज, समकालीन र अनुजहरुसँग सल्लाह गरेपश्चात् यो घोषणा गरेको पोखरेलले बताए । उनले सबै उद्योगी, व्यवसायीलाई समेटेर संघको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै वाणिज्य संघ छोड्न तयार तर अध्यक्षको उम्मेदवारीबाट पछाडि नहट्ने उनको अडान छ । ‘कुनै पनि शर्तमा म पछि हट्दिनँ,’ उनले भने । ‘बरु म वाणिज्य संघ नै छाड्छु तर अध्यक्ष पद छोड्दिन,’ उनले भने, ‘संघको कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव र उपाध्यक्ष भएर काम गरेको छु ।’ व्यवसायीको हकहितको पक्षमा विभिन्न प्रबिद्धताहरुसहित उम्मेदवारी घोषणा गरेको उनले बताए । पोखरा उद्योग वाणिज्य संघलाई पोखरेलीको साझा घर बनाउने, भइरहेको भवनलाई पुनर्निर्माण गरी बहुतले भवन बनाएर व्यापारिक प्रयोजनका लागि उपयोग र २ वटा पार्किङ, ३ वटा व्यापारिक कम्प्लेक्स र संघको कार्यालय बनाउने पोखरेलको प्रतिबद्धता रहेको छ ।

उनले संघीय संरचनापछि पोखरा उद्योग वाणिज्य संघको भूमिका कमजोर भएको भन्दै सरकार–जनताबीचको दूरी घटाउन पुलको रुपमा संघलाई अगाडि बढाउने बताए । संघको पहिलो दायित्व संघमा आबद्ध भएका/नभएका उद्योगी व्यवसायीलाई निर्बाध रुपमा व्यवसाय गर्ने वातावरण सिर्जना गर्ने र उनीहरुको अधिकार, राज्यले दिनुपर्ने सहुलियत, लगानीको सुुरक्षा, नयाँ लगानी भिœयाउन प्रोत्साहन गर्ने काममा निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफू निर्वाचित भए २ वर्षे कार्यकालभित्र प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा पोखरा लगानी सम्मेलन, विदेशी लगानीलाई स्थानीय लगानीकर्तालाई थप लगानी गर्न मिल्ने प्रेरणा लगायत संघले देशका चेम्बर अफ कमर्ससँग त्रिपक्षीय सम्बन्धको स्थापना गर्ने पोखरेलले दाबी गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width