राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७९
Sahakari bank

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक समीक्षा गोष्ठी शनिबारदेखि पोखरामा सुरु भएको छ । ३ दिनसम्म सञ्चालन हुने गोष्ठीको बैंकका अध्यक्ष केबी उप्रेतीले उद्घाटन गर्दै बैंकको रणनीतिक योजनाअनुसार प्रतिफल प्राप्न गर्न शाखा प्रमुखको भूमिकालाई थप प्रभावकारी बनाउन गोष्ठी सफल हुने अपेक्षा व्यक्त गरे ।

जोखिम न्युनीकरण गर्दै सदस्यको सन्तुष्टीलाई ध्यान दिएर काम गर्न निर्देशन दिंदै अध्यक्ष उप्रेतीले सहकारी बैंकका सवल पक्षलाई आमसहकारी संघसंस्थामा पु¥याउने र देखिएका समस्या समयमै समाधान गरेर अगाडि बढ्न आग्रह गरे ।

सहकारी बैंकले गर्ने काम आफ्नो व्यवसाय वृद्धिका लागि भए पनि यसको प्रभाव सिंगो सहकारी अभियानको सफलता र असफलतासँग जोडिने भएकाले बैंकका सञ्चालक, लेखा सुपरीवेक्षण समिति, उच्च व्यवस्थापन, शाखा प्रमुखहरु र सम्पूर्ण कर्मचारीको अतिरिक्त सक्रियता र समन्वय गरेर सहकारीको साख बढाउन ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

सहकारीका समस्या समाधानका लागि बैंकले आफ्नोतर्फबाट सक्दो प्रयत्न गरेको जानकारी गराउँदै उनले सहकारीमा आउन सक्ने समस्याबारे बैंकका शाखा प्रमुखले सरोकारवालासँग समन्वय गरेर समाधानमा योगदान गर्न आह्वान गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागार्इंले गोष्ठीमा ६८ वटै शाखाको समग्र समीक्षा गरी आगामी दिनमा गर्नुपर्ने कामबारे प्रभावकारी योजना निर्माण गरिने बताए ।

गोष्ठीमा बैंकका लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेती, बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसी, उच्च व्यवस्थापन, सचिवालय र बैंकका ६८ वटै शाखाका प्रमुखहरु सहितको सहभागिता छ ।

कार्यक्रम सञ्चालन बैंकको सञ्चालन शिक्षा, तालिम तथा सम्मान उपसमितिका सदस्य सचिव रामबाबु आचार्यले गरेका थिए ।

सहकारी संघ संस्थाहरुसंग मात्र कारोबार गर्दै आइरहेको राष्ट्रिय सहकारी बैंकले ६८ वटा शाखामार्फत देशभरका सहकारी संघ संस्थाहरुसँग कारोबार गर्दै आएको जनाएको छ । बैंकमा हाल करिब १६ हजार सेयर सदस्य छन् । यस्तै, करिब ३ अर्ब सेयर रकम, ५१ अर्ब निक्षेप, ३७ अर्ब रुपैयाँ कर्जा लगानी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width