‘केपी ओली सत्तामा आउने बाटो सकियो’

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७९
madhav nepal

पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली अब सत्तामा आउने बाटो सकिएको बताएका छन् ।

पोखरामा शनिबार पत्रकारसँग कुरा गर्दै उनले ओलीको सम्भावना नरहेकोले एमालेका नेता कार्यकर्तालाई एकीकृत समाजवादी पार्टीमा लाग्न आग्रह गरे । ‘केपी ओली मसिहाका रुपमा आउने सम्भावना समाप्त भएको छ । यस्तो स्थितिमा एमालेमा भएका साथीहरुलाई एकीकृत समाजवादीमा आउन आह्वान गर्न चाहन्छु,’ उनले भने, ‘अब यही पार्टीमा भविष्य छ । यसैले आशा र विश्वास जगाउन सक्छ ।’ नेपालले बामपन्थी शक्तिले दुइतिहाई मत पाउँदा समेत देशलाई विकासको बाटोमा लान नसकेको भन्दै केही व्यक्तिको दम्भका कारण कम्युनिष्ट आन्दोलनले नै धक्का खाएको बताए ।

उनले एकीकृत समाजवादी अव गठबन्धनको निर्णय कुरेर नबस्ने बताएका छन् । ‘आगामी चुनावमा पार्टीले आफ्नो तयारी गर्छ । पर्‍यो भने एक्लै चुनाव लड्ने हो । संगठन बलियो बनाउनुस्, कलम चिन्हमा मत माग्न लाग्नुस्,’ उनी अघि भन्छन्, ‘गठबन्धनभित्र सीटको तालमेल छलफलको क्रममा छ । हामीलाई कसैले इग्नोर गर्छ भने मुर्खता मात्रै हो ।’ आगामी चुनावमा समाजवादीले अहिलेको भन्दा राम्रो सिटमा चुनाव जित्ने दाबी गरे ।

उनले गठबन्धनमा कांग्रेस इमानदार नदेखिएको टिप्पणी गरे । कांग्रेसले पेल्दै जाँदा आफूहरुलाई पोलेको उनको गुनासो छ । ‘अहिले कांग्रेसभित्र अहंकार जाग्न थालेको छ । अरु पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति देखा पर्न थालेको छ । कांग्रेसको घमण्डले हामीलाई पोल्न थालेको छ,’ पोखरामै भएको अर्को एक कार्यक्रममा उनले भने, ‘केपी ओलीको अहंकारले हामी सबै पीडित नै भइसकेका छौं । त्यसो भएकाले अरु वामपन्थी शक्तिलाई मिलाउन चाहिरहेका छौं । जो वामपन्थी साथमा आउनुहुन्छ साथमा लिएर जान्छौं ।’ तर एमालेमा भने नमिल्ने उनले दोहोर्‍याए । ‘ओलीले मसहित ५ जनालाई अपराधी घोषणा गरेका छन् । राष्ट्रद्रोही घोषणा गरेका छन् । राष्ट्रद्रोहीसँग महान् देशभक्तसँग एकता हुन्छ ?,’ उनी भन्छन्, ‘मिल्ने ढोका हामीले बन्द गरेको होइन । त्यतैबाट बन्द भएको हो ।’ कांग्रेसले बहुमत पाए कसैलाई नटेर्ने नेता नेपालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width