आँधीखोलाको सेवा आफ्नै भवनबाट

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०७९
Aadhikhola Building

स्याङ्जा । आँधीखोला गाउँपालिकाले नवनिर्मित प्रशासनिक भवनबाट सेवा दिन थालेको छ । अब, पालिकाबासीले एउटै भवनबाट गाँउपालिकाबाट उपलब्ध हुने सेवा सुविधा पाउन सहज हुने भएको छ ।

गाउँपालिकाका निवर्तमान अध्यक्ष सुधीर पौडेलले एक कार्यक्रमबीच बिहीबार कार्यालय शुभारम्भ गरे ।

आँधीखोला गाउँपालिका ५ कृषिमा १७ रोपनी क्षेत्रफलमा निर्मित ३ तले भवन ५ करोड ६४ लाख ४२ हजारको लागतमा निर्माण सम्पन्न भएको हो । भवन निर्माणका लागि संघीय, प्रादेशिक र स्थानीय पालिकाको आर्थिक सहयोग छ ।

२०७६ साल जेठमा निर्माण सम्झौता भई काम सुरु गरिएको भवनमा ३३ कोठासहित ठूल्ठूला २ वटा बैठक कक्ष बनाइएका छन् । देव एन्ड सागर क्याराभान जेभीले भवन निर्माणको जिम्मा लिएको हो ।

विस २०७४ मा स्थानीय तहको निर्वाचनपछि तत्कालीन अध्यक्ष सुधीर पौडेलले तत्कालीन कृषि तथा पशु सेवा केन्द्रका पुरानो भवन मर्मत गरेर पालिकाको कार्यालय बनाएका थिए । जीर्ण र साना २/३ वटा स साना कृषि तथा भेटेरिनरीका भवनलाई मर्मत तथा निर्माण गर्दै पालिकाका काम गरिँदै आएको थियो ।

अध्यक्ष भएको २ वर्षपछि नै उनले १७ रोपनी जग्गा खरिद गरेर सुविधा सम्पन्न भवन निर्माण कार्यमा जुटे । संघ, प्रदेशसँग सहयोग माग गर्दे जिल्लाकै नमूना गाउँपालिकाको कार्यालय बनाउन सफल भएको उनको भनाइ छ ।

कार्यालय शुभारम्भपछि पालिका अध्यक्ष विश्व पौडेलले भने, ‘सहज र गुणस्तरीय सेवा प्रवाहका लागि प्रशासनिक भवनको आवश्यकता रहन्छ । जहाँबाट पालिकावासीले छिटो छरितो र सहजरुपमा सेवा पाउने छन्।’

भवन निर्माण कार्य सम्पन्न भएका छन् । कम्पाउन्डिङका केही काम बाँकी छन् । ती सबै पूरा भएपछि विधिवत् रुपमा कार्यालयको उद्घाटन गरिने पालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width