ड्रागन फल्दा किसानमा हर्ष

भवानी अधिकारी
श्रावण २१, २०७९
Dragon fruits (2)

स्याङ्जा । कालीगण्डकी गाउँपालिकामा ड्रागन फ्रुटले फल दिन थालेको छ । आर्थिक वर्ष २०७६÷०७७ देखि सुरु गरेको नमुना ड्रागन फ्रुट बगैंचामा राम्रो उत्पादन दिने देखिएको हो ।

पालिकाले झन्डै ४ वर्षअघि परीक्षणरुपमा करिब २५ रोपनीमा ड्रागन खेती गरेर यसको सुरुआत गरेको होे । त्यसबेला रौतहटबाट ड्रागनका बिरुवा ल्याएर यहाँ खेती बिस्तार गरिएको थियो । पालिकाले स्थानीयका जमिन १५ वर्षका लागि लिजमा लिएर खेती सुरु गरेको हो । यहाँका किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले पालिकाले ड्रागन खेती सुरु गरेको अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।

‘पालिकाका जग्गाजमिन बाँझा रहेपछि जग्गाको सदुपयोगसँगै ड्रागन खेती गर्ने सोच बनाएँ,’ अध्यक्ष थापाले भने, ‘ड्रागनसँगै सयपत्री फूललाई व्यावसायिकरण गर्नुछ । पालिकामा ड्रागन खेती राम्रो हुने देखियो ।’ खेतीका लागि संघीय सरकार र पालिकाको गरी झण्डै ९० लाख रुपैंया खर्च भएको पालिकाले जनाएको छ । अघिल्लो आव ०७६/७७ र २०७७/०७८ मा संघ सरकारले सशर्त अनुदानअन्तर्गत बजेट बिनियोजन गरेको थियो । यहाँ पालिकाको पनि केही आर्थिक सहयोग रहेको जनाइएको छ ।

कालीगण्डकी वडा ४ बिर्घामा २४ रोपनी र वडा ५ जैपतेमा करिब १ रोपनीमा ड्रागन फ्रुट लगाइएको छ । यहाँका बिरुवाले गत वर्षदेखि केही फल दिन थालेकोमा यस वर्ष भने राम्रो उत्पादन भएको कृषि अधिकृत अनुप पौडेलले जानकारी दिए । उनका अनुसार १ हजार ६ सय वटा पिलरमा ४८ सय ड्रागन फु्रट रोपिएका छन् ।

पालिकाले २ जना कामदार कर्मचारी राखेर नियमित खेतीको स्याहार सुसार गर्दै आएको छ । उनीहरु नियमित सोही जग्गामा खटिएका हुन्छन् । पालिकामा ड्रागन खेती हुने देखिएपछि यस वर्ष यहाँका स्थानीय किसानले समेत ड्रागन खेती थालेका छन् । अहिले २० जना किसानले खेती गरेका छन् । पालिकाले बिरुवाका लागि ५० प्रतिशत र पिलर निर्माणमा लागि सतप्रतिशत अनुदानको व्यवस्था गरेको छ ।

लहरा जाने र अड्याउन बलियो आधार (खाँबो) चाहिने हुँदा पालिकाले घर निर्माणका लागि बनाइने सिमेन्ट, बालुवा, गिटी मिलाएर पिल्लर नै तयार पारेको छ । सोही पिल्लरमाथि गाडीका टायर राखेपछि ड्रागन लहरा भै माथि पुगेर फल्ने गर्छ ।

२० जना किसानले १ सय ५ बिरुवा ३५ वटा पिलरमा र ४० वटा बिरुवा १ सय २० वटा पिलरमा रोपेका छन् । उनीहरुका लागि सूचनामार्फत खेती गर्न चाहने किसानलाई आव्हान गरिएको थियो । सो आधारमा किसानका जग्गा अनुगमन गरेर अनुदान उपलब्ध गराएको पालिकाले जनाएको छ ।

यहाँ उत्पादिन फ्रुट स्थानीय बजारमा खपत भएका छन् । अन्य बजारमा भन्दा केही सस्तोमा उपलब्ध गराउँदै आइएको छ । पालिकाले प्रतिगोटा सय रुपैयाँ दरले बिक्री गर्ने गरेको छ । पालिकामै बिरुवा उत्पादन हुँदै आएको छ ।

ड्रागन फ्रुट सिउँडी प्रजातिको फल हो । यो गर्मी, सुख्खा हावापानीमा र पानी नजम्ने ठाउँमा राम्रो उत्पादन हुन्छ । राम्रो मलखाद र संरक्षण भएमा रोपेको २ वर्षमै फल दिन्छ । यसमा मिनरल र भिटामिन प्रशस्त पाइने बताइएको छ । स्वादमा गुलियो र अमिलो हुन्छ । प्रतिकेजी १ हजारभन्दा बढी मूल्य पर्ने र एउटै फल २ सय ग्रामदेखि १ केजीसम्मका हुन्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width