राष्ट्रिय खेलकुदमा भूमिका खोज्दै लोकतान्त्रिक खेलकुद

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७९
Democrat Sports Union Photo 1

पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले आसन्न नवौं राष्ट्रिय खेलकुदमा कुनै भूमिका नपाएको भन्दै गुनासो गरेको छ । ३९ वर्षपछि गण्डकीमा हुने राष्ट्रिय महत्वको सो प्रतियोगितामा प्रदेशका खेल संघसंस्था र पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको संघद्वारा पोखरामा आयोजित अग्रज खेलाडी भेटघाटका सहभागीले सो गुनासो गरेका हुन् ।

लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य रञ्जन थापाले देश संघीय संरचनामा गए पनि खेलका संघ संस्थाहरु त्यही अनुसार चल्न नसकेको बताए । प्रदेशको राजधानी हुने प्रतियोगितामा प्रदेशको १ जनालाई मात्र समेटेर उपसमितिको संयोजक तोकेकाले अझै खेलकुदमा केन्द्रिकृत मानसिकता हाबी भएको उनको भनाइ थियो ।

बक्सिङका पूर्व खेलाडी तथा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराइले नवौं राष्ट्रिय गौरवको प्रतियोगिता भएकाले सफल बनाउन लाग्नुपर्ने बताए । राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा हुने प्रतियोगितामा प्रदेशकै पूर्व खेलाडीहरुको अनुभवका आधारमा काम गर्नुपर्नेमा जोड दिंदै प्रदेशभरका पूर्व खेलाडी तथा खेल संघसंस्थालाई कुनै न कुनै भूमिका दिनुपर्ने बताए । उनले संघ नेपाली कांग्रेसको भातृसंठगन भइसकेकाले मैदानमा स्वतन्त्र भए पनि मैदान बाहिर पार्टीलाई हित हुने कार्य गर्नुपर्नेमा जोड दिए । २०४६ सालको आन्दोलनपछि कांग्रेसले खेल क्षेत्रको नेतृत्व लिन नचाहेकै कारण पछिल्लो समय खेल क्षेत्रमा भ्रष्टाचार व्यस्त भएको टिप्पणी गरे ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले तयारी सुरु भएको समाचारमा मात्र पढेको, सुनेको बताए । आफू जिल्ला क्रिकेट संघको अध्यक्ष भए पनि अहिलेसम्म कुनै भूमिका नपाएको उनको गुनासो थियो ।

राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि सुरु हुँदै

भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तथा पूर्व भलिबल खेलाडी हरि पराजुलीले राष्ट्रिय खेलकुद हुँदा मूल आयोजक कमिटीमा गण्डकीको सहभागीता कम हुनु लज्जाको विषय भएको बताए । प्रदेशमा हुने प्रतियोगितामा भूमिका पाए पनि नपाए पनि सहयोग गर्ने उनको प्रतिबद्धता छ तर खेल क्षेत्रमा हुने भ्रष्टाचार र बदमासीविरुद्ध आवाज उठाउन नछोड्ने उनले बताए । नेपाल आर्चरी संघका केन्द्रीय उपाध्यक्ष वसन्त थकालीले खेलकुद क्षेत्रमा लोकतान्त्रमा आस्था राख्ने खेलाडीको गुनासो र समस्या सुन्नका लागि पार्टीले नेतृत्व लिनुपर्नेमा जोड दिए । राखेपका पूर्व सदस्य जयराम हमाल, नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष हरिश्वर पोखरेलले आगामी असोजमा हुने राष्ट्रिय खेलकुदमा प्रदेशको अपनत्व हुने वातावरण बनाउन पहल गर्ने बताए ।

लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष नवीन पुनले राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशको भूमिका खोज्न तल्लिन हुने धारणा व्यक्त गरे । लोकतान्त्रिक खेलकुद संघ पार्टीको भातृसंगठन भइसकेकाले पनि विगतमा केभन्दा पनि आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेमा अग्रजको सल्लाह अनुसार अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले नवौं राष्ट्रिय खेलकुदमा सबैले छोडेको सुरक्षा र अनुसन्धान उपसमितिमा आफूहरुलाई राख्न खोजेको गुनासो गरे । प्रदेशमा हुने खेलमा सबै उपसमितिको सदस्यमा अट्नुपर्ने आफूहरुको माग रहेको बताए । खेलकुद भनेपछि पछिल्लो समय भ्रष्टाचार बढी हुने क्षेत्रमा रुपमा चिनिएकाले करिब १ अर्ब खर्च हुने प्रतियोगितामा सबै खेलाडीले पाउनुपर्ने सुविधा पाउन भनेर संघर्ष गरिरहेको बताए । उनले भने, ‘राष्ट्रिय खेलकुदका लागि ५४ करोड त रातो किताबमै छुट्टिएको छ । सबै गरेर एक अर्ब खर्च हुन्छ त्यसबाट खेलाडीले पाउनुपर्ने सुविधा पाउनुपर्छ भनेर हामी लागिपरेका छौं ।’

पूर्व खेलाडी र नेपाल लोकतान्त्रिक खेलकुद संघको समस्या सम्बोधन गराउन पहल गर्ने कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले बताए । नवौं राष्ट्रिय खेलकुदमा प्रदेशका पूर्व खेलाडीहरुको अनुभव र भूमिकाका विषयमा प्रदेश समितिले विज्ञप्ति प्रकाशित गरेरै दबाब दिने उनले जानकारी दिए । यसका लागि एउटा टिम बनाएर मुख्यमन्त्रीसामु जाने उनको भनाइ थियो । पछिल्लो समय कांग्रेसले खेलकुद बुझिसकेकाले लोकतान्त्रिक खेलकुदलाई पार्टीको भातृ संगठनको मान्यता दिएको उनको भनाइ थियो । अब संघ गाउँका वडावडामा संगठन विस्तारतर्फ लाग्नुपर्ने उनले बताए ।

पोखरामा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद भएको झण्डै ४ दशकपछि आगामी असोज २८ देखि नवौं राष्ट्रिय खेलकुद हुन लागेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width