शान्तिघाटको बन्द शवदाहगृह सञ्चालनमा ल्याउन माग

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०७९
Shantighat 1

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ९ शान्तिघाटमा विगत केही समयदेखि बन्द रहेको वातावरणमैत्री शवदाहगृह सञ्चालनमा ल्याउन सम्बद्ध संस्थाले माग गरेका छन् ।

शवदाहगृह सञ्चालनको जिम्मा पाएको शान्तिघाट विकास समिति र ज्येष्ठ नागरिक सरोकार समाज नेपालले सेवा बन्द रहँदा दाहसंस्कार कार्यका लागि कयौं नागरिकले दुख झेल्नुपरेको भन्दै यसलाई खुलाउन माग गरेका छन् । ती दुई संस्थाले बुधबार पोखरामा आयोजना गरेको नयाँ जनप्रतिनिधिको स्वागत, बधाई तथा शुभकामना कार्यक्रममा उल्लेखित माग उठाएका हुन् ।

सामाजिक उत्तरदायित्वअन्तर्गत एभरेस्ट बैंकले निर्माण गरिदिएको शवदाहगृह २०७६ असारमा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिए पनि कतिपय स्थानीयको विरोधका कारण यो बन्द रहेको समितिका अध्यक्ष शिवबहादुर कार्कीले जानकारी दिए । ‘स्थानीयको विरोध पछि धुवाँ जाने चिम्नी अग्लो बनाएर शवदाहगृह सुचारु गर्ने सहमति भए पनि विमानस्थलका तर्फबाट गुनासो आयो ।’, कार्कीले भने, ‘रुखभन्दा अग्लो चिम्नी नबनाऊ भन्ने कुरा आयो ।’

विगत १८ वर्षको दौरानमा समितिले विभिन्न क्षेत्रबाट प्राप्त गरेको सहयोगमार्फत् ५ करोड रुपैयाँ हाराहारीको विकास निर्माण शान्तिघाट क्षेत्रमा गरेको जानकारी दिंदै उनले १५ लाख रुपैयाँ हाराहारीका संरचना नदीले बगाएको उल्लेख गरे ।

घाटमा पोखरा क्षेत्रका मात्र नभई स्याङ्जादेखि गरेर दैनिक ५ वटासम्म लास सद्गत गरिने जानकारी पनि कार्कीले दिए । शवदाहगृहस्थल सञ्चालनका लागि पोखरा महानगरले पहल अगाडि बढाउनुपर्ने भनाइ राख्दै उनले शान्तिघाटको विकासका लागि निस्वार्थ रुपमा खट्दा अख्तियारसम्म धाउनुपर्ने अवस्था सिर्जना गरिएको भनी दुखेसो पोखे । वातावरणमैत्री र प्रदूषणरहित भनिए पनि शवदाहगृह सञ्चालनमा अवरोध आएपछि सञ्चालनका लागि समितिले महानगर गुहारेको हो । शवदाहगृहमा थोरै दाउरा र १ देखि डेढ घन्टामा शव जलाउन सकिने जनाइएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विरोध र असन्तुष्टी भए स्थानीय र सरोकारवाला छलफल गरी शवदाहगृह सञ्चालनको वातावरण बनाउन आग्रह गरे । घर र बस्तीभन्दा घाट नै पुरानो भएको भन्दै उनले शान्तिघाटको विकासका लागि महानगरको सधैं सहयोग रहने भनाइ राखे । शवदाहगृह सञ्चालनमा ल्याउन महानगरको सकारात्मक सहयोग र सहकार्य हुने प्रतिबद्धता पनि उनले जनाए । नजिकै रहेको शान्ति वनवाटिका लथालिंग अवस्थामा रहेको भन्दै उनले वन विज्ञान अध्ययन संस्थानसँग सहकार्य गरी यसलाई व्यवस्थित गरिने बताए ।

वडा ६ का अध्यक्ष एवं शान्तिघाट विकास समितिका सदस्य विष्णुबहादुर भट्टराईले स्थानीय पहारी समुदायसँग सहकार्य र छलफल गरी शवदाहगृह सञ्चालनमा ल्याउन सकिने भनाइ राखे । ‘पहारी परिवारलाई पनि समितिमा राखौं, उहाँहरुसँग छलफल गरी कुरा सुनेर अघि बढौं’, उनले भने । शवदाहको क्रममा आउने धुवाँलाई बस्ती नभएपट्टि पठाएर सेवा सुचारु गर्ने भन्ने कुरा के भयो भन्दै उनले यसले वातावरण तथा स्थानीयलाई कत्तिको असर गर्छ अध्ययन गरेर अगाडि बढ्न सुझाव राखे । शान्तिघाटस्थित समितिको भवनमा धर्मशाला विकास गर्न सुझाव राख्दै उनले वडा नम्बर ६ का तर्फबाट आवश्यक सहयोग हुने वचन पनि दिए ।

वडा नम्बर ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले शान्तिघाटका लागि वडाले अहिलेसम्म १९ लाख रुपैयाँभन्दा बढी रकम सहयोग गरेको भन्दै आफूलाई त्यस क्षेत्रको माया र चासो भएको भनाइ राखे । ‘हामीले यहाँ शौचालयलगायत पूर्वाधार बनाउन र सरसफाइका लागि कर्मचारी नै खटाएर सहयोग पनि गरेका छौं’, उनले भने । विकास निर्माणका काममा पहारी समुदायले पक्कै पनि अवरोध नगर्ने भन्दै उनले सबै मिलेर शवदाहगृह सञ्चालनमा ल्याउने वातावरण बनाउन आग्रह गरे । यसका लागि वडा छलफल र सहकार्य गर्दै अघि बढ्ने भनाइ पनि मर्सानीले राखे ।

आयोजक संस्थाका सल्लाहकार प्राडा दिलबहादुर क्षत्रीले शान्तिघाटको अवस्था नाजुक रहेको भन्दै यसको विकासमा सरकारले सहयोग गर्नुपर्ने भनाइ राखे । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने विषय सराहनीय भएको भन्दै उनले यसका लागि वातावरण र सडक चुस्तदुरुस्त रहने अवस्था सिर्जना गरिनुपर्ने बताए ।

ज्येष्ठ नागरिक सरोकार समाज नेपाल पोखरा १९ पुरञ्चौरकी अध्यक्ष पद्मा गौतम (राधा) ले विकास, निर्माण र संरचना महिलामैत्री बन्नुपर्ने भन्दै महिलाका कुरा पनि सुन्ने र उनीहरुलाई सम्पत्तिमा अधिकार दिलाउन अग्रसर हुनुपर्ने भनाइ राखिन् । वृद्ध उमेरसम्म पनि महिलाहरु पुरुषकै सेवामा खटिनुपरिरहेको भन्दै उनले महिलाको सम्मान गर्न नसकेसम्म महिलाले धोएको कपडामा बाउला घुसार्दैमा कोही पुरुषको इज्जत नबढ्ने भनाई राखिन् । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख आचार्य, पोखरा ६ का अध्यक्ष भट्टराई, पोखरा ९ का वडा अध्यक्ष मर्सानी, सोही वडाका सदस्यहरु लक्ष्मी पहारी र गीता चर्मकारलाई स्वागत तथा सम्मान गरिएको थियो ।

कार्यक्रमका सभापति एवं समाजका अध्यक्ष भक्तराज श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै शवदाहगृह सञ्चालनको वातावरण तयार पार्न सम्बन्धित सबैसँग आग्रह गरे । यसअघि डा.कालु शर्माले अर्बुद अर्थात् क्यान्सर रोगसम्बन्धी सचेतना प्रदान गर्दै सन्तुलित भोजन, नित्य व्यायाम र सकारात्मक सोच राखेर क्यान्सरबाट टाढा रहन सकिने बताए । कार्यक्रमको सञ्चालन समितिका सचिव उत्तम जोशीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width