बगनासकालीको वार्षिक समीक्षा

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०७९
Baganaskali

पाल्पा । बगनासकाली गाउँपालिकाको वार्षिक प्रगति समीक्षा कार्यक्रम भएको छ । गाउँपालिकाको नियमित वार्षिक कार्यसूचीअनुसार गाउँसभा सदस्य, कर्मचारी, सञ्चारकर्मीको सहभागितामा आव २०७८/०७९ मा गाउँपालिकाबाट सम्पादन भएका कामको प्रगति, चुनौती, प्रभाव र समस्याको समीक्षा गरिएको हो ।

२ दिनसम्म चलको समीक्षामा १० स्वास्थ्य संस्था, ९ वटा वडा कार्यालय र गाउँकार्यपालिकाको कार्यालयका १४ वटा विभिन्न विषयगत शाखाको गरी ३३ वटा शाखाले आ–आफ्नो शाखाबाट वर्षभरिमा सम्पन्न भएका कार्यक्रमको समिक्षा गरेका गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले जानकारी दिए ।

गाउँपालिकाले वार्षिक शैक्षिक पाठ्यपुस्तक प्रकाशन, शैक्षिक क्यालेन्डर प्रकाशन, प्रविधिमैत्री शिक्षामा जोड दिएको छ । यस्तै, नियमित सहकारी अनुगमन, बेरुजु फछ्र्यौटतर्फ जिल्लामै विशेष प्रगति भएको जनाएको छ । गाउँपालिकाले ५९ लाख आन्तरिक आम्दानी भएको बताउँदै ६७ प्रतिशत बेरुजु संपरीक्षण भएको जनाएको छ ।

आव २०७८/०७९ मा पालिकाको कुल ५० करोड १२ लाख बजेटमध्ये पूँजीगत र चालुतर्फ गरी ८७.९ प्रतिशत वित्तीय प्रगति भएको आर्थिक प्रशासन शाखा प्रमुख कोशल पौडेलले बताए । उनका अनुसार गत आवमा चालुतर्फ ८९.५४ र पूँजीगततर्फ ८१.९२ प्रतिशत बजेट खर्च भएको छ । आर्थिक सहायता रकम विश्वसनीय बनाउन नसकिएको, आवश्यक कागजात पूरा नगरी भुक्तानी माग गर्ने र बेलैमा सम्झौता गरेपनि भुक्तानीको लागि असार कुर्ने प्रचलनले वित्तीय कार्यसम्पादनमा प्रभावकारी बनाउन नसकिएको उनले बताए ।

गाउँपालिकाले वर्षभरिमा जम्मा पालिकागत आर्थिक वर्षमा ४ सय २२ वटा योजना संचालन भएको र १७ किलोमिटर कालोपत्रे गरेको १५ शैयाको अस्पताल र प्रशासनिक भवनको कामथालनी भएको जनाएको छ । सामाजिक क्षेत्रमा काम गर्ने मानिसको कमी भएका कारण योजनालाई पारदर्शी र प्रभावकारी बनाउन नसकिएको बताइएको छ ।

गत आवमा चालुतर्फ ८९.५४ र पूँजीगततर्फ ८१.९२ प्रतिशत बजेट खर्च भएको छ

स्वास्थ्यतर्फ १० वटा स्वास्थ्य संस्था, २८ गाउँघर क्लिनिक र २५ वटा खोप क्लिनिकबाट पोषण, सुरक्षित मातृत्व, स्वास्थ्य उपचार, औषधि वितरण लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले औंल्याए । उनले स्वास्थ्य शाखातर्फ ६३ कर्मचारी, ७७ स्वयंसेविकाबाट समुदायमा सेवा प्रभाव भएको जानकारी दिए ।

कार्यक्रममा रोजगार शाखा, राजस्व शाखा, कृषि, बालमैत्री, सामाजिक सुरक्षा तथा पञ्जिकरण, पशुसेवा, महिला तथा बालबालिका, गरिवि निवारणका लागि लघुउद्यम, सूचनाप्रविधि, जिन्सी शाखाले आ–आफ्नो वार्षिक प्रगति पेस गरेका थिए । गाउँपालिकमा आव २०७८।०७९ मा बसाइँसराइ संख्यामा वृद्धि भएको, कृषि, पशुसेवा तर्फ मागमा आधारित कार्यक्रमलाई प्रभावकारी व्यवस्थापन गर्न नसकिएको र पशु सेवा प्राविधिकको जनशक्ति कमी भएको जनाइएको थियो ।

गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले समग्रमा गत आव उपलब्धिमूलक रहेको भन्दै चालु आवमा गत आर्थिक वर्षमा गर्न नसकिएका विकास निर्माण तथा सेवाप्रवाहलाई प्रभावकारी बताउने बताइन् । उनले सामाजिक विकासका लागि जनप्रतिनिधिहरूको साझा साथ रहने भन्दै उच्च मनोवलकासाथ कार्य सम्पादनमा लाग्न आग्रह गरिन् ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले व्यवस्थित योजना बनाएर परिणाम देखिने गरी काम अगाडि बढाउनुपर्नेमा जोड दिए ।

प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले प्रगति समीक्षाले सेवा प्रवाह प्रभावकारिता र सुशासन वृद्धिमा सघाउ पुर्‍याउने भएकोले पालिकाले समीक्षा कार्यक्रमलाई नियमित गर्दै आएको बताए । उनले गत आव समग्रमा उत्साहजनक रहेको भन्दै वार्षिक कार्ययोजना बनाएर चालु आर्थिक वर्षका गतिविधि अगाडि बढाउन कर्मचारी र जनप्रतिनिधिको सहकार्यमा प्रतिबद्ध रहेको जनाए ।

गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापा, पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष भगवान् भण्डारी, बगनासकाली पत्रकार समूहका नेत्र गैरे लगायततले जनप्रतिनिधि र कर्मचारी सहितको साझा बसाइँ उपलब्धिमूलक र सार्थक रहेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width