‘जहाँ आकाशसँगै मन धमिलिन्छ’

धनबहादुर गुरुङ
श्रावण १७, २०७९
Badhi Phot0 1

पोखरा । आकाशमा जब बिजुली चम्किन्छ पोखरा १३, कमलपोखरीकी सरिमा घर्ती अत्तालिन्छिन् । कालो बादल मडारिन सुरु भएसँगै उनको मनमा डरको जालो जेलिन सुरु गरिहाल्छ । बर्खायाममा हुने वर्षात्मा उनको मन कहिल्यै चयनमा हुन्न । हररातजसो उनीमात्र हैन, उनको परिवारका सदस्य र छिमेकी जाग्राम बस्छन् ।

आइतबार राति पनि बेलुकादेखि नै मुसलधारे पानी पर्‍यो । केही नहोस् भन्दै भगवान् भरोसामा कोल्टे फेर्दै थिए । राति करिब ११ बजे पानीले बलेनी नदेखिने गरी पिंढी ढाक्न सुरु ग¥यो । पिंढीको पानी बिस्तारै ढोकाबाट छिर्न सुरु गर्‍यो । २ छोरा, १ बुहारी र श्रीमान् जहान रहेको परिवारलाई आइतबारको रात निकै सकशपूर्ण रह्यो । आफूहरु जोगिंदै २ महिनाकी सुत्केरी बुहारी र बालखको स्याहार गर्दागर्र्दै बिहान भयो । टिनको छाप्रोमा असुरक्षित हुने भएपछि कम्मर–कम्मर आउने पानीको प्रवाह नगरी छिमेकीको घरमा रातारात पुर्‍याए । बिहान हुँदासम्म उनको घरभित्रसम्मै पानी पसिसकेको थियो । लत्ताकपडा, भाडाकुडा, रासनपानी सबै भिजिसकेको थियो ।

घर्तीको घरसँगै छिमेकी करिबहादुर बिक, जमुना पटेलको घर पनि जलमग्न भएको थियो । उनीहरुको घर एकतले टिनले छाएका छन् । उनीहरुको झैं कमलपोखरी क्षेत्रका १ सय ५० घर डुबानमा परे । अन्य घर आरसिसी ढलान भएकाले तल्लो तल्लामा पानी पसे पनि माथिल्लो तल्लामा जोगिएर बसेका छन् । कमलपोखरीवासीले यो दुर्दशा व्यहोरेपछि अहिले हारगुहार मागिरहेका छन् । पानी परेपछि आकाश हेर्दै टहलिनु बाहेक अर्को विकल्प केही छैन ।

आइतबार साँझदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण पोखरा १३, कमलपोखरी क्षेत्रका १ सय ५० घरधुरी डुबानमा परेको हो । मानवीय क्षति नभए पनि घर र घरभित्र भएका सामान डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । निरन्तरको वर्षाले नहरको पानी सो क्षेत्रमा पुग्दा डुबानमा परेको स्थानीयको भनाइ छ । माटेपानी, काहुँखोला लगायत स्थानको नहरको पानीको निकास नहुनु, नहर र काहुँखोला, खहरेखोलाको लेभल एउटै भएकाले डुबानमा परेको स्थानीय रतनकुमार कार्कीले जानकारी दिए । यस्तै खोला नहरमा बनेका घरहरु मापदण्डविपरीत बन्दा पनि समस्या भएको उनको भनाइ थियो ।

गत वर्ष पनि बर्खाको पानीले कमलपोखरीका स्थानीयलाई उतिकै समस्या दिएको थियो । ‘अघिल्लो वर्ष पनि यस्तै समस्या थियो अहिले पनि उस्तै छ,’ उनले भने, ‘पहिला–पहिला पानी पर्दा यसरी डुबानमा परेको थिएन्, गत वर्षदेखि घरभित्रै पानी पसेर साह्रै अप्ठेरो परेको छ ।’ पोखरा १३ कमलपोखरी क्षेत्र बर्सेनि डुबानमा पर्दै आइरहेको ठाउँ हो ।

वर्षाका कारण पोखराको कमलपोखरी क्षेत्रका १५० घर डुबानमा

स्थानीयले तत्काल राहतसहित पानीको निकास हुनुपर्ने गरेका छन् । ‘सरकारले हामीलाई तत्काल राहत दिए हुने हो, त्योभन्दा पनि हामीलाई यहाँको पानीको निकास गरिदिए आभारी हुने थियौं,’ स्थानीय दीपिका बिकले भनिन्, ‘सरकारले नाली बनाएर हुन्छ कि कसरी हुन्छ निकास गरिदिए पानी पर्दा पनि ढुक्कसँग सुत्न पाउने थियौं ।’

आइतबार रातिदेखि नै कमलपोखरी आसपासका क्षेत्र डुबानमा परेकाले रातिबाटै आफू डोजर लिएर थुनिएका विभिन्न ठाउँ तर्काउँदै हिंडेको वडाध्यक्ष बरालको भनाइ छ । ‘तल दुईकुलो मुहान पनि हिजै खोलियो । माथिबाट आउने नहरको मुहान पनि बन्द गर्न भनिसकेका छौं’ उनले भने, ‘मुख्य समस्या भनेको काहुँखोलाबाट आएको पानीले डुबान पारेको हो ।’ पानी तर्काउने काम भइरहे पनि निन्तर भारी वर्षा भइरहेकाले समस्या भइरहेको वडाध्यक्ष बरालले बताए । दीर्घकालीन रुपमा समस्या समधानको पहल भइरहेको उनले बताए । ‘काठमाडौंका विज्ञ टोली लिएर ल्याएर निरीक्षण गर्ने तयारीमा छौं,’ वडाध्यक्ष बरालले भने, ‘महानगरको पहलमा टोली आइसकेको छ । उहाँहरुले निरीक्षण गरेर केन्द्रकै बजेट पार्ने योजनामा छौं ।’ अघिल्लो महिना भारी वर्षाका कारण हेमजाको सुइँखेत पनि यसैगरी डुबानमा परेको थियो ।

पोखरामा अत्यधिक वर्षा

पोखरामा आइतबार बेलुकी ६ बजेदेखि सोमबार बिहान ९ बजेसम्म २ सय ४९ मिलिमिटर वर्षा भएको छ । निरन्तर वर्षा भइरहँदा २ सय ४९ मिलिमिटर रेकर्ड भएको जल तथा मौसम विज्ञान कार्यालय पोखराका मौमस सहायक सरोज अधिकारीले जानकारी दिए ।

पोखरा विमानस्थलको रेकर्डमा १५ घण्टाको अवधिमा २ सय ४९ मिलिमिटर वर्षा भएको थियो । पोखरा विमानस्थल बाहेक लामापाटन, लामाचौर र मालेपाटनमा पनि वर्षाको रेकर्ड गरिन्छ । लामापाटनको रेकर्डमा भने यो अवधिमा ३ सय ३४ मिलिमिटर वर्षा भएको छ ।

पहिरोमा पुरिएर मृत्यु

भारी वर्षासँगै खसेको पहिरोमा घर भत्किंदा १ जनाको मृत्यु भएको छ । आइतबार राति लेकसाइडको डिहिकोपाटनस्थित लक्ष्मी खड्का क्षत्रीको घर पछाडि पहिरो जाँदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राति करिब १ बजे गएको पहिरोले घरको कोठा भत्किंदा त्यहाँ डेरा गरी बस्ने कास्कीको माछापुच्छ्रे गाउँपालिका १ भुर्जुङखोला, तातोपानीका सन्तोषको पुरिएर ज्यान गएको हो । पहिरोमा परी उनकी दिदी २७ वर्षीय सुनिता सुनार घाइते भएकी छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । सुनिताकी १० वर्षीया छोरी सिम्रनको उद्धार गरिएको छ । उनको अवस्था सामान्य छ ।

यसैबीच, भारी वर्षाका कारणले पोखरा २५, एक्वार भिरमा पहिरो जाँदा हेमजाबाट लाचोक, घाचोक जाने सडक अवरोध भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width