प्लास्टिक प्रयोगबाट सडक

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७९
plastic street

पोखरा । प्लाष्टिक प्रयोगबाट निर्मित पिच सडक टिकाउ भएको पाइएको छ । ४ वर्ष पहिलो ग्रिन रोड कम्पनीले नेपालमै पहिलो पटक पोखराको चाउथेस्थित अनुपम टोलमा प्लाष्टिक प्रयोग गरी सडक निर्माण गरेको थियो । १ सय मिटर लामो सो सडक अझै पनि प्रभावकारी र टिकाउ छ ।

यसैबीच शुक्रबार तनहुँको शुक्लागण्डकी नगरपालिकामा सूर्य नेपालको आर्थिक सहयोग र ग्रिन रोड वेस्ट म्यानेज्मेन्टको प्राविधिक सहयोगमा कुसुम निर्माण सेवा कम्पनीले सो प्रविधि प्रयोग गरी निर्माण गरेको सडक उद्घाटन गरिएको छ ।

वडा ७ को कुष्मावती भित्री मोटरमार्ग सडकको उद्घाटन शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले गरेका हुन् । सो सडकको लम्बाई ३ सय ३० मिटर, चौडाई ३.५ मिटर रहेको छ । जहाँ करिब ६ सय किलो (पुनः प्रशोधन गर्न नसकिने खालका) प्लास्टिक प्रयोग भएको जनाइएको छ ।

सूर्य नेपालको प्राविधिक टोली र व्यवस्थापक टोलीले चाउथेमा निर्मित सडकको अवलोकनपछि ग्रिन रोड कम्पनीलाई सहयोग पुग्ने र आफ्नो सामाजिक उत्तरदायित्व पूरा हुने भएपछि आर्थिक सहयोग गरेको हो ।

प्लास्टिक सडकको मुख्य फाइदा भनेको ल्यान्डफिलमा डम्प गर्नुपर्ने पुनः प्रशोधन गर्न नसकिनेखालका प्लाष्टिकहरु चाउचाउ, बिस्कुटका खोल, पोलिथिन ब्याग प्रयोग हुन्छ । साथै सो बराबरको अलकत्राको बचत एवं यसरी बनेको सडकको आयु पनि तुलनात्मकरुपले सामान्य पिचभन्दा राम्रो हुने विभिन्न खोज एवं अनुसन्धानले जनाएका छन् ।

सडक निर्माणमा चाहिने प्लास्टिक शुक्लागण्डकीकै डम्पिङ साइट र त्यहाँको समुदायले जम्मा गरेको प्लास्टिक हो । त्यसको प्रशोधनका लागि गण्डकी प्रदेश एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीको सहयोगमा तयार पारिएको प्लास्टिक ग्रेडर मसिन प्रयोग गरिएको छ । सो कच्चा पदार्थ पोखराको औद्योगिक क्षेत्र नजिकको ग्रिन रोड प्रशोधन केन्द्रमा तयार पारिएको हो ।

भारतमा सन् २००२ देखि आजसम्म १.५ लाख किमीको हाराहारीमा यो प्रविधि प्रयोगबाट सडक बनेर पनि परीक्षण भइसकेको छ । छिमेकी मुलुक भुटानमा पनि सयौं किमी सडकमा सो प्रविधि प्रयोग छ । ग्रिन रोड वेस्ट म्यानेज्मेन्ट प्रालि पोखराकै कम्पनी भएकोले पोखरा महानगरले फोहोर व्यवस्थापनसँगै सडक निर्माणमा साझेदारी गर्नुपर्ने कम्पनी संचालक विमल बास्तोलाको सुझाव छ ।

Related News

सम्बन्धित समाचार

hero news full width