नवलपुरमा आपराधिक घटना बढ्दो

रामकुमार श्रेष्ठ
श्रावण ११, २०७९
crime scene tape of  mysterious case in cenematic tone with copy space

नवलपुर । जिल्ला प्रहरी कार्यालय, नवलपुरले गत आर्थिक वर्ष २०७८/०७९ मा गरेका गतिविधिसँगै जिल्लाका आपराधिक गतिविधि सार्वजनिक गरेको छ ।

मंगलबार पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले घटना विवरणका बारेमा जानकारी गराएका थिए । विवरणअनुसार पछिल्लो ३ वर्ष तुलनामा प्रहरीमा घटना दर्ता बढेको पाइएको छ ।

आव २०७६/०७७ मा ४ सय ७७ वटा घटना जिल्ला प्रहरी कार्यालय नवलपुरमा दर्ता भएकोमा आव २०७७/०७८ मा ५ सय ६० घटना दर्ता भएका छन् । आव २०७८/०७९ मा ५ सय ५९ वटा घटना दर्ता भएको छ । आव २०७८/०७९ मा कर्तव्य ज्यानका ७ वटा घटना, ज्यान मार्ने उद्योगमा १२ वटा घटना, भवितव्य ज्यानमा ५६ वटा घटना र फुटकर ज्यानमा ६५ वटा घटना दर्ता भएको प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले बताए ।

त्यसैगरी, आत्महत्या गर्नेको संख्या पनि यस वर्ष बढेको उनले बताए । नवलपुरमा आव २०७६/०७७ मा ९८ जनाले आत्महत्या गरेको पाइएकोमा आव २०७७/०७८ मा ९९ जनाले र आव २०७८/०७९ मा १२५ जनाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ । जसमध्ये सबैभन्दा बढी झुण्डिएर १ सय १६ जनाले, विषसेवन गरेर ७ जनाले र नदीमा हाम फालेर २ जनाले आत्महत्या गरेका छन् ।

गत आवमा लागुऔषध सम्बन्धी ७० वटा मुद्दामा नवलपुरमा १ सय जना पक्राउ परेको प्रहरीले जनाएको छ । जुवातासमा ४४ वटा मुद्दा दर्ता भएको अर्थात् ४४ वटा समूहलाई पक्राउ गरेको जनाइएको छ । ४४ वटा समूहलाई जुवातासमा नियन्त्रण गर्दा २ सय ६५ जना जुवाडे पक्राउ परेको नवलपुर प्रहरीले जनाएको छ । गत आवमा अभद्र व्यवहारमा ९१ वटा मुद्दा दर्ता भएको, जबर्जस्ती करणीमा २३ वटा मुद्दा दर्ता भएको, जबर्जस्ती करणी उद्योगमा ३ वटा मुद्दा, बालयौन दुव्र्यवहारमा २ वटा मुद्दा नवलपुरमा दर्ता भएको छ ।

जिल्लामा घरेलु हिंसाका घटना पनि बढेको पाइएको छ । सार्वजनिक तथ्यांकअनुसार नवलपुरमा आवमा २०७६/०७७ मा ६९ वटा, आव २०७७/०७८ मा १ सय २८ वटा र आव २०७८/०७९ मा १ सय ४३ वटा घटना दर्ता भएको प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए ।

यस्तै, आव २०७८/०७९ मा ८९ पुरुष, १ सय ८६ महिला, १३ बालक, ७६ बालिका, ११ ज्येष्ठ नागरिक पुरुष र ४ ज्येष्ठ नागरिक महिला गरी ३ सय ७८ जना मानिस नवलपुरबाट हराएका छन् । हराएकामध्ये २ सय ९६ जना फेला परेको र ८२ जना अझै फेला बेपत्ता छन् ।

यसैबीच, नवलपुर प्रहरीले गत आवमा राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि गरेको जनाएको छ । सबैभन्दा बढी भन्सार छली नियन्त्रणबाट ५ करोड ३५ लाख ५१ हजार संकलन गरेको छ । त्यसैगरी नदीजन्य पदार्थ नियन्त्रणबाट ७९ लाख १८ हजार, काठ नियन्त्रणबाट ५ लाख ५ सय ६९ रुपैया, जुवातास नियन्त्रणबाट १९ लाख ५५ हजार ८ सय र फरार प्रतिवादी पक्राउबाट १ लाख ७८ हजार २ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

नवलपुर प्रहरीले गत आवमा ५ थान भरुवा बन्दुक, १ थान रिभल्बर, १८ थान सिसाको गोली, ५४ ग्राम बारुद, ४ राउण्ड गोलीसहित ४ जनालाई पक्राउ गरेको, १ हजार ८ सय ७२ लिटर घरेलु मदिरा नष्ट गरेको, २२ वटा हराएका मोटरसाइकल, ५ थान मोबाइल र १ थान ल्यापटप फेला पारी सम्बन्धित मानिसलाई बुझाएको प्रहरीले जनाएको छ ।

गत आवमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियम उल्लंघन गरेर सवारी चलाउनेलाई कारबाही गरेवापत २ करोड बढी राजस्व संकलन गरेको जनाएको छ । आव २०७८÷०७९ मा ३१ हजार १ सय ९२ वटा सवारीसाधन कारबाही गरी २ करोड ११ लाख ८१ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width