सिट बाँडफाँट नमिले टुलुटुलु हेरेर बस्दैनौंः नेपाल

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०७९
Madhav Kumar Photo 1

पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सिट बाँडफाँट नमिले आफ्नै शक्ति बनाएर अघि बढ्ने चेतावनी दिएका छन् । उनले गठबन्धन दलबीच चुनावसम्म तालमेल कायम राख्ने सहमति भए पनि आफ्नो पार्टीलाई कमजोर नआँक्न चेतावनी दिए ।

‘सबै सिट आफैं लिउँला, उब्रेको मात्रै दिउँला भनेर कुनै पार्टीले सोच्छ भने हामी टुलुटुलु हेरेर बस्नेवाला छैनौं,’पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवसलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले भने, ‘आफ्नो शक्तिमा अडिएर अगाडि बढ्छौं ।’ उनले तालमेल गर्दा पार्टीको नेतृत्वदायी भूमिका र समग्रमा पार्टी भावना अनुसार हुने बताए ।

उनले तालमेल जटिल बने पनि गठबन्धन चुनावसम्म कायम रहने बताए । ‘विगतका कुरालाई सुधार गरेर आगामी दिनमा नदोहोरिने गरी लाग्छौं । आगामी दिनमा नदोहोरियोस् भनेर माओवादीका नेताहरुले भनिरहनुभएको छ । कसैले अन्य ढंगले कुरा गरिरहेका छन्,’ पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष नेपालले भने, ‘नेपाली कांग्रेसले कतिको महसुस गर्छ, हेर्न बाँकी छ । गठबन्धन टुट्नेवाला छैन । आउने चुनावसम्म गठबन्धन कायम रहन्छ । यसको निम्ति आफ्नोतर्फबाट बहस गर्नुपर्छ ।’

गठबन्धन दलबीच चुनावसम्म तालमेल कायम राख्ने सहमति भए पनि आफ्नो पार्टीलाई कमजोर नआँक्न चेतावनी

उनले स्थानीय निर्वाचनको नतिजालाई सबै दलले सन्तोषजनकरुपमा लिएको भन्दै त्यही मापदण्डअनुसार गठबन्धन रहने बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण कम्युनिष्ट आन्दोलन कमजोर बनेको आरोप लगाए । ‘जब पार्टीमा छलफल बन्द गर्नुभयो, आफूलाई केन्द्रविन्दुमा राख्नुभयो, म नै पार्टी हुँ भन्ने सोच्नुभयो । अहंकार बढ्यो,’ उनले थपे, ‘२०७४ सालको चुनावमा कम्युनिष्ट पार्टीले निकै राम्रो स्थान हासिल गरेको थियो । यसलाई उपयोग गरेको भए कम्युनिष्ट पार्टी अत्यन्तै लोकप्रिय हुने थियो । त्यो सबै बिगारेको एमाले नेता केपी ओलीले हो ।’

ओलीले आफ्नो सत्ता जोगाउन एमसिसी लगायत राष्ट्रघाती सम्झौता गरेको आरोप नेपालले लगाएका छन् । ‘अस्तित्व रक्षाका लागि एमसिसी उहाँले ल्याउनुभयो । भारतलाई खुसी पार्न नेपालको छापिएको नक्सा रोक्नुभयो,’ उनले भने, ‘नेपाललाई भारतसहितका विभिन्न देशहरुको संयुक्त सैन्य अभ्यासमा सहभागी गराउन भूमिका खेल्नुभयो । त्यसका विरुद्ध हामीले जुध्नुपर्‍यो ।’ पाँँचदलीय गठबन्धन ओलीकै अहंकारका कारण जन्मिएको उनको तर्क छ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस अवसरमा पृष्पलाल स्मृति प्रतिष्ठान कास्कीले ‘वर्तमान समयमा राजनीतिक अवस्था र समाजवादी कार्यदिशा’ विषयमा विचार गोष्ठी आयोजना गरेको थियो ।

कार्यक्रमका वक्ताले पुष्पलालको योगदानको चर्चा गरेका थिए । पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको हो । उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरेका थिए । १९९७ सालमा राणाशासन विरुद्धका आन्दोलनमा आफ्ना दाइ गंगाला श्रेष्ठलाई गोली हानी मारिएपछि उनी पनि राणाविरोधी आन्दोलनमा सक्रिय भए । २००६ सालमा भारतको कलकत्तामा उनी नेपाल कम्युनिस्ट पार्टी घोषणा गर्दै संस्थापक महासचिव बनेका थिए । १९८१ असार १५ मा रामेछापमा जन्मिएका उनको २०३५ साउन ७ मा नयाँदिल्लीमा उपचारक्रममा मृत्यु भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • पाेखरा नयाँबजारको महायज्ञ समापन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म…
  • सहकारी पीडित आन्दोलित

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । सहकारीले रकम अपचलन गरेपछि पोखराका ६ वटा सहकारीका पीडित आन्दोलित भएका छन् । उनीहरुले बचत फिर्ता र आफूहरुको…

hero news full width