घरको छतदेखि भाडाका जग्गामा ‘ड्रागन फ्रुट’

धनबहादुर गुरुङ
श्रावण ९, २०७९
Dragon Fruit Photo

पोखरा । पछिल्लो समय पोषिलो फलफूलभित्र पर्ने ड्रागन फ्रुट पोखरेलीको घरका छतमा देखिन थालेका छन् । गर्मीमा राम्रोसँग फल्ने सिउँडी प्रजातिको यो फल पोखराका बजारमा पनि हुन थालेसँगै व्यावसायिक रुपमै पनि लगाइएको छ ।

पोखरा ३३ बागमारामा ५ रोपनी जग्गा भाडामा लिएर ड्रागन फ्रुटको खेती गर्ने आँट गरेका हुन्, पोखराका शिव गौतमले ।

सिँचाइ सुविधा कम भएको रुखो जमिनमा पनि ड्रागन फ्रुटको बिरुवा सहजै हुर्कने र उत्पादनसमेत राम्रो हुने भएकाले पछिल्लो समय सहरी क्षेत्रका सौखिनहरू यस खेतीतर्फ आर्कषित भइरहेका छन् । तर गौतमले जग्गा भाडामा लिएर ड्रागन खेती गरेका छन् । उनको जग्गामा यतिबेला ५ सयभन्दा बढी ड्रागन फलको बिरुवा हुर्किरहेका छन् । अधिकांश बिरुवाले यसवर्ष देखि नै उत्पादन दिन थालिसकेका छन् । पछिल्ला समय आफ्ना बारीमा फलेका र फुलेका ड्रागन फ्रुट देखेर उनी मख्ख छन् । उनले मातृभूमि कृषि फर्म नै दर्ता गरेर व्यवसाय सुरु गरेका हुन् ।

कोरोनापछिको लकडाउनले ड्रागन फ्रुटप्रति रुचि बढेको उनी सुनाउँछन् । शिक्षण पेसामा आबद्ध उनी लकडाउनमा धेरै मात्रामा अनलाइन तिरै व्यस्त हुन थाले । त्यही क्रममा ड्रागनबारे सामाजिक सञ्जालमा देखे । धेरैभन्दा धेरै भिडियो हेरे अनि पोखरामा पनि हुन्छ भन्ने भयो । युट्युबमै भएको नम्बरमा फोन गर्दा पोखरामा पनि हुने सुझाएपछि हौसिएर बागमारातिर जग्गा खोज्न हिँडेको उनले सुनाए । ५ रोपनी जग्गा भाडामा लिएर ६ सय बिरुवा लगाए । अहिले भनेजस्तै, सोचेजस्तै भएको गौतमलाई । ‘फुर्सदको समयमा युट्युब हेर्दै जाँदा दाङको लोकेन्द्र विष्टको मन पर्‍यो,’ उनले भने, ‘अनि उहाँसँग सल्लाह भयो । चैतमा उहाँलाई भेट्नै गएँ अनि विष्टले भनेझंै बिरुवा लगाए अनि राम्रो पनि हुँदै गएको छ ।’

अहिले उनको बारीमा रोपिएको ड्रागनको बोटले फल दिन सुरु गरेको छ । उनले उक्त जग्गामा रातो र सेता प्रकारको ड्रागन फ्रुट लगाएका छन् । जसमा ८० वटा सेतो र बाँकी रातो ड्रागन लगाएका छन् । ‘एउटा पोलमा २ वटा बिरुवा लगाउन मिल्छ,’ उनले भने, ‘४० वटामा सेतो बिरुवा छ अरुमा रातो छ ।’ अरु बिरुवालाई जस्तो पानीको समस्या नहुने उनको भनाइ छ । ‘ड्रागनको जरा धेरै क्षेत्रमा नफैलिने र सिँचाइ पनि पर्याप्त नचाहिने रहेछ,’ उनले भने, ‘हेर्दा आकर्षण पनि देखिने छ ।’

ड्रागन रोपेको ३ वर्षदेखि फल दिन थाल्छ । वयस्क बोटमा एक सिजनमा कम्तीमा २० किलो फल्छ

नेपाली बजारमा यो फल नयाँ भए पनि बजारको समस्या नरहेको गौतम बताउँछन् । उनका अनुसार बजारमा प्रतिकिलो ६ सय देखि १२ सयसम्म बिक्री हुने गरेको छ । ‘पोखरा पर्यटकीय राजधानी पनि हो त्यसैले यसको व्यापार व्यावसायमा कुनै समस्या नपर्नेमा म ढुक्क छु,’ उनले भने, ‘यसको माग धेरै छ यो उत्पादनले माग धान्न गाह्रो पर्छ ।’

बहुउपयोगी फलका रूपमा चिनिएको ड्रागन फलको कोपिला, फूल र फल सबै उपयोगी हुन्छ । फूल फुलेको ३ दिनमा झर्ने र करिब ४० दिनमा फल पाकेर खानयोग्य हुन्छ । ड्रागन फल बजारमा प्रतिकिलो ८ सय रूपैयाँसम्म बिक्री हुने गरेको छ । बजारमा अत्यधिक माग रहेकाले धान्नै हम्मेहम्मे भइरहेको उनी बताउँछन् । ड्रागन फलको बिरुवा रोपेको ३ वर्षदेखि फल दिन थाल्छ । एउटा वयस्क बिरुवाले एक सिजनमा कम्तीमा पनि २० किलो फल दिन्छ । ड्रागन फल नेपालका बजारमा भर्खरै परिचित हुन थालेको हो । नेपालको आन्तरिक बजार धेरै ठूलो रहेको विज्ञहरू बताउँछन् । केही वर्षअघि मात्रै नेपाल भित्रिएको यो फललाई धेरै नेपालीले चाख्न पाएका छैनन् ।

ड्रागन फलको गुण भनेको एक पटक स्वाद लिइसकेपछि पटकपटक खान पराउने किसिमको हुन्छ । खानलाई सजिलो हुने भएकाले यसको खेती, बजार सम्भावना राम्रो देखिएको छ ।

यसको लोकप्रियता, आफ्नो खेतीको सफलता र बजार मागका कारण अझै यसको विस्तार गर्ने योजनामा रहेको उनले सुनाए । पोखरामा सफल परीक्षण भइसकेका कारण पनि अन्य किसानहरुलाई घरको छतमा मात्र होइन व्यावसायिक रुपमै खेती गर्न उनको सुझाव छ ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…

hero news full width