पाेखरामा वृत्ति परामर्श तथा रोजगार मेला सुरु

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७९
rojgar mela

मेला उद्घाटन गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङ । तस्बिर: विजय नेपाल ।

पोखरा, ६ साउन । पोखरामा शुक्रबारदेखि वृत्ति परामर्श तथा रोजगार मेला सुरु भएको छ । नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा ३ दिनसम्म चल्ने मेलामा विभिन्न क्षेत्रका ३७ स्टल छन् । गण्डकी प्रदेश शिक्षा, संस्कति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको आयोजना, नेपाल सरकार र स्वीस सरकारको सहयोग एवं नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना प्राविधिक सहयोगमा आयोजित मेलाबाट १ हजार जनाभन्दा बढीलाई रोजगारी दिने अपेक्षा छ ।
परम्परागत सीप भएका तर प्रमाणिकरण नभएकालाई प्रमाणिकरण, रोजगारदाताले आफ्नो आवश्यकताबारे जानकारी गराउने, बेरोजगारले दक्षता र सीप सिक्ने, सीप सिक्न आउनेलाई तालिम प्रदान गर्ने लगायत मेलाको उद्देश्य रहेको शिक्षा विकास निर्देशक अम्बिका आचार्यले जानकारी दिए ।

मेला उद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यसप्रकारका मेलाले रोजगारी अवसर सिर्जना गर्नुका साथै सीप प्रमाणिकरण गर्न महत्वपूर्णय भूमिका सिर्जना गर्न मद्दत पुग्ने अपेक्षा व्यक्त गरे । कुन विषयको तालिम लिंदा आफूलाई उपयुक्त हुन्छ भन्नेबारे मेलाले सघाउ पु¥याउने भन्दै उनले मेलाको सफलताको कामना गरे ।

प्रदेशका आन्तरिक मामिला मन्त्री दोबाटे बिकले पेसा व्यवसायमा सुरक्षाको प्रत्याभूति दिलाउन प्रदेश सरकार दत्तचित्त रहेको बताए । उनले गण्डकी सरकारको नीति तथा कार्यक्रमअन्तर्गत सरकारले प्रदेशमा कसरी रोजगारीका सिर्जना गर्न सकिन्छ भन्नेमा लागिपरेको बताए ।

मेलाबाट १ हजार बढीलाई रोजगारी दिइने

कानुन संचार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापाले उद्यमशीलताको विकास गर्दै रोजगारीको अवसर सिर्जना गर्न मेला सहयोगसिद्ध हुने अपेक्षा गरे । उनले मजदूरको सीप एकातिर रहेको अवस्थामा दक्ष जनशक्तिको अभाव सधैं खड्किने बताए ।

गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले जनताले आफ्नो जीवनस्तर विकास नभए मौलिक हक कार्यान्वयनको लागि सडक आन्दोलनमा उत्रिन सक्ने बताए । उनले ७ सय ६१ वटै सरकार जनताको हितमा काम गर्नुपर्ने बताए ।

प्रदेशसभा उपसभामुख सिर्जना शर्माले वैदेशिक रोजगारीमा जाने युवा जनशक्ति रोक्दै उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने उल्लेख गरिन् ।

पोखरा महानगरका मेयर धनराज आचार्यले महानगरले शैक्षिक बेरोजगार कति छन् भन्नेबारेमा डाटा संकलन गरिरहेको जानकारी दिए । उनले पोखरामा ८।७५ प्रतिशत गरिबीको रेखामुखी रहेको तथ्यांक दिंदै गरिबी र बेरोजगारलाई सघाउ पुग्ने गरी रोजगारी कसरी सिर्जना गर्न सकिन्छ भन्नेबारे महानगर लागिपरेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्ष सञ्जीवबहादुर कोइराला, नेपाल घरेलु उद्योग महासंघका रोहिणी लौडारी, नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाकी टिम लिडर प्रतिभा जोशी लगायतले वृत्ति परामर्श तथा रोजगार मेलाको सफलताको कामना गरे ।

आयोजक शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयका मन्त्री मेखलाल श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र पूर्व ज्ञानको मान्यतामा आधारित सिकाइबारे जानकारी प्रदान गर्न प्रदेशले पहिलो पल्ट यो मेला आयोजना गरेको बताए । उनले मेलाले सीप भएर पनि जागिर नपाएर विदेशिन बाध्य नागरिकलाई स्वदेशमै राख्ने वातावरण मिलाउने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width