१ हजार बढीलाई रोजगारी दिन पोखरामा आजदेखि रोजगार मेला

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७९
gandaki ministry office

फाइल तस्बिर

पोखरा, ६ साउन  । एक हजार जनाभन्दा बढीलाई रोजगारी दिने अपेक्षा सहित गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा शुक्रबारदेखि वृत्ति परामर्श तथा रोजगार मेला सुरु हुँदैछ ।
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा ३ दिनसम्म चल्ने मेलाको दिउँसो १ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ ।
शिक्षा, संस्कति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल सरकार र स्वीस सरकारको सहयोग एवं नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना प्राविधिक सहयोगमा मेला हुन लागेको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र पूर्व ज्ञानको मान्यतामा आधारित सिकाइबारे जानकारी प्रदान गर्न मेलाको आयोजना गर्न लागेको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए । उनले मेलाले सीप भएर पनि जागिर नपाएर विदेशिन बाध्य नागरिकलाई स्वदेशमै राख्ने बताए ।

मेलाको तयारी स्वरुप मन्त्रालयले यसअघि विभिन्न निकाय, स्थानीय तह र रोजगारदातासँग अन्तक्र्रिया समेत गरेको थियो । गण्डकी प्रदेश सरकारले नागरिकलाई स्वदेशमै रोजगारी दिने नीतिअनुरुप सो मेला गर्न लागेको जनाएको छ । प्रदेशभरका उद्योग, कलकारखाना र अन्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्नुका साथै कार्य क्षेत्रमा परिचालन गर्ने गरी मेला आयोजना गरिने छ ।

मेलामा सीपमूलक तालिमको अवसरहरुको जानकारी, वृत्ति परामर्शसम्बन्धी सेवा प्रदान, सीपको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरका बारेमा जानकारी तथा रोजगारीका लागि सहजीकरण गर्ने, नेपाल व्यावसायिक योग्यता प्रणालीबारे जानकारी दिने, तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणालीसम्बन्धी जानकारी दिने उद्देश्य राखिएको छ ।

१ हजारभन्दा बढी बेरोजगार युवालाई रोजगार दिने अपेक्षा गरिएको मेलाको १० हजार जनाले अवलोकन गर्ने मन्त्रालयका उपसचिव तोयनाथ लम्सालले बताए । व्यावसायिक तालिम लिन चाहने विद्यार्थीका लागि पर्याप्त जानकारी दिनेसमेत प्रदेशको योजना रहेको उनले सुनाए ।

मन्त्रालयले तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणाली मोबाइल एप निर्माण गरेको छ । सो एपमा सीपमूलक तालिम लिन चाहने, रोजगारको खोजीमा रहेका व्यक्तिहरु, रोजगारदाता र सीप परीक्षण गर्न चाहनेहरुबारे जानकारी राखिनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width