बागलुङ कालिका मन्दिरको वार्षिक आम्दानी साढे २ करोड   

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७९
baglung-kalika-mandir (1)

फाइल तस्बिर

बलेवा ।  बागलुङ कालिका भगवती गुठीले एक वर्षमा रु दुई करोड ५७ लाख आम्दानी गरेको छ । गत माघ महिनादेखि हालसम्म उक्त आम्दानी भएको हो ।

माघसम्म तत्कालीन अध्यक्ष राजु खड्का नेतृत्वको र फागुनपछि कुमार खड्का अध्यक्ष रहेको समितिले काम गरेको थियो । अघिल्लो समितिको रकम अपनत्व लिएको गुठीले असार मसान्तसम्म उक्त अङ्कको आयव्याय भएको सार्वजनिक गरेको हो । खर्चतर्फ तलबका लागि रु १८ लाख ९१ हजार र बिजुली महसुल रु एक लाख १४ हजार खर्च भएको उल्लेख छ ।

हाल निर्माण सम्पन्न भएको सत्तलका लागि रु ६२ लाख ६५ हजार र पूजा खर्चतर्फ रु दुई लाख ९३ हजार देखाइएको छ । कर्मचारीको पोशाकका लागि रु तीन लाख ५९ हजार ६५०, मेसिनरी तथा उपकरण खरिद शीर्षकमा रु १२ लाख ४६ हजार खर्च गरेको देखिएको हो । खाद्यान्न तथा आवासतर्फ रु दुई लाख ४१ हजार, दैनिक भ्रमण भत्ता शीर्षकमा रु एक लाख ९६ हजार, सामान खरिदमा रु तीन लाख चार हजार र चैत्रास्टमी मेलाका लागि रु १८ लाख खर्च भएको हो ।

आम्दानीतर्फ भक्तजनले चढाएको चामलबाट रु दुई लाख ७९ हजार, बोकाको टाउको बिक्री रु सात लाख ३४ हजार, कुखुराको रु ८० हजार, राँगाको रु १७ हजार आम्दानी भएको हो । भाडामा दिएको सटरबाट रु १७ लाख ४७ हजार, आर्थिक सहयोगमार्फत रु १० लाख ७६ हजार कमाइ भएको देखिएको हो ।

आम्दानी र खर्चमध्ये बैंकमा रु ७८ लाख ९४ हजार र साना नगदी कोषमा रु आठ हजार ९०० रहेको देखिएको छ । उहाँले आजदेखि नै कालिका भगवती मन्दिरको गेट रातको समयमा बन्द गर्ने निर्णय गरेको सुनाउनुभयो । “अनधिकृत मानिस प्रवेश गर्ने, सुरक्षामा चुनौती” भएको र मन्दिरमा अन्य घटना पनि हुनसक्ने भन्दै गेट बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै हाल सवारीसाधन पार्किङ गरिरहेको स्थान मानव सेवा आश्रमको जिम्मामा दिने निर्णय गरेको छ । उक्त स्थानमा उठ्ने सवारी शुल्क आश्रमले व्यवस्थापन गरेर आम्दानीको रूपमा लैजान पाउने भएको हो । यहाँ शुल्क उठाउँदा बढी लिएको वा अन्य समस्या आएको भन्दै उजुरी आएपछि सेवामूलक काममा खर्चर्ने गरी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

गुठीले मन्दिर परिसरभित्र रहेका पुराना जीर्ण संरचनालाई पुरातात्विक हिसाबले निर्माण गर्ने, मन्दिर बाहिर सुविधासम्पन्न विद्याश्रम र धर्मशाला बनाउने, ऐतिहासिक धार्मिक सङ्ग्राहलय बनाउने योजना अगाडि सारेको छ । मन्दिर परिसरमा अखण्ड धुनी निर्माण गर्ने, काठबाट निर्मित हवन कुण्ड बनाउने, भक्तजनलाई शुद्ध खानेपानीको व्यवस्थापन गर्ने, महिलामैत्री, फरक क्षमता भएका व्यक्तिको सहज हुने शौचालय बनाउने रणनीतिक योजना बनाइएको छ ।

नियमित भजनकीर्तनलाई निरन्तरता दिने, वेबसाइट निर्माण, भक्तजनको रेकर्ड सुरक्षित गर्न सकिने मेसिन जडान गर्ने, जङ्गली जनावरको संरक्षण गर्ने, गरिब जेहेन्दार, अनाथ र असहाय बालबालिकाको शिक्षा आर्जनमा अभिभावकत्व ग्रहण गर्ने उद्देश्यले शैक्षिक कोष निर्माण गर्ने लक्ष्यसमेत राखिएको छ । गुठीले सामाजिक एवं मानवीय हितका लागि कालिका भगवतीको नामअङ्कित गरेर एम्बुलेन्स, शववाहन तथा दमकलको व्यवस्थापन गर्ने लक्ष्यसमेत रणनीतिक योजनामा समावेश छ । यसअघिको समितिले बनाएको गन्तव्य कालिका अभियानलाई निरन्तरता दिएर बढीभन्दा बढी भक्तजन भित्र्याउनेसमेत लक्ष्य राखिएको छ । रासस

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width