पाेखरामा पर्यटक बसाइँ कसरी लम्ब्याउने ?

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७९
Hotel Sangh

पोखरा । गण्डकी प्रदेशको प्रमुख आर्थिक श्रोतको आधारमध्ये पर्यटन एक हो । प्रदेश राजधानी पोखरा आफैंमा नेपालकै प्रमुख पर्यटकीय गन्तव्य पनि भएकाले पर्यटनबाट प्रचूरमात्रामा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । गएका २ वर्ष कोरोना महामारीले थला परेको यहाँको पर्यटन बिस्तारै चलायमान हुँदै गरेको अवस्थामा यहाँ घुम्ने पर्यटकको समेत बसाइँ दर लम्बाउन जरुरी छ । त्यसो त पोखरा नेपालमै पर्यटनको राजधानी घोषित हुने तरखरमा छ । यस विषयमा पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले पहिलो निर्णयमै पोखरा पर्यटन राजधानी विषयमा प्राथमिकता दिएका थिए ।

यसैबीच, यहाँका नयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास गर्दै पोखरा र वरपरका पर्यटकीय क्षेत्रको भ्रमणमा आउने पर्यटकको बसाइँ अवधि लम्ब्याउन सहकार्य गरेर अगाडि बढ्ने विषयमा महानगर र होटल संघ पोखरा नेपाल एकमत देखिएका छन् ।

मेयर आचार्यको स्वागातार्थ संघले आयोजना गरेको कार्यक्रममा होटल संघका पदाधिकारी तथा सल्लाहकारले पर्यटन क्षेत्रको अवस्था र सुधारका लागि सुझाव राखेका थिए ।
सो अवसरमा मेयर आचार्यले यसअघिका बजेटमा पर्यटन क्षेत्रका लागि एक–दुई करोड रुपैयाँ मात्र बजेट विनियोजन हुँदै आएकोमा चालू बजेटमा ५८ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । विशेषगरी सडकमार्गको विकास र अन्य कारणले समेत पोखरा र वरपरका कतिपय पर्यटकीय गन्तव्य मासिंदै गएको स्मरण गराउँदै उनले नयाँ गन्तव्य खोजी गरिनुपर्ने र पोखरा भ्रमणमा आउने पर्यटकको बसाइँ २ दिनबाट बढाएर ५ दिनको बनाउने वातावरण तयार गरिनुपर्ने बताए । धार्मिक तथा खेल पर्यटनको विकास र विदेशबाट सन्तहरु बोलाएर सम्मेलन गर्ने विषयमा समेत महानगर र व्यवसायी मिलेर अगाडि बढ्न सकिने उनको भनाइ थियो ।

पोखरा महानगरबाट पर्यटन क्षेत्रलाई चालू बजेटमा ५८ करोड रुपैयाँँ विनियोजन

उनले लेकसाइड लगायत सिंगो पोखराको सुरक्षा, यहाँको पार्किङ व्यवस्थापन, ट्याक्सीलाई मिटरमा चलाउने विषय, प्रदूषण नियन्त्रण र फोहोर व्यवस्थापनको विषयमा समेत महानगर सचेत रहेको सो अवसरमा बताए । पोखरा महानगरभित्र सानो रिङरोड छुट्याएर त्यसको ब्युटिफिकेसन गर्ने तथा ट्राफिक लाइट र सीसी क्यामेराको व्यवस्थाका लागि समेत महानगरले काम अगाडि बढाउने उनले बताए ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा आउने पर्यटकमध्ये ४० प्रतिशत हिस्सा आन्तरिक पर्यटकको रहेको जानकारी दिए । कोभिडका कारण पर्यटन क्षेत्रका हजारौं मजदूर र व्यवसायी विस्थापित हुन पुगेको उनको भनाइ थियो । पछिल्लो क्रममा पोखरा आउने पर्यटक संख्या पुनः घट्न पुगे पनि आगामी सेप्टेम्बरदेखि त्यस्तो संख्यामा बढोत्तरी आउनेमा आफूहरु आशावादी भएको बताए । पोखरामा नयाँ गन्तव्य, पर्यटक संख्या र उनीहरुको बसाइँ अवधि बढाउन संघ महानगरसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको उनको भनाइ थियो ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं संघका सल्लाहकार विश्वशंकर पालिखेले पोखरामा बन्दै गरेको नयाँ विमानस्थलबाट कुन–कुन विमान कम्पनीले सेवा दिने हो भन्ने विषयमा पूर्व तयारीका लागि वायुसेवा संचालक संघ नेपालसँग छलफल र सहकार्य गरिनुपर्ने सुझाव राखे । विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटरबाट विस्तार गरी ३ हजार मिटर बनाइनुपर्ने सुझाव पनि उनले दिए । क्यासिनोको रोयल्टी घटाएर पोखरामा क्यासिनो सुरु गर्न सके पर्यटक बढ्ने सुझाव उनको थियो ।

होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरि शर्मा गैह्रेले सबैभन्दा पहिला महानगरका कर्मचारीको व्यवहार सुधार गर्दै घूसखोरी र भ्रष्टाचार अन्त्य गर्ने वातावरण तयार गर्न महानगर प्रमुखलाई सुझाव दिए । महानगरमा पर्यटनका लागि अलग शाखाको व्यवस्था र पोखरा दृष्यावलोकनका लागि एकद्वार प्रणाली व्यवस्थाका लागि समेत उनले सुझाव राखे ।

कार्यक्रममा हानका सदस्य भरतराज पराजुलीले नयाँ विमानस्थलबाट पोखराको मुख्य सहरी क्षेत्रसम्म फराकिला र व्यवस्थित सडक निर्माण गरिनुपर्ने बताए ।
यस्तै, हानका केन्द्रीय सदस्य विप्लव पौडेल, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य पर्यटनविद् वासु त्रिपाठी, संघका सल्लाहकारद्वय बच्चुराम तिवारी, गोविन्दराज पहारी, संघका द्वितीय उपाध्यक्ष गणेशराज पहारी, संघका महासचिव राजेन्द्र ढकाल, संघकी सदस्य पम्फा पहारी, सदस्य सरोज अधिकारी लगायतले पोखराको पर्यटन क्षेत्रको लगानी सुरक्षित हुने वातावरण तयार गरिनुपर्ने, फोहोर व्यवस्थापनमा जोड दिनुपर्ने, व्यवसायीको लगानी सुरक्षित गर्ने वातावरण कायम गर्नुपर्नेलगायत विषयमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width