१५ कृषि समूहको सम्मान

आदर्श समाज सम्वाददाता
असार ३०, २०७९
krishi sammans

पोखरा । पोखरा महानगरले १५ वटा कृषि समूहलाई सम्मान गरेको छ । महानगरको कृषि महाशाखाले मंगलबार पोखरा २१ मा आयोजना गरेको सुन्तला बगैंचा व्यवस्थापन प्रोत्साहन सहयोग, पावर स्प्रे, किसान परिचयपत्र वितरण तथा सक्रिय कृषक संस्था सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा महानगरका मेयर धनराज आचार्यले प्रमाणपत्र र प्रोत्साहन स्वरुप नगद प्रदान गरेर कृषक समूहलाई सम्मान गरेका हुन् । उनले कृषक र कृषि पेसा सम्मानित नहुँदासम्म मुलुक समृद्ध बन्न नसक्ने बताए । उनले उत्पादनमा प्रोत्साहन गर्नुपर्ने र उत्पादित कृषि उपजले उचित बजार पाउनुपर्ने धारणा राखे । महानगरले २३ वटा कृषि उपजको समर्थन मूल्य तोकेको जानकारी दिंदै समर्थन तोकिएका कृषि उपजको बजार ज्ञारेण्टी समेत महानगरको तर्फबाट भएको उल्लेख गरे ।

पोखरामा उत्पादित कृषि उपजले यहाँको आवश्यकता थेग्ने गरी योजना बनाएर काम गरिने प्रतिबद्धता जनाएका छन् । पोखराको कृषि उपज बजारमा देशमा उत्पादित मात्र नभई करोडौं मूल्यको तरकारी आउने गरेको टिप्पणी गर्दै ५ वर्षमा पोखरामै र नभए यस वरपरको तरकारीले त्यसलाई विस्थापित गर्नेगरि कृषि क्षेत्रमा सुधार ल्याउन जरुरी रहेका उनले औंल्याए । खासगरि तरकारी, यहाँ उत्पादन हुने फलफूल, मासु र अण्डामा ५ वर्षभित्र आत्मनिर्भर बन्ने गरी काम गरिने उनको भनाइ छ । कृषि र पशुपालनलाई सँगसँगै जोडेर लैजान सके उत्पादन र उत्पादकत्व बढ्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले लक्षित किसानलाई महानगरले प्रोत्साहित गर्दै आएको जानकारी दिए । उनले बाँदरको आतंक र रोगको प्रकोपले किसान समस्यामा रहेको भन्दै यसको निधानका लागि उपाए खोज्न कृषि महाशाखा र सिंगो महानगरपालिका लागि परेको बताए ।

कृषक र कृषि पेसा सम्मानित नहुँदासम्म मुलुक समृद्ध हुँदैन: मेयर आचार्य

कृषक टेकमाया पौडेलले आफूले ७ हजार रुपैयाँ ऋण लिएर थालेको सुन्तला खेती बिस्तार गरेर अहिले ७ करोडमा परिणत गरेको बताइन् । कृषिमा दत्तचित्त भएर लागेमा आम्दानी लिन सकिन्छ भन्ने गतिलो उदाहरणरुपमा आफैलाई लिन उनको आग्रह थियो ।

कृषि महाशाखा प्रमुख मनहर कडरियाले वडा २१, २२ र ३३ राम्रो सुन्तला हुने क्षेत्र रहेको जानकारी दिए । उनले महानगरले सुन्तलाका उत्पादन दिइरहेका २० हजार बोटको प्रतिबोट किसानलाई १ सय रुपैयाँका दरले प्रोत्साहनस्वरुप प्रदान गरिएको जानकारी दिए । यो कार्यक्रममा अझै उत्पादन दिइरहेको १० हजार बोट समावेश हुन नै बाँकी रहेको उनले बताए ।

उक्त अवसरमा २५० रोपनीमा सामुहिक गहुँखेती गर्ने पोखरा १८ को भावना समुदायिक कृषि सहकारी संस्था, १० रोपनी क्षेत्रफलमा आलुको बीउ उत्पादन गर्ने पोखरा २३ को ठूलाखेत कृषक समूह, सुन्तला खेती बगैंचा व्यवस्थापनमा अभियानमा उत्कृष्ट पोखरा २१को फेदीपाटन फलफूल उत्पादन कृषि समूह, सदस्य तरकारी उत्पादन गरि दैनिक दैनिक बिक्री गर्ने, किसान बजारमा नियमित ल्याउने पोखरा ३३ को महाकाली कृषिक समूह, आलु तथा धानको बीउ उत्पादन र चैते धान सुरुआत गर्ने पोखरा २६ को ढले पिपल कृषक समूह सम्मानित भएका छन् ।

यसैगरी, प्रारम्भिक कृषि उत्पादनमा विगत ३ वर्षदेखि सक्रिय पोखरा २८ को ओख्ले प्रांगारिक कृषि तथा पशु कृषक समूह, ५ वर्षदेखि आलु बीउ उत्पादन गर्दै आएको पोखरा १६को महेन्द्रगुफा कृषक समूह, कृषि उत्पादन सामग्री वितरण गर्ने पोखरा २५ को देवीस्थान कृषि सहकारी संस्था, स्थानीय बीउ संकलन तथा संरक्षण, मालेपाटन बोडी बीउ उत्पादन र प्रांगारिक खेती गर्ने पोखरा १३ को नमुना प्रांगारिक कृषि सहकारी संस्था, फापर खेती, पोखरा ३१ को कोट देउराली बहुउद्देस्यीय सहकारी संस्था, उखु खोती र खुदो उत्पादन गर्ने पोखरा ३२ को मालेपाटन कृषि सहकारी, नियमित किसान बजार सञ्चालन गर्ने पोखरा १७ को किसान बजार सञ्चालक समिति, नियमित बैठक सञ्चालन, अनुगमन र कृषि कार्यक्रम सञ्चालन तथा समन्वय गर्ने पोखरा २२ को वडास्तरीय कृषि सञ्जाल, पोखरा १९ को युवा लक्षित कृषि तथा दुग्ध उत्पादक कृषक समूह, तरकारी कृषि उत्पषदन तथा संकलन केन्द्र सञ्चालन गर्ने पोखरा २० को सफल महिला कृषक समूहलाई नगदसहित सम्मान गरियो ।

Related News

सम्बन्धित समाचार

hero news full width